२०८३ असार २८, आईतवार
July 12, 2026, Sunday

साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने

साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने

धनगढी — धनगढीका निजी विद्यालयहरूले आगामी साउन महिनादेखि विद्यार्थीबाट लिइने विभिन्न शुल्कमा थप ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ असुल गर्ने भएका छन्।

प्याब्सन धनगढीका अध्यक्ष ध्रुवबहादुर सिंहका अनुसार सङ्घीय सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लागू गरेको व्यवस्थाअनुसार साउनदेखि उक्त शुल्क संकलन गर्ने निर्णय गरिएको हो। उनले आन्तरिक राजस्व कार्यालयले धनगढीमा आयोजना गरेको करसम्बन्धी कार्यक्रममा सरकारी अधिकारीहरूले निजी विद्यालयलाई शैक्षिक समता शुल्क संकलन गर्ने प्रक्रियाबारे जानकारी गराएको बताए।

नयाँ व्यवस्थाअनुसार विद्यालयहरूले मासिक शुल्क, वार्षिक शुल्क, परीक्षा शुल्क, यातायात शुल्क, प्रयोगशाला शुल्कलगायत विद्यार्थीबाट लिइने सबै प्रकारका शुल्कमा थप ३ प्रतिशत रकम जोडेर असुल गर्नेछन्। संकलित रकम प्रत्येक चार महिनामा सरकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारका अनुसार शैक्षिक समता शुल्कबाट उठेको रकम विपन्न तथा आर्थिक रूपमा कमजोर बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न तथा शैक्षिक पूर्वाधार विकासमा खर्च गरिनेछ।

आगामी आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा ३ प्रतिशत शैक्षिक समता शुल्क लगाउने व्यवस्था गरिएको हो। उक्त व्यवस्थालाई कार्यान्वयन गर्न आर्थिक ऐनमा समेत आवश्यक कानुनी प्रावधान समावेश गरिएको छ।

Related News

  • २०८३ असार २८

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीसँग झडप, माजिद अन्सारी घाइते भएको दाबी...

TOP