२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

अस्पतालको जग्गामा बनेका अनधिकृत संरचनामा डोजर, २६ वटा सटर भत्काइयो

अस्पतालको जग्गामा बनेका अनधिकृत संरचनामा डोजर, २६ वटा सटर भत्काइयो

विराटनगर । कोशी अस्पताल विराटनगरको स्वामित्वमा रहेको सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचनामा अस्पताल प्रशासनले सोमबार बिहान डोजर चलाएको छ। अस्पतालको जग्गामा विभिन्न संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाडामा दिएका व्यापारिक सटरहरू भत्काउने अभियान सुरु गरिएको हो।

विराटनगर–७ अस्पताल चोकस्थित सरकारी जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए। ती संस्थाले निर्माण गरेका सटरहरू व्यापारिक प्रयोजनका लागि तेस्रो पक्षलाई भाडामा दिइएको थियो।

अस्पताल प्रशासनका अनुसार व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका २६ वटा सटर डोजर लगाएर प्रयोग गर्न नमिल्ने बनाइएको छ।

संरचना हटाउने क्रममा मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको सुरक्षा टोली परिचालन गरिएको थियो। सम्भावित अवरोधलाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

यसअघि असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले कोशी अस्पतालको स्थलगत अनुगमन गर्दै सरकारी जग्गामा बनेका अनाधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए।

मन्त्रीहरूको निर्देशनपछि अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गरेको थियो। त्यसअघि पनि असार ५ गते १५ दिने सूचना प्रकाशित गर्दै संरचना खाली गर्न आग्रह गरिएको थियो।

अस्पताल प्रशासनले दिएको अन्तिम समयसीमाभित्र अधिकांश व्यवसायीले आफ्ना सामानहरू सारिसकेको जनाएको छ। प्रशासनले सरकारी सम्पत्तिको संरक्षण तथा अस्पतालको पूर्वाधार विस्तारका लागि अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

Related News

  • २०८३ असार २९

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो...

TOP