२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन

धनगढी । बझाङको केदारस्युँ गाउँपालिका–७ सुँगरेमा भएको दुःखद जीप दुर्घटनापछि पीडित परिवार र घाइतेहरूको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले कम्तीमा रु. २ लाख ५० हजार का दरले आर्थिक सहयोग उपलब्ध गराउने भएका छन्।

आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको सर्वदलीय बैठकले राहत, उपचार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णय गरेको हो।

बैठकले जिल्लास्थित राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, नेपाल पत्रकार महासंघ तथा राष्ट्रसेवक कर्मचारीलाई पनि स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न आग्रह गरेको छ। संकलित सहयोगको समन्वय दुर्गाथली गाउँपालिकाले गर्ने निर्णय गरिएको छ।

समितिले गम्भीर घाइतेहरूको उपचारका लागि आवश्यक थप आर्थिक सहयोग उपलब्ध गराइदिन गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग अनुरोध गर्ने निर्णय समेत गरेको छ।

समितिका अनुसार दुर्घटनामा गम्भीर घाइतेमध्ये दुई जनालाई काठमाडौंपाँच जनालाई नेपालगञ्ज हेलिकोप्टरमार्फत थप उपचारका लागि पठाउँदा ठूलो आर्थिक भार परेको छ। उपचार खर्च व्यवस्थापनका लागि विभिन्न निकायसँग सहयोग जुटाउने पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।

उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, मनसुन सक्रिय भएसँगै अविरल वर्षा, बाढी, नदी कटान तथा पहिरोका कारण सडकहरू थप जोखिमपूर्ण बन्दै गएको भन्दै समितिले जिल्लाका सबै स्थानीय तहलाई जोखिमयुक्त सडक र घुम्तीहरूको तत्काल मर्मत–सम्भार, सुधार तथा आवश्यक पूर्वतयारी गर्न निर्देशन दिने निर्णय गरेको छ।

Related News

  • २०८३ असार २९

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो...

TOP