दिपायल । नेपाली क्रिकेट टिमका कप्तान समेत रहेका रोहित पौडेलले नेपाल प्रिमियर लिगमा बनाएको सर्वाधिक रनको कीर्तिमान चितवनका रवि बोपाराले आठौँ खेलमा तोडेका छन्।
इंग्ल्यान्डका अलराउण्डर बोपाराले बुधबार बिहान भएको खेलमा कर्णालीविरुद्ध अर्धशतक बनाएसँगै रोहितलाई पछि पारेका हुन्। रोहितले ७ खेलमा २७९ रन बनाएका थिए। बोपाराले ८ खेलमा २८६ रन बनाएका हुन्।
बोपाराले ३४ बलमा ५३ रन बनाउँदै तेस्रो अर्धसतक समेत बनाएका हुन्। एनपीएलमा तेस्रो अर्धशतक बनाउने उनी एक्ला खेलाडी छन्।
बोपाराले पहिलो खेलमा काठमान्डुविरुद्ध ११ रन बनाएका थिए भने पोखराविरुद्ध ५१ र कर्णालीविरुद्ध ५९ रन बनाएका थिए। सुदूरपश्चिमविरुद्ध ३६, लुम्बिनीविरुद्ध १२, विराटनगरविरुद्ध २० र जनकपुरविरुद्ध ४४ रन बनाएका थिए।
रोहितले २ अर्धसतकको मद्दतमा उक्त स्कोर बनाएका थिए। रोहितले पहिलो खेलमा विराटनगरविरुद्ध ४६ रन बनाएका थिए। दोस्रो खेलमा ९५ रन बनाउँदा शतक बनाउनबाट चुके। सुदूरपश्चिमविरुद्ध ५ रन मात्रै बनाएका रोहितले जनकपुरविरुद्ध ३५ रन प्रहार गरेका थिए।
चितवनविरुद्धको खेलमा फेरि उनी शतकनजिक पुगे। त्यो खेलमा ८० रन बनाएका उनले अन्तिम २ खेलमा भने राम्रो रन बनाउन सकेनन्। काठमान्डुविरुद्ध ८ र कर्णालीविरुद्ध १० रन बनाउँदै लिगचरणमा सबैभन्दा बढी रनको रेकर्ड कायम गरेका थिए।
अहिले पनि रोहित नेपाली ब्याटरमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्।
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...