२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

शिखर समाचार प्रभाव : नक्कली डाक्टर पक्राउ

दिपायल– स्वास्थ्य शिविर सञ्चालन गरेर ठगी गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् । दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

डाक्टर भूपेन्द्र नाम बताउने दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ का ४४ वर्षीय भूपेन्द्र बहादुर क्षेत्री र कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुस्कर गुनीयाललाई पक्राउ गरिएको हो ।

शिविरमा प्रयोग भएका सामग्री सहित दुबै जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीले पनि यस घटनाई गम्भिरताका साथ हेर्न भनेको छ । तथ्यजाँच नगरी शिविर आयोजना गर्ने वडा कार्यालय, वडा कार्यालयसँग नक्कली डाक्टर भिडाउने व्यक्तिकोसमेत अनुसन्धान हुनुपर्ने ठगीएका बिरामीहरुको माग छ ।

शिखर समाचारले सोमबार स्वास्थ्य शिविरका नाममा ठगी भएको समाचार प्रकाशन गरेपछि जिल्ला प्रशासन कार्यालयले ठगी गर्ने व्यक्तिहरुलाई बोलाएको थियो । उनीहरुले ठगी गरेको देखिए पछि थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको हो ।

शिविरका सम्बन्धमा ठगिएका बिरामीहरुले गुनासो गरे पनि सरोकारवाला निकायले ठगीका सम्बन्धमा मेसै पाएको थिएन । शिखर समाचारले शिविरमा स्वास्थ्य सेवा दिने डाक्टर नक्कली भएको, उनीहरुले प्रयोग गरेको मेसिन आधिकारीक नभएको र सर्वसाधारणहरु ठगिएको समाचार प्रकाशन गरेपछि सरोकारवाला निकायले चासोका साथ हेरेका छन् ।

ठगी गर्ने व्यक्तिहरुले यस अघि कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लाहरुमा शिविर सञ्चालन गरेका थिए । डोटीमा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ को आयोजनामा वैशाख २७ गतेदेखि ३० गतेसम्म ४ दिन सञ्चालन भएको थियो ।

शिविरमा दुई सय ३० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । बिरामीहरुबाट होल बडी चेकअप भनेर पाँच सयका दरले एक लाख १५ हजार असुल गरिएको थियो । स्वास्थ्य परीक्षण गराउने अधिकांश बिरामीहरुलाई रोग निको हुने भन्दै रु. पाँच हजारका दरले ब्रासलेट, एटिएम जस्तो कार्ड खरिद गर्न लगाइएको थियो ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ जेष्ठ १

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP