स्थानीय तह निर्वाचनका लागि रास्वपाले सुरु गर्यो उम्मेदवार छनोट प्रक्रियाकाठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। पार्टी सभापति रवि लामिछानेले भदौ १ गते घण्टीघरमा ‘क्यान्डिडेट क्लब’ घोषणा गरेसँगै स्थानीय तहका उम्मेदवार छनोटको प्रक्रिया अघि बढेको हो।
रास्वपाका अनुसार देशमा तत्काल निर्वाचनको माहोल नरहे पनि आगामी २०८४ वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रारम्भिक तयारी थालिएको हो। पार्टीले ७५३ स्थानीय तहका ३५ हजार २२१ पदका लागि उम्मेदवारका आकांक्षीबाट आवेदन लिने जनाएको छ।
आगामी निर्वाचनमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका तथा ६ हजार ७४३ वडामा निर्वाचन हुने रास्वपाले जनाएको छ।
रास्वपा महामन्त्री विपीन आचार्यका अनुसार अब स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु भएको छ। पार्टीले यसका लागि वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक उम्मेदवार छनोट रुपरेखा तयार पारेको जनाएको छ।
रास्वपाले दुई तहमा क्यान्डिडेट क्लब गठन गर्ने भएको छ। पालिका तहको क्लबमा नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका आकांक्षीले आवेदन दिन सक्नेछन्।
त्यस्तै वडा तहको क्लबमा वडाध्यक्ष तथा वडा सदस्य पदका आकांक्षीले आवेदन दिन पाउनेछन्।
रास्वपाका तर्फबाट उम्मेदवार बन्न चाहने व्यक्ति नेपाली नागरिक, कम्तीमा २१ वर्ष उमेर पूरा गरेको तथा उम्मेदवारी दिन चाहेको पालिका वा वडाको मतदाता हुनुपर्नेछ।
त्यसका अतिरिक्त पार्टीको सिद्धान्तप्रति प्रतिबद्धता, अन्य दलको सदस्यता त्याग, छनोट प्रक्रियामा पूर्ण सहभागिताको सहमति, अद्यावधिक सम्पत्ति विवरण र प्रहरी रिपोर्टलगायतका कागजात आवश्यक पर्ने पार्टीले जनाएको छ।
शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण, वैवाहिक तथा पारिवारिक अवस्थाको कानुनी स्पष्टता, दुर्व्यवहार तथा डिजिटल अपराधमा संलग्न नभएको प्रमाणित गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
मिटरब्याज, सट्टेबाजी, हप्ताअसुली, ढुकुटी, हुन्डी वा सहकारीको बचत अपचलनजस्ता अवैध आर्थिक कारोबारमा संलग्न नभएको तथा उम्मेदवारी दिन चाहेको स्थानीय तहमा आफ्ना वा परिवारका व्यवसायमार्फत स्वार्थ बाझिने अवस्था नरहेको विवरणसमेत खुलाउनुपर्नेछ।
रास्वपाले उम्मेदवार छनोटका लागि चारवटा आधार तय गरेको छ।
१. लिडरसिप एकेडेमी – २५ प्रतिशत
आकांक्षीलाई राजनीतिक संस्कार, नीति, संविधान, स्थानीय शासन, कानुनी साक्षरता, डिजिटल प्रशासन, स्वास्थ्य, शिक्षा, स्थानीय आर्थिक विकास, वित्तीय साक्षरता तथा खुला सरकारलगायत विषयमा प्रशिक्षण र मूल्यांकन गरिनेछ।
२. पोलिटिकल प्रोक्सिमिटी – २५ प्रतिशत
आकांक्षीको राजनीतिक पृष्ठभूमि, जनसम्बन्ध, लोकप्रियता, चरित्र, सार्वजनिक आचार, व्यावसायिक तथा सामाजिक अनुभव र निर्वाचन जित्ने सम्भावनाको मूल्यांकन गरिनेछ।
३. समावेशिता – निर्धारित मूल्यांकन
महिला, दलित, युवा, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्र, श्रमिक, किसान, उद्यमी, पेशाकर्मी तथा विविध सामाजिक र भौगोलिक समूहको प्रतिनिधित्वलाई समावेशिताको आधारमा मूल्यांकन गरिने पार्टीले जनाएको छ।
४. प्रारम्भिक निर्वाचन – ४० प्रतिशत
उम्मेदवार छनोटको सबैभन्दा बढी ४० प्रतिशत अंक प्रारम्भिक निर्वाचनलाई दिइनेछ। पार्टीका सम्बन्धित सदस्य तथा विभिन्न तहका पदाधिकारी र सदस्यले मतदानमार्फत उम्मेदवार छनोट गर्नेछन्।
मतदान अनलाइन तथा वैकल्पिक विधिबाट गरिने र चारवटै चरणको प्राप्तांक जोडेर विस्तृत स्कोरबोर्डसहित अन्तिम नतिजा सार्वजनिक गरिने रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार पार्टी सदस्यता प्राप्त गरेको ४५ दिन पूरा भएपछि मात्रै उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन पाइनेछ। अन्य दलबाट रास्वपामा प्रवेश गरेकाको हकमा पार्टी सदस्यता लिएको ९० दिन पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
यद्यपि समाजमा प्रतिष्ठित, विज्ञ, सार्वजनिक रूपमा स्वच्छ छवि भएका वा पार्टीलाई आवश्यक विशेष क्षमता भएका व्यक्तिलाई ‘ल्याटर इन्ट्री’मार्फत उम्मेदवार प्रक्रियामा सहभागी गराउने व्यवस्था पनि गरिएको छ।
रास्वपाको छनोट रुपरेखाअनुसार यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएकाहरूले अहिले स्थानीय तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
त्यस्तै सरकारी कार्यालय वा संस्थामा कार्यरत कर्मचारी, निर्वाचनसम्बन्धी कसुरमा सजाय पाएको निश्चित अवधिभित्रका व्यक्ति तथा भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, अपहरणलगायत गम्भीर अपराधमा कानुनी रूपमा दोषी ठहरिएका व्यक्तिलाई समेत उम्मेदवार छनोट प्रक्रियाबाट बाहिर राखिएको छ।
कालोसूचीमा रहेका व्यक्ति तथा तोकिएको अवधिसम्म विभिन्न फौजदारी कसुरमा सजाय भुक्तान गरेका व्यक्तिले समेत सहभागी हुन नपाउने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
रास्वपाले स्थानीय सरकार नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले उम्मेदवार केवल निर्वाचन जित्ने व्यक्ति नभई सेवा प्रवाह सुधार्ने, सुशासन कायम गर्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र नागरिक सहभागिता बढाउने नेतृत्व हुनुपर्ने बताएको छ।
पार्टीका अनुसार संघीय तहमा प्राप्त जनमतलाई प्रदेश र स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्षम, इमानदार र जनउत्तरदायी स्थानीय नेतृत्व आवश्यक छ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक लेनदेन तथा चलखेललाई पूर्ण रूपमा प्रतिबन्ध गर्ने, आन्तरिक मतदानमा धाँधली भए कडा कारबाही गर्ने तथा गुटबन्दी, दुष्प्रचार र चरित्र हत्यालाई गम्भीर अनुशासनहीनता मान्ने जनाएको छ।
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...