२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

सुदूरपश्चिम बजेट विवाद

सुदूरपश्चिम बजेट विवाद : एमालेका तीन सांसदद्वारा तीन मन्त्रालयको खर्च कटौती प्रस्ताव दर्ता

कैलाली — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटविरुद्ध सत्ता साझेदार दल नेकपा (एमाले) का तीन प्रदेशसभा सदस्यले खर्च कटौती प्रस्ताव दर्ता गरेका छन्।

प्रदेशसभा सचिवालयका अनुसार एमालेकी उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल र सांसद दमन भण्डारी ले क्रमशः उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयआन्तरिक मामिला तथा कानुन मन्त्रालय को बजेट खर्च कटौती प्रस्ताव दर्ता गरेका हुन्।

प्रस्तावमा सम्बन्धित मन्त्रालयको बजेट १ रुपैयाँमा सीमित गरियोस् भन्ने माग गरिएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ।

विशेष कुरा, चक्र मल्ल र दमन भण्डारीले खर्च कटौती प्रस्ताव दर्ता गरेका दुवै मन्त्रालयमा एमालेकै मन्त्री रहेका छन्। यसले आफ्नै पार्टी सरकारमा सहभागी रहे पनि एमालेभित्र बजेटप्रति असन्तुष्टि बढ्दै गएको संकेत गरेको छ।

प्रदेश सरकारले असार १ गते ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेपछि एमालेले बजेट पुनर्लेखनको माग गर्दै आएको छ। यसअघि एमाले संसदीय दलले प्रमुख सचेतक चक्र मल्लको संयोजकत्वमा बजेट संशोधन कार्यदलसमेत गठन गरेको थियो।

एमालेका अन्य सांसदहरूले पनि आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको जनाइएको छ।

कांग्रेस नेतृत्वको प्रदेश सरकारभित्र बजेटलाई लिएर विवाद भइरहेका बेला सत्ता गठबन्धनकै प्रमुख साझेदार एमालेका सांसदहरूले आफ्नै पार्टीका मन्त्री रहेका मन्त्रालयको बजेटसमेत कटौती गर्न प्रस्ताव दर्ता गरेपछि सरकारमाथि थप राजनीतिक दबाब बढेको छ।

Related News

धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा
धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा
  • २०८३ असार २७

धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार...

TOP