२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

अब मोबाइल बैंकिङबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ व्यवस्था

अब मोबाइल बैंकिङबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं – बैंक तथा वित्तीय संस्थाका ग्राहकले अब आफ्नो बैंक खाता बन्द गर्न सम्बन्धित शाखामा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन २०८२’ संशोधन गर्दै अबदेखि मोबाइल बैंकिङ वा वेब एप्लिकेसनमार्फत नै बैंक खाता बन्द गर्न सकिने व्यवस्था गरेको हो।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै निष्क्रिय खाताको संख्या घटाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको जनाएको छ।

नयाँ निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले निष्क्रिय खाताको संख्या घटाउन ठोस कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्नुपर्नेछ।

यसैगरी, कुनै पनि सक्रिय खाता निष्क्रिय हुनुअघि ग्राहकलाई कल, एसएमएस वा इमेलमार्फत अनिवार्य रूपमा पूर्वजानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। निष्क्रिय भइसकेका खातालाई पुनः सक्रिय गराउन बैंकहरूले कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकसँग सम्पर्क गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने निर्देशन पनि दिइएको छ।

ग्राहकले अब आफ्नो खाता नेपालभर रहेका सम्बन्धित बैंकका जुनसुकै शाखाबाट वा मोबाइल बैंकिङ तथा वेब एपमार्फत बन्द गर्न सक्नेछन्। खाता बन्द गर्दा खातामा रहेको बाँकी रकम ग्राहकले अनुरोध गरेको अर्को बैंक खातामा रकमान्तर गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, निष्क्रिय खाता पुनः सञ्चालन गर्न चाहने ग्राहकले जुनसुकै शाखाबाट केवाईसी (KYC) अद्यावधिक गरेर खाता सक्रिय बनाउन सक्नेछन्। यसका लागि खाता खोलिएको मूल शाखामै जानुपर्ने बाध्यता रहने छैन।

राष्ट्र बैंकले लामो समयपछि पुनः सञ्चालनमा आएका खातामा हुन सक्ने अस्वाभाविक कारोबारमाथि निगरानी राख्न विशेष प्रणाली विकास गर्न बैंकहरूलाई निर्देशन दिएको छ। साथै, निष्क्रिय खाताको दुरुपयोग गरी हुने ‘मनी म्यूल’ लगायतका वित्तीय अपराधबारे जनचेतना फैलाउन र कर्मचारीको क्षमता अभिवृद्धि गर्न पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ।

Related News

धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा
धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा
  • २०८३ असार २७

धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार...

TOP