२०८१ माघ ३, बिहीबार
January 16, 2025, Thursday

गाउँपालिकाको एम्बुलेन्स दुरुपयोग : सामानको भाडा पाँच हजार लिएको खुलासा


डोटी- सोमबार डोटीको बुडरमा सायल गाउँपालिकाद्वारा सञ्चालीत एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । धनगढीबाट डोटी आउदै गरेको से १ ज ३३४ नम्बरको एम्बुलेन्स लकडाउनमा सवारी र सामान बोकेको भेटेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

चालक सहित ५ जना सवार रहेकाले एम्बुलेन्स नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुडरका इन्चार्ज कर्ण बहादुर रउलेले बताए । एम्बुलेन्समा पाँच जना सवार भेटेपछि बुडर प्रहरी कार्यालयमा राखेर सोधपुछ भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कर्ण बोहराले बताए ।

एम्बुलेन्समा सायल गाउँपालिकाका अध्यक्ष तेज डुम्रेलका भाई योगेन्द्र डुम्रेल, वडा नं. ६ का वडा सचिव बिस्ना कु ओझा, गाउँपालिकाका कार्यालय सहयोगी राम बहादुर डुम्रेल, कञ्चनपुर पुनरबास २ बस्ने टेक्टर चालक नारायण चौधरी र एम्बुलेन्स चालक सालीभान थापा गरी पाँच जना सवार रहेको प्रहरीले जनाएको छ । अध्यक्षका भाई योगेन्द्र वडा नं. ५ मा कार्यरत स्वास्थ्यकर्मी हुन् । उनलाई गाउँपालिकाले नै नियुक्त गरेको थियो ।

यस बिषयमा गाउँपालिकका अध्यक्ष संग कुरा गर्न खोज्दा अध्यक्षले आफु बैठकमा भएको बताए ।

एम्बुलेन्समा बोकेको सामानको भाडा पाँच हजार

एम्बुलेन्समा स्काइभेटरको सामान पनि बोकेको पाइएको छ । सामान बोके बाफत चालकले सामान पठाउने ब्यक्तिबाट पाँच हजार भाडा लिएको खुलेको छ । स्काइभेटरको सिजल एकबाल्टी, दुईटा दाँत, एउटा फ्यान बेल्ट र ६ वटा नट बोल्टको भाडा पाँच हजार लिएको खुलासा भएको छ । एम्बुलेन्समा टाएर लगायतका सामाग्री पनि छन् ।

स्काइभेटर नचलका कारण काम रोकिनुभन्दा पाँच हजारमा लगिदिने भनेपछि भाडा तिरेर सामान पठाएको प्रेम ओलीले शिखर समाचार संग बताए ।

गाउँपालिकाले एम्बुलेन्स यसै गरी समय समयमा दुरुपयोग गर्दै आएको स्थानियले आरोप लगाएकाछन् । यस अघि पनि लकडाउनको अबधिमा १२ हजार भाडा लिएर एम्बुलेन्सले सवारी बोक्ने गरेको स्थानिय सेर बहादुर बोगटीले बताए ।

एम्बुलेन्स ३÷४ दिन अघि बिरामी लगेर कैलाली गएको गाउँपालिकाका प्रशासकीय अधिकृत भरत नेपालीले बताए । उनले गाउँपालिकाले विरामी मात्रै बोक्न भने पनि चालकले आफै मान्छे हाल्नेको हुनसक्ने बताउँदै गाउँपालिकाको एम्बुलेन्स भाडामा मान्छेबोक्न नदिएको दाबी गरे ।

एम्बुलेन्सले कोरोना जोखिम बढायो

लकडाउनका बीच डोटीमा विकास निर्माणका कार्यहरु भैरहेका छन् । प्रशासनले जिल्ला बाहिरबाट आउने कामदारको अनिवार्य चेकजाँच गराएर मात्रै ल्याउन भनेको छ । यस बीच एकजना कामदारको आरडिटि परिक्षण पोजेटिभ देखिएपछि डोटीका बासिन्दा त्रसित बनेका छन् ।

यसै क्रममा गाउँपालिकाको एम्बुलेन्समा कञ्चनपुर पुनरबास २ बस्ने ट्याक्टर चालक मजदुर नारायण चौधरी पनि सवार रहेको पाइएको छ । यसले एम्बुलेन्समा सवार पाँचै जना जोखिममा रहेको देखिन्छ । कसैमा संक्रमण देखिए संक्रमण जिल्लाभर फैलिने सम्भावना पनि रहेको छ ।
एम्बुलेनसमा सवार सबैलाई अनिबार्य क्वारेण्टाइनमा राखी स्वास्थ्य परिक्षण गर्नु पर्ने स्थानिय सेर बहादुर बोगटीले बताए । उनले भने,‘मुलुकमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । सरकारले लकडाउन कडा पारेको छ । एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाएको छ । एम्बुलेन्स भित्र पाँच पाँच जना मान्छे त्यो पनि अर्को जिल्लाका कामदार, अर्को जिल्लाबाट यसरी यात्रा गर्दा कोरोनाको जोखिम बढेको छ । एम्बुलेन्समा सवार सबैलाई क्वारेण्टाइनमा राखेर स्वास्थ्य जाँच गरिनु पर्दछ ।’

प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले एम्बुलेन्सको उद्येश्य विना सवार बोक्ने काम गलत भएको बताए । उनले एम्बुलेन्समा मजदुर बाकेको भए जोखिम बढेको बताउँदै मजुर जहाँबाट आएका हुन् उतै पठाइने बताए । एम्बुलेनसमा भाडा लिएर सामान बोकेको भए आफुले एक्सन लिने र प्रहरीलाई प्रतिवेदन पेश गर्न भनी आवस्यक कारबाही हुने बताए ।

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०७७ जेष्ठ ५

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP