२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

सुदूरपश्चिम सरकारले १३ अर्ब ५९ करोडभन्दा बढी बजेट खर्च गर्न सकेन

सुदूरपश्चिम सरकारले १३ अर्ब ५९ करोडभन्दा बढी बजेट खर्च गर्न सकेन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये १३ अर्ब ५९ करोड ३२ लाखभन्दा बढी रकम खर्च गर्न नसकेको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजार ४ सय रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको अन्त्यसम्म २० अर्ब ८३ करोड ९२ लाख ५१ हजार ९६१ रुपैयाँ अर्थात ६२.३३ प्रतिशत मात्र खर्च भएको छ।

पुँजीगततर्फ १९ अर्ब ८२ करोड ९६ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ११ अर्ब ५६ करोड ६८ लाख २६ हजार ५४६ रुपैयाँ अर्थात ५८.३३ प्रतिशत मात्रै खर्च भएको छ। यसरी पुँजीगततर्फ ८ अर्ब २६ करोड २८ लाख ५९ हजार ४५३ रुपैयाँ खर्च हुन सकेन।

यस्तै चालुतर्फ १३ अर्ब ५९ करोड २८ लाख ४७ हजार रुपैयाँ बजेट विनियोजन गरिएकामा ९ अर्ब २७ करोड २४ लाख २५ हजार ४१४ रुपैयाँ अर्थात ६८.२२ प्रतिशत खर्च भएको छ। चालुतर्फ ४ अर्ब ३२ करोड ४ लाख २१ हजार ९८५ रुपैयाँ खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख बासुदेव जोशीले जानकारी दिए।

गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले ३१ अर्ब ६६ करोड ८८ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा २२ अर्ब २० करोड २५ लाख ५५ हजार रुपैयाँ अर्थात ७०.११ प्रतिशत खर्च गरेको थियो। यस वर्षको खर्च प्रतिशत अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ।

आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रकुमार हमालले पेट्रोलियम पदार्थलगायत निर्माण सामग्रीको मूल्यवृद्धि, निर्वाचन र जनजीवन प्रभावित बनाएका विभिन्न आन्दोलनका कारण विकास खर्च प्रभावित भएको बताए।

उनका अनुसार सुरुमा खर्च ५५ प्रतिशत पनि नाघ्न नसक्ने अनुमान गरिए पनि आर्थिक वर्षको अन्तिम चरणमा खर्च बढेर ६२.३३ प्रतिशत पुगेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असारको तेस्रो सातापछिका पाँच दिनमै करिब एक अर्ब रुपैयाँ खर्च गरिएको थियो।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०८३ असार २९

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP