२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

स्वास्थ्यकर्मी माथी आक्रमण गर्ने दोषी उम्किन पाउँदैनन् : मेयर जोशी

कोरोना सार्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना भएको डोटीको शिखर नगरपालिकाका मेयर सीताराम जोशीले घटना गम्भीर भएको भन्दै दोषीहरू उम्किन नपाउने बताएका छन् । उनले दोषीलाई कारबाही गराउन आफूले प्रहरी प्रशासनलाई पूरा सहयोग गर्ने बताए।

उनले आफूले घटनाबारे सबै विवरण लिने र उपचारलगायतका कानूनी कारबाहीका लागि पनि समन्वय गरिरहेको जानकारी दिए। स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा अधिकांश दोषी उम्किने गरेको सन्दर्भमा मेयर जोशीकै यस्तो भनाइ आएको हो।

‘लाटामाडौंमा रहेको स्वास्थ्य चौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्य चौकी जाँदै गरेको अवस्थामा उनीमाथि ओभरट्याक गरेर आक्रमण गरेको सुन्नमा आएको छ’, मेयर जोशीले भने, ‘ज्यानै लिनेगरी हमला हुनु दुखद् हो। घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ।’

आफूले धनगढीबाट एम्बुलेन्सको व्यवस्थाका लागि पहल गरेर सोमबार बेलुका घाइते अहेबलाई काठमाडौं पठाइएको मेयर जोशीले बताए।

‘भारतबाट १८ सय जना नगरपालिकामा आएका छन्। उनीहरूको व्यवस्थापन नै हाम्रो प्रमुख चुनौती भएको समयमा यस्तो घटना हुनु दुखद् हो’, उनले भने, ‘म क्वारेन्टाइनको व्यवस्थापनमा व्यस्त थिएँ। त्यसैले पीडितलाई पूरै सहयोग गर्न पाइनँ। तर, आफूले सकेको सहयोग गरेँ।’

नगरपालिकामा हिजो मात्रै एक जनामा कोरोना पुष्टि भएकाले व्यवस्थापनमै रहेको समयमा कोरोनासँगको लडाइँका योद्धामाथि नै आक्रमण हुनु दुखद् भएको मेयर जोशीको भनाइ छ।

कोरोना फैलिने भन्दै डोटीको शिखर नगरपालिका-९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँरमाथि आइतबार राति निर्घात कुटपिट भयो।

शिखर नगरपालिका-७ लाटामाडौंमा रहेको स्वास्थ्य चौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्य चौकी जाँदै गरेको अवस्थामा उनीमाथि तीन जनाको समूहले आक्रमण गर्यो। बेलुका ७ बजेतिर भएको आक्रमणमा परि अहेब कुँवरको टाउकामा गम्भीर चोट लाग्यो।

गम्भीर चोट लागेका कुँवरलाई परिवारले तत्काल डडेलधुरा लग्यो। त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरियो। त्यहाँ पनि उपचार सम्भव नहुने देखिएपछि उनलाई सोमबार राति एम्बुलेन्समा काठमाडौं ल्याइयो। यतिबेला उनको राजधानीको ट्रामा सेन्टरमा उपचार भइरहेको छ।

कोरोना फैलिने भन्दै मान्छेको जीवन रक्षामा जुटेका स्वास्थ्यकर्मीमाथी नै आक्रमण हुनु दुखद् रहेको भन्दै यतिबेला चौतर्फी विरोध भइरहेको छ।

प्रहरीले उनीमाथि आक्रमण गर्ने शिखर नगरपालिका–७ बोगटाका नवीन खत्री, रोशन खत्री र तेज लोहारलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार उनीहरू प्रहरी हिरासतमा छन्।

मदिरा सेवन गरेका स्थानीय तीन जनाले गाली गर्दै एक्कासि ढुङ्गामुढा प्रहार गरेको घाइतेका आफन्तले जानकारी दिए।

यता ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालका अनुसार उनलाई आज बिहान अस्पतालमा पुर्याइएको थियो। अहिले उनको उपचार भइरहेको छ।

फ्रन्टल बोन डिप्रेस्ड फ्याक्चर भएका उनको सबै रिपोर्ट आइसकेपछि भोलि अप्रेसन गर्ने वा नगर्ने बारे तय हुने छ। उनका अनुसार टाउकोको अगाडिपट्टिको हड्डी फुटेको छ। healthpostnepal.com

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ २१

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP