काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता दाबीमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले बुधबार जारी गरेको विज्ञप्तिमा १८ वर्षमुनिका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको भन्ने समाचार भ्रामक रहेको उल्लेख गर्दै बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने नीति, अभ्यास वा संस्थागत उद्देश्य रास्वपाको नभएको बताएका छन्।
रास्वपाका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएको तथ्यांक डिजिटल सदस्यता प्रणालीमा दर्ता भएका प्रारम्भिक आवेदनका आधारमा तयार गरिएको थियो। तीमध्ये अन्तिम स्वीकृति नपाएका विवरण पनि कच्चा तथ्यांकका रूपमा समावेश भएकाले भ्रम सिर्जना भएको जनाएको छ।
पार्टीले अनलाइन सदस्यता आवेदन प्रणाली खुला भएकाले आवेदन भर्ने क्रममा टाइपिङ त्रुटि, जन्ममिति प्रविष्टिमा गल्ती वा पात्रो प्रणालीको गलत छनोटका कारण उमेर विवरणमा फरक पर्न सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ।
हालसम्म डिजिटल सदस्यता प्रणालीमा ५ लाख २३ हजार ४६५ आवेदन दर्ता भएको र तीमध्ये ३ लाख ९० हजार ११२ जनाको नागरिकतालगायत आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको र बाँकी आवेदन प्रमाणीकरण प्रक्रियामा रहेको रास्वपाले जनाएको छ।
यस्ता त्रुटि भविष्यमा दोहोरिन नदिन सदस्यता प्रणालीको पुनरावलोकन गरी १८ वर्षमुनिका व्यक्तिको विवरण स्वतः अस्वीकृत हुने व्यवस्था लागू गरिने तथा प्रमाणीकरण भइसकेका विवरणहरूको समेत पुनः परीक्षण गरिने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ।