काठमाडौं – प्रतिनिधि सभाको आज बिहान ११ बजे बस्ने बैठकले सुशासन र सेवा प्रवाह सुधारसँग सम्बन्धित चार वटा महत्त्वपूर्ण विधेयक पारित गर्ने कार्यसूची रहेको छ।
सरकारले सुशासन कायम गर्न तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन ल्याएका आठ वटा अध्यादेशमध्ये चार वटा स्वीकृत भएपछि तिनलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा दर्ता गरिएको थियो। अघिल्लो बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न भइसकेकाले आज संशोधन प्रस्तावहरूमाथि दफावार छलफल गरी निर्णय गरिनेछ।
संसद सचिवालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफलको प्रस्ताव प्रस्तुत गर्नेछिन्। संशोधनमाथि निर्णयपछि उक्त विधेयक पारित गर्ने प्रस्ताव पनि सदनमा पेश हुनेछ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल गराई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि छलफल गराई पारित गर्न प्रस्ताव गर्नेछिन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि दफावार छलफल गराई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
सरकारले यी विधेयकहरू सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा विभिन्न क्षेत्रका कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्ने उद्देश्यले अघि बढाएको जनाएको छ।