२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा

धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा

धनगढी — धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई गुणस्तरीय तथा पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने उद्देश्यले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको छ। साउन १ गतेदेखि वडा नम्बर १ देखि ८ सम्म रहेका २१ सामुदायिक विद्यालयका करिब चार हजार विद्यार्थीलाई यही भान्साघरमा तयार गरिएको दिवा खाजा वितरण गरिने भएको हो।

उपमहानगरपालिकाका अनुसार ११ वटा आधारभूत र १० वटा माध्यमिक विद्यालयमा बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ७९५ विद्यार्थीले नियमित रूपमा दिवा खाजा प्राप्त गर्नेछन्। वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालय, शान्तिनगरमा भने कक्षा ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई पनि यही भान्साघरबाट खाजा उपलब्ध गराइनेछ।

धनगढी–७ तिल्केचोकमा निर्माण गरिएको एकीकृत भान्साघरको शनिबार वडा नम्बर ७ का अध्यक्ष मोति राना थारूले उद्घाटन गरेका हुन्। कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट, विभिन्न वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

उपमहानगरपालिकाले ‘फुड फर लाइफ’ नामक गैरसरकारी संस्थासँग दुई वर्षका लागि सम्झौता गर्दै दिवा खाजा वितरणको जिम्मेवारी दिएको जनाएको छ। धनगढी उपमहानगरपालिकाको आन्तरिक स्रोत, नेपाल सरकार तथा विश्व खाद्य कार्यक्रम (WFP) को सहयोगमा दुई करोड ४५ लाख ३३ हजार २९ रुपैयाँ लागतमा भान्साघर सञ्चालनमा ल्याइएको हो।

नगर प्रमुख गोपाल हमालका अनुसार भान्साघरको पूर्वाधार निर्माणमा ६८ लाख ३२ हजार ८५० रुपैयाँ, भान्सा सामग्री खरिदमा १७ लाख ४७ हजार ३९९ रुपैयाँ, खाजा ढुवानीका लागि सवारी साधन खरिदमा ३७ लाख ७७ हजार ९९८ रुपैयाँ तथा विद्युत् जडान र ट्रान्सफर्मर खरिदमा १३ लाख ९२ हजार ४४५ रुपैयाँ खर्च गरिएको छ। साथै, विश्व खाद्य कार्यक्रमबाट करिब ८६ लाख रुपैयाँ बराबरका सामग्री सहयोग प्राप्त भएको उनले जानकारी दिए।

नेपाल सरकारले दिवा खाजा कार्यक्रमअन्तर्गत प्रति विद्यार्थी दैनिक २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ। आर्थिक वर्षका १८० दिनका लागि विनियोजित रकम उपमहानगरपालिकाले विद्यालयको खातामा पठाउने र विद्यालयहरूले विद्यार्थी संख्याका आधारमा ‘फुड फर लाइफ’लाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ।

‘फुड फर लाइफ’का व्यवस्थापन प्रमुख चिरञ्जीवी दाहालले धनगढी उपमहानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै बालबालिकालाई स्वस्थ, सुरक्षित र पोषणयुक्त खाजा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

धनगढी उपमहानगरपालिकाले यस वर्ष २१ विद्यालयबाट सुरु गरिएको एकीकृत दिवा खाजा कार्यक्रम आगामी वर्षहरूमा पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा विस्तार गर्ने योजना रहेको जनाएको छ।

Related News

अब मोबाइल बैंकिङबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ व्यवस्था
अब मोबाइल बैंकिङबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ व्यवस्था
  • २०८३ असार २७

अब मोबाइल बैंकिङबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको...

TOP