डोटी- दिपायल सिलगढी नगरपालिकाले वडा नं. ४ राजपुर स्थित सेती सभा हलमा स्थापना गरेको क्वारेण्टाईनमा बसेका मजुरहरुको दैनिकी निकै कठिन र कष्टकर बनेकोे छ । डोटी लगायत अन्य जिल्लाहरुबाट सडकमा काम गर्न आएका २३ जना मजदुरहरु क्वारेण्टाइनमा खाना, पानी र औषधिको अभाव झेलीरहेका छन् ।

जिल्लाको सदरमुकाम सिलगढीको सडकमा काम गर्ने मजदुर तथा निर्माण व्यवसायीहरुको ¥यापिड डाईग्नेस्टिक टेस्ट (आरडिटी) परिक्षण गर्दा एक जना मजदुरको नतिजा पोजेटिभ आएपछि सो सडकमा काम गर्ने २३ जनालाई क्वारेण्टाईन र नतिजा पोजेटिभ आएका एक जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो । आरडिटी पोजेटिभ र उनि संगैका ४ जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि धनगढी पठाईएको थियो । पाँचै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । उनले आइसोलेसनमा राखेकालाई आजै डिस्चार्ज गरिने बताए ।
क्वारेण्टाईनमा खाना, पानी र औषधिको निकै अभाव रहेको क्वारेण्टाईनमा बसेका कामदार महेश नेपालीले बताए । उनले आफुरु क्वारेण्टाइनमा अझै पनि बस्न तयार रहेको बताउँदै आफुहरुलाई डब्लुएचओ र नेपाल सरकारको क्वारेन्टाइन मापदण्ड अनुसार व्यवस्था गर्नु पर्ने बताए । शिखर समाचारको कुराकानीमा उनले भने,‘बसाइको व्यवस्था राम्रै छ तर हामीलाई नखाना पकाउन ग्यासको व्यवस्था छ न शुद्ध पिउने पानिको व्यवस्था न दाल तरकारी र खाद्यान्नको व्यवस्था छ । बहीर जान पनि दिएको छैन । मजदुर संगै बसेका निर्माण व्यवसायीहरुले हामी पैसा तिछौं भन्दा पनि व्यवस्था गरिएको छैन ।’
नेपालीले आफुहरु दाल चामल तरकारी मसला नपाएर आफु संगै ल्याएको चामलमा नुन र बेसार मिसानु पर्ने बाध्यता रहेको गुनासो गरे । खाना खाने भाँडा समेत नभएका कारण गथ्थाको पेटी च्यातेर त्यसैमा खाने गरेको बताए । उनले शिखर समाचार संग भने,‘ हिजो सम्म त पानीको समेत व्यवस्था थिएन, आज पाइपमा पानि आएको छ । बाहिरबाट सहयोग गर्छौ भन्ने मान्छेलाई समेत राहत ल्याएर आउन दिएको छैन । अस्ति मात्रै वडा नं. ४ का वडा सदस्य पार्वती म्याडमले पानी, काक्रा र तरकारी ल्यायदिनु भएको थियो । उहाँलाई समेत रोक लगाएको छ ।’

क्वारेण्टाइनमा एक जना लडेर घाइते भएका व्यक्ति पनि छन् । उनलाई औषधिको अभाव छ । क्वारेण्टाइनमा औषधि समेत अभाव रहेको मजदुरहरुको गुनासो छ । खाना पकाउन नजिकै रहेको रुखका बोक्राहरुको प्रयोग गर्नु परेको उनिहको गुनासो छ ।
दिसिनपा वडा नं. ४ मा रहेको उक्त क्वारेण्टाइन व्यवस्थापन तथा क्वारेण्टाइनमा राख्ने भनेर नगरपालिकाले कुनै समन्वय नगरेका कारण वडाले पनि सहयोग गर्न नसकेको वडाध्यक्ष बिरेन्द्र शाहले बताए ।

नगरपालिकाले बास र लुगाकपडाको व्यवस्था गरेको बताउँदै दिसिनपाका प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले खाने व्यवस्था आयोजनाबाटै गर्ने निर्णय भए जस्तो लागेको बताए । उनले त्यसबारे आफुलाई त्यति जानकारी नभएको बताउँदै पछि बुझेर फोन गर्ने बताए ।
क्वारेण्टाइनमा बसेकाहरुले आयोजना सञ्चालकहरु प्नि क्वारेण्टाइनमै भएकाले समस्या भएको बताउँदै नगरपालिकाले व्यवस्थापन गर्न नसक्ने भए अन्य सहयोगी दाताहरुलाई सहयोग गर्ने बाताबरण बनाइदिन माग गरेका छन् । आफुहरुले खान नै नपाउने गरि कुनै अपराध नगरेको भन्दै मजुरले आफुरु पनि मानव भएकाले मानविय व्यवहार गर्न अनुरोध गरेकाछन् ।
नेपाल सरकार र विश्वस्वास्थ्य संगठनले क्वारेण्टाइन व्यवस्थापन र सुविधाका विषयमा मापदण्ड तयार गरेको छ । राष्ट्रिय मानब अधिकार आयोगले समेत विश्वस्वास्थ्य संगठनले बनाएको मापदण्ड लागु गर्न आग्रह गरेको छ ।
नेपाल सरकारले क्वारेण्टाइनमा बस्ने व्यक्तिका लागि औषधि, शुद्ध पानि, तातो पानि, सञ्चार, चार पटक खानाको व्यवस्था र प्रतिव्यक्ति ७५ वर्गफिटको स्थान वा एउटा खाटदेखि अर्को खाटसम्मको न्युनतम दूरी ३.५ फिट हुनुपर्ने लगायतका कुराहरु समेटेर मापदण्ड बनाएको छ । त्यस्तै विश्वस्वास्थ्य संगठनले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड अनुसार क्वारेन्टाइनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, सङ्क्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायको कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, क्वारेन्टाइनका व्यक्तिलाई सम्भव भएसम्म पर्याप्त रुपमा हावामा ओहोरदोहोर गर्न सक्ने खालको एकल कोठा उपलब्ध गराउनु पर्ने, शारीरिक दूरी कायम हुनु पर्ने, परिवारका सदस्यहरुसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनु पर्ने, यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउनु पर्ने, मनोसामाजिक सहायता उपलब्ध गराउनु पर्ने र बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्ने लगायतका व्यवस्था हुनुपर्ने उल्लेख छ ।

तर क्वारेण्टाइनमा मापदण्ड अनुरुप पर्याप्त पोषणयुक्त खाना, पिउने पानी, शौचालय, उचित बसोबास, स्वास्थ्य हेरचाहजस्ता आवश्यकतासमेतको उचित व्यवस्थापन हुन नसक्दा व्यक्तिका आधारभूत मानव अधिकार सङ्कुचनमा परेको देखिन्छ । सुदूरपश्चिमका अन्य जिल्लाहरुमा स्थापना गरिएका क्वारेण्टाइनहरु पनि मापदण्ड अनुसार सञ्चालन गरिएको छ ।
अछाम- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नम्वर १...