धनगढी : नेपालमा थप तीन सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या दुई हजार ६ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै तीन सय ३४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अहिलेसम्म दुई सय ९० जना कोरोना संक्रमित बिरामी सञ्चो भएर घर फर्किएका छन्।
हालसम्म ८४ हजार १३४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ। त्यसैगरी आरडीटी विधिबाट १ लाख २५ हजार ५६४ जनाको परीक्षण भएको छ।
हाल देशभर १ लाख ६१ हजार २६२ जना क्वारेन्टिनमा छन्। त्यसैगरी विभिन्न अस्पतालका आइसोलेसनमा २ हजार ३३५ जना कोरोना संक्रमित उपचाररत छन्।
नेपालमा थप एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। पाल्पाका ४५ बर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो। पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो।
मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। आज कोरोना पुष्टि भएको हो। उनी ५ दिन अगाडि भारतबाट आएका थिए। यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ।
दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...