मिडिया हाउसअगाडि अनधिकृत पार्किङ गर्ने १४ सवारीका चालकलाई ट्राफिकको जरिवाना
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न मिडिया हाउसअगाडि अनधिकृत रूपमा सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएको आरोपमा १४ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरी आवागमनमा बाधा पुर्याउने १४ वटा सवारी साधनका चालकलाई प्रचलित कानुनअनुसार जरिवाना गरिएको हो।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले सबै चालकलाई प्रति सवारी ५०० रुपैयाँ का दरले जरिवाना गरेर सवारी फिर्ता गरिएको जानकारी दिए।
उनका अनुसार सार्वजनिक सडकमा अनधिकृत रूपमा पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याउने सवारीविरुद्ध कारबाही गर्ने कार्य नियमित प्रक्रिया अन्तर्गत गरिएको हो।
आइतबार कान्तिपुर, हिमालय टेलिभिजन र अनलाइनखबरको मूल गेटअगाडि विभिन्न सवारी साधन शंकास्पद रूपमा पार्किङ गरिएको फेला परेको थियो। लामो समयसम्म चालक सम्पर्कमा नआएपछि ट्राफिक प्रहरीले ती सवारीलाई क्रेनमार्फत उठाएर बग्गीखानामा लगेको थियो।
यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाको निवासको गेटअगाडि पनि बेवारिसे अवस्थामा सवारी पार्किङ गरिएको भेटिएको थियो।
मिडिया हाउस र सार्वजनिक स्थानहरू लक्षित गर्दै छापामार शैलीमा सवारी पार्किङ गरिएको घटनापछि सामाजिक तथा राजनीतिक वृत्तमा व्यापक चर्चा र विरोध भएको थियो। त्यसपछि ट्राफिक प्रहरीले सम्बन्धित सवारीका चालकलाई कारबाही गरेको जनाएको छ।