कैलाली- सुदूरपश्चिममा कोरोना भाइरस संक्रमितको संख्या १७ पुगेको छ । मंगलबार थप दुई जना कोरोना पुष्टि भए संगै संक्रमितको संख्या १७ पुगेको हो ।
संक्रमित दुबै भारतबाट आएका थिए । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएका अछामको मेल्लेख गाउँपालिकाका ४१ बर्षीय कोरोना संक्रमितकी ११ बर्षीय छोरी र कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन् । उनका बुवामा पनि आईतवार कोरोना संक्रमण पुष्टि भईसकेको थियो । उनको सेती अस्पतालमा उपचार भईरहेको छ । कैलालीका संक्रमित भने जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा छन् । उनी पनि भारतबाट आएको खुलेको छ । सोही क्वारेन्टाइनमा रहेका तीन जनामा यसअघि पनि कोरोना पुष्टि भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी युएईको दुबईबाट फर्किएका थिए । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । लम्कीका २१ बर्षीय युवक भारतबाट फर्किएका थिए ।
बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन् । बैशाख १ गते सम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन् । त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ संक्रमित फेला परेनन् ।
जेठ ९ गते एकैदिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भयो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो । कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए ।
अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए ।
जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो । उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए ।
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...