२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

कैलालीका नदीमा फेरि देखिन थाले डल्फिन, मनसुनसँगै बढ्यो चहलपहल

कैलालीका नदीमा फेरि देखिन थाले डल्फिन, मनसुनसँगै बढ्यो चहलपहल

कैलाली । मनसुन सक्रिय भएसँगै कैलालीका विभिन्न नदीमा दुर्लभ गंगेटिक डल्फिन (Platanista gangetica) देखिन थालेका छन्। नदीमा पानीको सतह बढेपछि बच्चा हुर्काउन आउने डल्फिनको चहलपहल सुरु भएको संरक्षणकर्मीहरूले बताएका छन्।

संरक्षणकर्मी भोजराज ढुंगानाका अनुसार यस वर्ष पहिलोपटक असार १६ गते एउटा बच्चासहित तीनवटा डल्फिन देखिएका थिए। वर्षा ढिलो सुरु भएकाले अघिल्ला वर्षको तुलनामा डल्फिन पनि केही ढिलो गरी आएको उनले बताए।

हाल टीकापुर नगरपालिका–७ र भजनी नगरपालिका–८ अन्तर्गत मोहना र पथरैया नदीको दोभान क्षेत्रमा डल्फिन नियमित रूपमा देखिन थालेका छन्। काँढा नदीमा पानीको सतह कम भएकाले त्यहाँ भने डल्फिन देखिएका छैनन्।

कर्णालीका सहायक नदी मोहना, पथरैया, काँढा र कान्द्रा क्षेत्रमा प्रत्येक वर्ष मनसुनका बेला डल्फिन आउने गर्छन्। नेपाल र भारतका नदी प्रणालीमा बसोबास गर्ने यी डल्फिनहरू करिब तीन महिनासम्म सहायक नदीमा बसोबास गरी मनसुन सकिएपछि पुनः कर्णाली नदीतर्फ फर्कने गरेको संरक्षणकर्मीहरूको भनाइ छ।

डल्फिनको मुख्य आहारा माछा, घोँगी र लेउ हुन्। नेपालसहित भारत, पाकिस्तान र बंगलादेशमा मात्र पाइने प्लाटानिस्टा ग्यांगेटिका प्रजातिको डल्फिन दुर्लभ तथा संरक्षित जलचर हो।

डल्फिन संरक्षणका लागि विश्व वन्यजन्तु कोष (WWF), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP), तराई भू–परिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुर, टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले विभिन्न संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

कर्णाली नदीमा पहिलोपटक २०५४ सालमा डल्फिन अभिलेख गरिएको थियो। स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे)ले पहिलोपटक डल्फिन देखेपछि यसको संरक्षण र प्रचारप्रसार अभियान सुरु भएको थियो।

मनसुनका बेला डल्फिन अवलोकन गर्न भारत, चीन, जापान, थाइल्यान्ड, अमेरिकालगायत विभिन्न देशबाट पर्यटक आउने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार डल्फिन नेपालमा संरक्षित वन्यजन्तुको सूचीमा रहेको छ।

Related News

  • २०८३ असार २९

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो...

TOP