२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

राजनीतिक पदमा रहेका व्यक्तिलाई रेडक्रसबाट अलग हुन नेरेसोको आग्रह

राजनीतिक पदमा रहेका व्यक्तिलाई रेडक्रसबाट अलग हुन नेरेसोको आग्रह

काठमाडौं – नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले राजनीतिक दल तथा त्यसका भ्रातृ सङ्गठनका विभिन्न निकायमा पदमा रहेका आफ्ना पदाधिकारी र सदस्यहरूलाई रेडक्रसमा रहेको संलग्नताबाट अलग हुन आग्रह गरेको छ।

नेरेसोले जारी गरेको अनुरोधमा नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौँ संशोधन–२०८२ सहित) को दफा ७२ उपदफा (३) अनुसार सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक दल वा भ्रातृ सङ्गठनका विभिन्न निकायमा पदमा रहेका तथा राजनीतिक दलबाट सबै तहका शासकीय संरचनामा पदाधिकारी वा सदस्य रहेका व्यक्तिहरू रेडक्रसका कुनै पनि तहका समिति, आयोग र उपसमितिमा सदस्य वा पदाधिकारी रहन नपाउने व्यवस्था रहेको उल्लेख गरिएको छ।

सोसाइटीले रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरूले संस्थाका सिद्धान्त, मूल्य र मान्यताअनुसार निष्पक्ष र तटस्थ रूपमा कार्य गर्ने सुनिश्चित गर्न उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको छ।

नेरेसोले विधानको व्यवस्थालाई पालना नगरी दोहोरो भूमिकामा रहेको पाइएमा प्रचलित विधानबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गका रूपमा सात सिद्धान्त, मूल्य र मान्यतामा आधारित तटस्थ तथा निष्पक्ष मानवीय संस्थाका रूपमा कार्यरत रहेको जनाएको छ। रेडक्रसमा राजनीतिक प्रभाव र संलग्नताबारे विगतदेखि नै प्रश्न उठ्दै आएको तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासङ्घबाट समेत यस विषयमा चासो व्यक्त हुँदै आएको नेरेसोले उल्लेख गरेको छ।

Related News

  • २०८३ असार १८

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो...

TOP