सुस्तावासीको तीन बुँदे माग गृहमन्त्रीसमक्ष, सीमा सुरक्षा र अतिक्रमणबारे ध्यानाकर्षण
परासी – पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले सीमा सुरक्षा, जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) र नागरिकतासम्बन्धी समस्या समाधानको माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई तीन बुँदे मागपत्र बुझाएका छन्।
सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खाको नेतृत्वमा तीन दिनदेखि काठमाडौंमा आन्दोलनरत सुस्तावासीलाई गृहमन्त्री गुरुङले छलफलका लागि बोलाएका थिए। सो क्रममा उनीहरूले भारतले अतिक्रमण गरेको सुस्ताको भूमि र सीमा सुरक्षाप्रति सरकार गम्भीर हुन आग्रह गर्दै सुस्ताको माटो उपहारस्वरूप हस्तान्तरण गरेका थिए।
आन्दोलनमा सहभागी मुन्सी कुमारका अनुसार गृहमन्त्रीसमक्ष सीमा सुरक्षा सुदृढ गर्ने, जग्गाधनी लालपुर्जाको समस्या समाधान गर्ने तथा नागरिकतासम्बन्धी विषयमा आवश्यक पहल गर्न माग गरिएको छ। गृहमन्त्रीले यी विषयमा आवश्यक पहल गरी समस्या समाधानका लागि प्रयास गर्ने आश्वासन दिएको बताइएको छ।
सुस्तामा नारायणी नदीको कटान नियन्त्रणका लागि तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको भए पनि करिब १५० मिटर क्षेत्रमा भारतीय पक्षको अवरोधका कारण काम रोकिएको स्थानीयको भनाइ छ।
सुस्तावासीले वर्षायामको जोखिम बढ्नुअघि सरकारले भारतसँग कूटनीतिक पहल गरी बाँकी तटबन्ध निर्माण सम्पन्न गर्नुपर्ने माग दोहोर्याएका छन्।
स्थानीयका अनुसार भारतले सुस्ता क्षेत्रमा करिब १४ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेको दाबी गर्दै त्यसको संरक्षणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।