बझाङ जिप दुर्घटनाको प्रारम्भिक निष्कर्ष : क्षमताभन्दा बढी यात्रु र हिलाम्मे सडक मुख्य कारण
धनगढी । बझाङको केदारस्युँ गाउँपालिका–७ मा शनिबार भएको जिप दुर्घटनाको प्रारम्भिक अनुसन्धानले क्षमताभन्दा बढी यात्रु बोकेको र वर्षाका कारण हिलाम्मे बनेको कच्ची सडक दुर्घटनाको मुख्य कारण रहेको देखाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुपप्र ०१–००१ च २६६४ नम्बरको जिप वर्षा भइरहेका बेला कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर गन्तव्यतर्फ जाँदै थियो। चालकसहित १६ जना सवार रहेको उक्त जिप बुंगलबाट दुर्गाथलीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार दुर्घटनास्थल उकालो र घुम्ती भएको क्षेत्र हो। वर्षाका कारण सडक हिलाम्मे बनेको र जिपमा क्षमताभन्दा बढी यात्रु भएकाले उकालो चढ्न नसकी चालकले जिप पछाडि सारेर घुम्ती कटाउने प्रयास गरेका थिए। सोही क्रममा जिप चिप्लिएर भीरालो जमिनतर्फ खस्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले उकालोमा जिपले भार थेग्न नसक्दा चिप्लिएर दुर्घटना भएको प्रारम्भिक निष्कर्ष रहेको जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने सात जना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये जिप चालक देवेन्द्र धामी पनि गम्भीर अवस्थामा रहेका छन्।
गम्भीर घाइते सात जनालाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो। बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार पाँच जनाको नेपालगञ्जमै उपचार भइरहेको छ भने चालक देवेन्द्र धामी र दुर्गाथली गाउँपालिकाका रामबहादुर महतलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा स्थानीय तहहरूले निर्माण गरेका कच्ची तथा ग्रामीण सडकमा वर्षेनी हुने सवारी दुर्घटनाले ठूलो मानवीय क्षति हुँदै आएको छ। स्थानीयवासीले यस्ता सडकको स्तरोन्नति र सुरक्षित यातायात व्यवस्थापनमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने माग गर्दै आएका छन्।