दिपायल- दिपायल सिलगढी नगरपालिका वडा नं. ४ को कार्यालयले वैशाख २४ गते स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी सार्वजनिक सूचना प्रकाशन ग–यो । जसमा लेखिएको थियो पाँच सय रुपैयाँमा सम्पूर्ण शरीर (Whole Body) चेकजाँच गरिने भएकाले मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ ।
वडा कार्यालयले सार्वजनिक गरेको सूचनामा (HIMS Health Care) काँडाघारी काठमाडौँको सहयोगमा डा. भूपेन्द्र क्षत्रीको टिमले स्वास्थ्य चेकजाँच गर्ने उल्लेख थियो । वडा कार्यालयले नै सूचना जारी गरेपछि सेवा लिने सर्वसाधारणहरुको घुँइचो लाग्यो । वैशाख २७ गतेबाट सुरु भएको उक्त शिविर ३० गतेसम्म सञ्चालन भयो ।
चार दिनसम्म सञ्चालन भएको उक्त शिविरमा दुई सय ३० जना बिरामीले आफ्नो स्वास्थ्य चेकजाँच गराए । चेकजाँचका क्रममा प्रतिव्यक्ति पाँच सयका दरले शुल्क लिइयो तर, भौचर, बिल दिइएन । स्वास्थ्य चेकजाँच गर्न आएका बिरामीहरुलाई प्रेसर, थाइराइड लगायतका समस्या देखिएको भन्दै चुम्बक जडित घडीको चेन जस्तो ब्रासलेट, कम्मर बाँध्ने बेल्ट लगायतका सामग्री पाँच हजारका दरले बिक्रि गरियो । Whole Body चेकजाँच गर्नका लागि क्वान्टम चुम्बकीय अनुनाद विश्लेषक (quantum magnetic resonance analyzer) नामक मेसिनको प्रयोग गरियो । नेपालमा स्वास्थ्य परीक्षणका लागि अनुमती नपाएको उक्त मेसिन प्रयोग गरेर जाप्निज प्रबिधिबाट शरिरमा भएको सम्पूर्ण रोग पत्ता लाग्ने भन्दै बिरामीहरुलाई ठगियो ।
विशेषज्ञ डक्टरसहितको चिकित्सकको टोलीबाट स्वास्थ्य सेवा पाइने अपेक्षा बोकेर २ सय ३० जना बिरामीहरु ठगिएका छन् । पाँच सय रुपैयाँमा जिल्लामै नभएको सेवा (Whole Body) चेकअप हुने खबरले हर्षित भएका बिरामीले शिविर सकिए पछि आफुहरु ठगिएको जानकारी पाएका हुन् ।
सायल गाउँपालिकाबाट सस्तोमा पूर्ण शरीर परीक्षण हुने अपेक्षा बोकेर आएकी एक जना महिलालाई हातमा क्वान्टम चुम्बकीय अनुनाद विश्लेषकको सेन्सर समात्न लगाइन्छ । सेन्सर समातेको एक मिनेटमै उनको रिपोर्ट आउछ । रिपोर्ट आएपछि डा. भूपेन्द्र क्षेत्री भन्ने व्यक्तिले हरियो सागपात, फलफुल खान र मासु नखान परामर्श दिन्छन् । उनको रिपोर्टमा थाइराइड नर्मल देखिन्छ ।
त्यहाँ चित्त नबुझे पछि उनी नजिकैको सुजङ्ग अस्पतालमा थप उपचारका लागि जान्छिन् । सुजङ्ग अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनमा थाइराइडको समस्या देखिन्छ र डक्टरले औषधी र परामर्श दिएर पठाउँछन् । शिविरमा नर्मल देखिएको थाइराड अस्पतालमा देखिन्छ ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. ४ का कृष्ण कठायत पनि शिविरमा होल बडी चेक गर्छन । उनलाई पनि हरियो सागपात, फलफुल खान र मासु अल्कोहल नखान सुझाब दिइन्छ । पाँच सयमा होलबडी चेकअप भनेर ठगियो, “उनले भने,“सागपात, फलफुल खान र मासु अल्कोहल सेवन नगर्न भनियो । प्रेसरको समस्या छ, यो हातमा बाँध्नुस् भनेर ब्रासलेट दिइयो । पाँच हजार उक्त ब्रासलेटको लिइयो । हामी त ठगिएछौं । अब सम्बन्धीत निकायले कारबाही गरोस् ।”
क्षेत्रीले स्वास्थ्य चेकजाँच गर्ने सबै बिरामीहरुलाई एउटै खाले सुझाब दिएर पठाए । एक जना बिरामीलाई त कुकुरको मासु नखानु भनी रिपोर्टमा लेखिएको भेटियो । डक्टर भूपेन्द्र क्षेत्री लेखिएको रिपोर्टमा सुरुका दुई दिन हिन्दी र अंग्रेजी शब्द लेखिएको थियो । गुनासो बढेपछि नेपाली र अंग्रेजी बनाइएको थियो ।
बिरामीसँगै दिपायल सिलगढी नगरपालिकाको वडा सरकार पनि ठगिएको छ । वडा कार्यालयलाई विशेषज्ञ डक्टर आउने र पाँच सय रुपैयाँमा होलबडी चेकहुने खबर प्राप्त हुन्छ । त्यसपछि जनताले सहज स्वास्थ्य सेवा पाउने भए भनेर हौसिएको वडा सरकारले सूचना प्रकाशन गरेर प्रचार गर्छ ।
सेवा दिने डक्टर, संस्था र मेसिनको आधिकारिकता नै प्रमाणिकरण नगरेर वडा कार्यालय शिविरको आयोजक बनेको देखिन्छ । काउन्सिलबाट प्रमाणिकरण भएको विशेषज्ञ डक्टर आउने र दर्ता भएको संस्थाले सहयोग गर्ने जानकारी प्राप्त भएपछि आफुहरुले शिविर आयोजना गरेको वडाध्यक्ष अशोक सोपले बताए । उनले शिविरमा बिरामीहरु ठगिएको जानकारी नपाएको बताए ।
वडा कार्यालय आयोजक मात्र बनेन शिविरको व्यवस्थापनमा ४ दिनसम्म खटियो । वडाका कर्मचारी, स्वास्थ्यकर्मी पनि शिविरमा खटिएका थिए ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले काउन्सिलमा दर्ता नभएका व्यक्तिहरुले शिविर सञ्चालन गर्न नपाउने बताए । सरकारका पाँच वटा आधिकारिक काउन्सिलहरु छन् जुनसुकै स्वास्थ्यकर्मीहरु पनि ति काउन्सिलमा आवद्ध हुनुपर्दछ । दर्ता नभएका व्यक्तिहरुले शिविर चलाउन त के बिरामी जाँच्न पनि पाउँदैनन्,“उहाँले भन्नु भयो,“यो शिविर कसरी सञ्चालन भयो जानकारी भएन ।”
डा. भूपेन्द्र क्षेत्री नाम बताउने भूपेन्द्र बहादुर क्षेत्री दार्चुलाका बासिन्दा हुन् । दार्चुला जिल्लाको साविकको खलंगा गाविस वडा नं. ५ मा उनको घर हो । उनीसँगको लामो फोन सम्पर्क पछि उनले आफ्नो परिचय खोलेका छन् ।
फोन सम्वादमा उनले आफु स्वास्थ्य क्षेत्रको डक्टर नभै पिएचडी होल्डर डक्टर भएको दावी गरेका छन् । उनीसँगै शिविरमा बिरामीको चेकजाँच गर्ने अर्का व्यक्ति पुस्कर गुनीयालले आफुहरुले चार÷पाँच वटा यस्तै शिविर चलाएको बताए । आफु डक्टरसँग जोडिएको थोरै समय भएको कारण डक्टरका विषयमा धेरै जानकारी नभएको बताउदै बाँकी कुरा उनैसँग सोध्न भने । वडा कार्यालयसँग आफुले समन्वय गरेर शिविर सञ्चालन भएको उनले बताए ।
डा. भूपेन्द्र क्षेत्री नाम बताउने ती व्यक्तिले आफु काउन्सिलमा दर्ता नभएको र स्वास्थ्य क्षेत्रको डक्टर नभएको स्वीकार गरेका छन् । होल बडी चेकजाँचका लागि र शिविर सञ्चालनका लागि कुनै पनि निकायको अनुमति नचाहिने उनको दावी छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा भूपेन्द्र बहादुर क्षेत्रीका नाममा मिति : २०८० पुस ११ गते व्यवसाय दर्ता भएको छ । उक्त वडामा होलिस्टिक इन्स्टिच्युट अफ मेडिकल सोलुसन्स, हिम्स हेल्थ केयर नामक व्यवसाय दर्ता छ । जसमा प्राकृतिक उपचार, थेरापी, दीर्घरोग उपचार तथा परामर्श सेवा गर्न पाउने उल्लेख छ । तर, शिविर सञ्चालन गर्ने कुरा कतै पनि उल्लेख छैन । व्यवसाय दर्ता प्रमाणपत्रमा व्यवसाय गर्दा अन्य निकायबाट अनुमति लिनुपर्ने भएमा अनुमति लिनुपर्ने जनाएको छ तर, अन्य निकायमा दर्ता भएको पाइदैन ।
शिखर समाचारले एउटा पुरानो भिडियो फेला पारेको छ । क्रिश्चियन धर्मको प्रचारका लागि बनाइएको उक्त भिडियोमा भनिएको छ,“म बासु भुपेन्द्र ब्याङ्लोर इन्डियाबाट ।”
यो हेर्नुहोस् भिडियो
क्वान्टम चुम्बकीय अनुनाद विश्लेषक (quantum magnetic resonance analyzer) एक प्रकारको मेसिन हो । कम्प्युटरमा सफ्टवेयरसँग यो मेसिन जडान गरिएको हुन्छ । हातले सेन्सर समातेर सफ्टवेयरमा सेट गरिएका १ देखि ५४ वटासम्म स्वास्थ्य डेटा अटोमेटिक प्रिन्ट हुन्छ । सेन्सर छोएको एक मिनेटमा पहिलै सेट गरिएका डेटा प्रिन्ट गरेर बिरामीलाई दिइन्छ ।
मानिसले प्रयोग गर्ने स्मार्ट घडी, मोबाइलमा राखिएका सफ्टवेयरले जसरी मुटुको गती, रगतको चाल पत्ता लगाउछ त्यसरी नै यो मसिनले काम गर्दछ । यसले सफ्टवेयरमा सेट गरिएका डेटाहरुको विश्लेषण गर्दछ । डा. भूपेन्द्र बताउने ब्यक्तिले मेसिन जाप्निज प्रबिधि युक्त भएको र सय प्रतिशत नै काम गर्ने दाबी गर्दै बिरामीलाई ठगी गरेका हुन् । तर, त्यो मसिनले भनेजस्तो काम नगर्ने र नेपालमा प्रयोगका लागि अनुमति नदिइएको चिकित्सकहरु बताउछन् ।
क्वान्टम चुम्बकीय अनुनाद विश्लेषक नामक यो मेसिन सर्वसाधारण जो कोहीले आफ्नो कम्प्युटरसँग जोडेर प्रयोग गर्न सक्दछन् । भारतीय बजारमा यसको मुल्य ५ हजार देखि माथि छ ।
यो भिडियो हेर्नु होस्
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...