धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
सोमबार मुख्यमन्त्री निवासमा भएको छलफलपछि विश्वासको मत लिने निर्णय भएको हो। यस विषयमा आवश्यक निर्णय गर्न नेकपा संसदीय दलको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तयारी गरिएको मुख्यमन्त्रीसँग छलफलमा रहेका एक प्रदेशसभा सदस्यले जानकारी दिए।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। हाल सत्ता गठबन्धनमा रहेको नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्।
सरकार विस्तारका क्रममा नेकपाबाट थप तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ। विश्वासको मतपछि मन्त्रालयको जिम्मेवारी बाँडफाँटसँगै बाँकी मन्त्री तथा राज्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइनेछ।
विश्वासको मत तथा सरकार विस्तारका विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच संयुक्त छलफल भएको थियो।
यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि विश्वासको मतका विषयमा छलफल भएको थियो।
सुदूरपश्चिम प्रदेश करिब एक महिनादेखि आंशिक बजेट शून्यताको अवस्थामा रहेकाले सरकार विस्तारपछि बजेट ल्याउने प्रक्रिया पनि तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने र त्यसपछि प्रदेशको बजेट तथा अन्य महत्वपूर्ण विषयमा काम अघि बढाउने तयारी गरिएको हो।
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...