२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्नुहुन्न : महासचिव पौडेलले

काठमाडौं । सत्तारुढ नेकपाभित्र प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा नदिए हटाउने तयारी गरिरहेका बेला महासचिव विष्णु पौडेलले दुवै पदबाट ओली नहट्ने दाबी गरेका छन् ।

पार्टीभित्रको विवादका बेला कुनै पक्षमा खुलेर नबोल्ने गरेका महासचिव पौडेल केपी ओलीलाई हटाउने तयारीको भने खुलेर विपक्षमा उभिएका छन् ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा अनलाइनखबरसँग विशेष कुराकानी गर्दै नेकपा महासचिव पौडेलले ओलीको राजीनामा माग्ने कुरा अनुचित र असान्दर्भिक भएको बताए ।

भैंसेपाटीस्थित निवासमा कुरा गर्दै उनले ‘राजनीतिक अस्थिरता र पार्टीलाई अकल्पनीय संकटमा धकेल्ने राजीनामाको प्रस्ताव’ प्रचण्ड र माधव नेपाल लगायतका नेताले फिर्ता लिने विश्वाससमेत व्यक्त गरे ।

केही दिनअघि नेता बामदेव गौतमको निवासमा भएको भैंसेपाटी गठबन्धनको बैठकमा सहभागी भएपछि महासचिव पौडेलको भूमिकाबारे पार्टीमा चर्चा चलिरहेकै बेला उनले केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न नहुने पक्षमा उभिएका हुन् ।

महासचिवको हैसियतले उनी नेताहरुबीच समझदारी कायम गर्न लागिरहेका छन् । पौडेलले भने, अहिले प्रधानमन्त्रीको राजीनामाको प्रस्ताव नै अनुचित छ । उहाँले पार्टी र सरकारको नेतृत्व छाड्नुपर्ने कारण छैन र छाड्नु पनि हुन्न ।’

केपी ओली र प्रचण्डबीच केही असमझदारी देखिएको भएता पनि समझदारीमा फर्किने पौडेलको विश्वास छ । अनलाइनखबरसँगको कुराकानीमा महासचिव पौडेलले भने, ‘दुई अध्यक्षबीच असमझदारी देखिएकै हो, तर उहाँहरु आपसमा बसेर समझदारीअनुसार निर्णय गर्ने अभ्यासमा फर्किर्नैपर्छ, अरु विकल्प छैन ।’

नेकपामा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने अवस्था अहिले नरहेको भन्दै पौडेलले पार्टीका कुनै पनि संरचना सरकारको नेतृत्व परिवर्तनका पक्षमा नरहेको दाबी गरे । स्थायी कमिटी बैठक माग गर्ने नेताहरुको माग सरकारले सम्बोधन गरिसकेकाले अहिले बैठक आवश्यक नरहेको महासचिव पौडेलले बताए ।

सचिवालय बैठकबाट नेकपा पुनः समझदारीको अभ्यासमा फर्किने भन्दै उनले बामदेव गौतमलाई आफ्नो विकल्पमा अघि सार्ने प्रस्तावमा प्रधानमन्त्री प्रतिवद्ध रहेको समेत बताए । तर, यसको थप व्याख्या भने उनले गर्न चाहेनन् ।

प्रस्तुत छ, नेकपा महासचिव पौडेलसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले शनिबार मध्यान्ह गरेको कुराकानी–

प्रधानमन्त्रीले राजिनामा नदिए हटाउने तयारी भइरहेको छ, तपाईले उहाँको पोजिसन के पाउनुभएको छ अहिलेसम्म ? 

यतिबेला प्रधानमन्त्रीको राजीनामाको माग असामयिक, र जनताको हित, राष्ट्रिय आवश्यक तथा कम्युनिस्ट आन्दोलनको भविश्यका दृष्टिकोणले अनुचित प्रस्ताव हो । त्यसकारण प्रधानमन्त्रीले राजीनामा दिन हुँदैन र उहाँले दिनु पनि हुन्न ।

म के देख्दैछु भने, राजीनामा माग्ने प्रस्तावबाट साथीहरु सहमतितर्फ फर्किनुहुन्छ ।

प्रचण्डले त दुइटै पद छाड्न दवाव दिसक्नुभएको छ, हिजो पनि प्रचण्ड र माधव नेपालसहितको बैठक बसेर राजिनामा नदिए हटाउने कुरा भएको छ, तपाईले भनेजस्तो सहज छ र ?

हामीले सरकारको र पार्टीको कामबारे समीक्षा गर्दै पनि आएका छौं र फेरि पनि गर्न सकिन्छ । केही समयअघि सम्पन्न पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकमा पनि सरकारको कामको, पार्टीको कामको समीक्षा गरेका छौं । पार्टी कामको समीक्षा हुन सक्छ । तर, यतिबेला सरकारको र पार्टीको नेतृत्व परिवर्तनको विषय अघि सार्नु गलत कुरा हो ।

यसको प्रभाव के हुन्छ, यसका परिणामहरु के हुन्छन् भन्ने समग्र पक्षमा विश्लेषण नगरिकन यस्ता प्रकारका प्रस्ताव लिएर आउने कुराले आम जनतामा निराशा सम्प्रेषण गरेको छ । यस्तो क्रियाकलापले नेपाली कम्युनिस्ट आन्दोलनलाई पनि गम्भीर नोक्सानी पुर्‍याउन सक्छ ।

तर, अब राजीनामा दिने कि स्थायी कमिटी बैठक बोलाएर हटाउने भन्नेमा परिस्थिति पुगिसकेको देखिन्छ नि ?

पहिलो कुरा त के छ भने स्थायी कमिटीको बैठक आवश्यकताको आधारमा बस्न सकिन्छ । तर, स्थायी कमिटी प्रधानमन्त्री चयन गर्ने वा प्रधानमन्त्री हटाउने निकाय होइन । स्थायी कमिटीको बैठक माग गर्ने साथीहरुले उठाउनुभएको अध्यादेश फिर्ताको विषय सम्बोधन भइसकेको छ । त्यसैले यतिबेला स्थायी कमिटी नबसी नहुने अवस्था पनि छैन ।

राजीनामा माग्ने कुरा त अनुचित हो भनेर मैले भनिसकेँ । त्यसकारण अहिले स्थायी कमिटीको आवश्यकता होइन । कोभिड १९ विरुद्ध सिंगो राष्ट्रलाई एकताबद्ध बनाएर परिचालित हुनुपर्ने अहिलेको आवश्यकता छ । त्यसतर्फ नै हामी केन्द्रित हुन्छौं ।

दोस्रो कुरा, अहिले हामी कोभिड १९ महामारीको प्रकोपमा छौं । हाम्रो देशमा मूलतः नियन्त्रणमा छ, सरकारले राम्रो काम गरिरहेको छ । कदाचित हाम्रो ध्यान महामारी नियन्त्रण गर्नेतर्फ केन्द्रित नभएर राजनीतिक अस्थिरतातर्फ केन्द्रित भयो भने त्यसले अप्ठेरो ठाउँमा पुर्‍याउन सक्छ । हामीले ठूलो संकटको सामना गर्नुपर्ने हुन सक्छ । हामीले कल्पना नगरेको अवस्था आउन सक्छ ।

संसारले लडिरहेको कोभिड १९ विरुद्ध हामी स्वयं पनि एकतावद्ध भएर क्रियाशील हुनुपर्ने आवश्यकता रहेको परिस्थितिमा प्रधानमन्त्रीको राजीनामाको माग कुनै पनि दृष्टिले सही साबित हुन सक्दैन ।

अब लुकाउनुपर्ने कुरा छैन कि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल पक्षका नेताहरुले प्रधानमन्त्रीको राजीनामा आउनुपर्छ भनेर बोलिसक्नुभएको छ, यो अवस्था चाहिँ कसरी सिर्जना भयो त ?

यतिबेला प्रधानमन्त्रीको राजीनामा किन चाहियो र राजीनामा माग्नुपर्ने अवस्था किन सिर्जना भयो, त्यो मैले पनि बुझेको छैन । तर, यतिबेला यो विषयचाहिँ अनुचित र अनावश्यक कुरा हो । यसले मुलुकलाई र पार्टीलाई धेरै ठूलो नोक्सान पुर्‍याउँछ । यो बाटोमा हामी हिँड्नै हुँदैन । प्रधानमन्त्रीको राजीनामा होइन, नेताहरु आपसी असमझदारी हटाउन सघन संवादमा जुट्नु जरुरी छ ।

पार्टीका बहुमत नेताहरुले केपी ओली हट्नुपर्छ भनिसकेपछि उहाँले नैतिक र राजनीतिक वैधता गुमाउनुभएन र ?

बहुमत नेता भनेर कसरी भन्नुभयो, मैले बुझिनँ । कहाँ, कसले कसरी मतदान गरेर, कहाँ कसले मतगणना गरेर बहुमत र अल्पमत भन्दै हुनुहुन्छ तपाई ? यतिबेला यो राजनीतिक अस्थिरताका पक्षमा हाम्रो पार्टीको केन्द्रीय कमिटी छैन भन्ने मेरो विश्वास छ ।

राजनीतिक अस्थिरताको पक्षमा हाम्रो संसदीय दल पनि छैन भन्नेमा मलाई विश्वास छ । आम नेपाली जनसमुदाय पनि राजनीतिक अस्थिरताको विपक्षमा छन् । सरकारका कमी कमजोरीप्रति आलोचना होलान्, पार्टीका काम कारवाहीका बारेमा पनि आलोचनाहरु होलान् ।

तर, राजनीतिक स्थायित्व र स्थिरता राष्ट्रको आवश्यकता हो । जनताले प्रधानमन्त्री परिवर्तन चाहेका होइनन् । यतिबेला कसैले पनि अस्थिरतालाई मद्दत पुग्ने काम गर्नु हुँदैन ।

तर, सचिवालयदेखि नै हेर्‍यो भने प्रचण्ड–माधव नेपाल लगायतका नेता एक ठाउँमा उभिएपछि बहुमत उतै पुग्दैन र ?

तपाईले जसरी भन्दै हुनुहुन्छ, यो केवल मनोगत अनुमानको कुरा हो । न कहीँ मतदान भएको छ, न बहुमत–अल्पमत प्रकट भएको छ । पार्टीका कुनै पनि तहका संरचनाहरु अस्थिरताको पक्षमा छैनन् । संसदीय दल अस्थिरताको पक्षमा छैन । केन्द्रीय कमिटी स्थायी कमिटी र सचिवालयसमेत अस्थिरताको पक्षमा हुने छैनन् भन्ने मेरो दृढ विश्वास छ ।

स्थायी कमिटीबाट निर्णय गरेर हट्न भन्ने र निर्णय नमाने संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएर हटाउने कुरा पनि आइरहेको छ । नत्र हस्ताक्षर अभियान दुबैतिर किन चलाउनुपरेको त ?

मैले के बुझ्छु भने, संसदीय दल सरकार परिवर्तनको पक्षमा छैन । प्रधानमन्त्री परिवर्तनको पक्षमा माननीय सांसदहरु हुनुहुन्न । अस्थिरतालाई प्रश्रय दिने कुनै पनि क्रियाकलापप्रति पार्टी संरचना जाँदैनन् । हस्ताक्षरको कुरा मैले पनि सुनिरहेको छु । तर, अविश्वासको प्रस्ताव कसैले संसदीय दलमा राख्छ भन्ने पनि मलाई लाग्दैन ।

कदाचित केही व्यक्तिले अविश्वासको प्रस्तावको प्रयास गरे पनि संसदीय दल त्यसको विरुद्धमा उभिन्छ । नेकपाभित्र सिर्जना हुने अस्थिरताले वा सरकारको अस्थिरताले केवल नेकपालाई मात्र क्षति पुग्नेवाला छैन । यसको असर र परिणाम सिंगो प्रणालीमा पर्नेछ ।

जुन प्रकारको संवैधानिक व्यवस्था हामीले खडा गरेका छौं, यसप्रति पनि प्रश्न खडा हुनेछ । हामीले जनतासमक्ष राजनीतिक स्थिरता र स्थायित्व दिन्छौं भनेका हौं । जनताले हामीलाई प्रश्न गर्ने ठाउँ दिनुहुँदैन । अन्यथा हामी जनताको माझ जान सक्ने अवस्था हुँदैन ।

स्थायी कमिटीको बैठक बोलाउनुभएन भने उहाँहरुले हटाउनुहुन्छ, त्यसपछि पार्टी विभाजन हुने हो ?

मैलेचाहिँ के देख्छु भने कार्यकर्तामा पार्टीमा विग्रह, विभाजन हुने हो कि भन्ने चिन्ता छ । म तपाईमार्फत समस्त पार्टी पंक्तिलाई, पार्टी निर्माणमा योगदान दिनुभएका सबै अग्रजहरुलाई पनि आग्रह गर्न चाहान्छु कि हामी एकतावद्ध र शक्तिशाली कम्युनिस्ट अन्दोलनको पक्षमा दृढतापूर्वक उभिनुपर्छ ।

यस्तोबेला सरकारको नेतृत्व परिवर्तन, पार्टीको नेतृत्व परिवर्तन जस्ता असामयिक र अनुचित प्रस्तावहरुले हाम्रो आन्तरिक एकतालाई कमजोर पार्छ । नेकपामा विग्रहको अपेक्षा गर्ने शक्ति र प्रवृत्तिलाई मद्दत पुर्‍याउँछ ।

सरकारको विरुद्ध भएको आक्रमणलाई परास्त गर्दै प्रतिरक्षा गर्ने र पार्टीका विरुद्ध भएको आक्रमणको प्रतिरक्षा गर्ने अहिले हाम्रो दायित्व हो ।

पार्टीले निर्णय गरेर अध्यक्ष र प्रधानमन्त्री छाड्नुस् भन्यो भने त केपी ओलीले छाड्नुपर्ला नि ?

अहिले, यतिबेला नेकपाका कुनै पनि संरचनाले त्यसो भन्दैनन् । केपी ओलीले पार्टीको नेतृत्व किन छाड्नुपर्ने ? सरकारको नेतृत्व किन छाड्नुपर्ने ? केका लागि छाड्ने भन्ने प्रश्न उठ्छ ।

उहाँले सरकारको नेतृत्व छाड्दा मुलुकले के प्रतिफल पाउँछ र पार्टीको नेतृत्व छाड्दा मुलुकले पाउँछ ? जनता र कार्यकताले यसको पनि जवाफ चाहान्छन् । केपी ओलीले सरकार र पार्टीको नेतृत्व किन छाड्ने ? उहाँले दुवै पद छाड्नुहुँदैन, छाड्नु हुन्न ।

पार्टीको बहुमतले नेकपाका अध्यक्ष केपी ओली वा प्रचण्डलाई हटाउन सक्ने व्यवस्था छ कि छैन ?

तपाईले ठिकै प्रश्न गर्नुभयो । हामीले पार्टी एकताका बेलामा एउटा महत्वपूर्ण नीतिगत निर्णय गरेका थियौं । त्यो के थियो भने, एकता प्रक्रिया आरम्भ भएपछि सम्पन्न नहुदासम्म र पार्टी महाधिवेशन सम्पन्न नहुदासम्म हामीले सबै निर्णयहरु सहमतिका साथ गर्नेछौं ।

यो सहमतिका साथ निर्णय गर्ने भन्ने प्रबन्ध अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभव हेर्नुभयो भने पनि त्यो मेल खाँदैन । हाम्रो विगतको अभ्यास र अनुभवसँग पनि मेल खाँदैन । हामीले महाधिवेशनपछि अबलम्बन गर्ने हाम्रा नीतिहरुसँग पनि यो मेल खाँदैन ।

तर, पनि हामीले यो किन गर्‍यौं भने एकता प्रक्रियालाई पूर्णतामा पुर्‍याउनका लागि र एकतालाई जोगाउनका लागि सहमतिमा निर्णय गर्नु अपरिहार्य थियो । त्यो अपरिहार्यतालाई दृष्टिकोण गरेर पार्टी एकतालाई पूर्णतामा पुर्‍याउन र एकता जोगाउन सहमतिको व्यवस्था गरेको हो ।

यसबीचमा कतिपय ठाउँमा सहमतिमा निर्णय गर्नुपर्ने हाम्रो व्यवस्था खण्डित भएको छ । ती घटनाहरुबाट हामीले शिक्षा लिएर अब कुनै पनि राजनीतिक, संगठनात्मक र जिम्मेवारीका विषयमा निर्णय गर्दा सहमतिमा निर्णय गर्नुपर्ने अभ्यासमै फर्किनुपर्छ ।

जसरी नेताहरुको तयारी देखिन्छ, हिजो पनि प्रचण्ड र माधव नेपालले स्थायी कमिटी सदस्यहरुलाई ब्रिफिङ गर्नुभएको छ, यो हिसाबले त नेकपाले केपी ओलीलाई हटाउन सक्छ, त्योबेला उहाँ खुरुखुरु बालकोट फर्किनुहोला ?

यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनमा जनता र कार्यकर्ताले नचाहेका केही अप्रिय परिदृश्यहरु सतहमा प्रकट भएका छन् । यी अप्रिय परिदृश्यहरु सतहमा किन प्रकट भए भन्ने कुराले पार्टी पंक्तिलाई र जनतालाई चिन्तित तुल्याएका छन् ।

अग्रपंक्तिमा रहेका नेताहरुका बीचमा केही असमझदारीहरु देखिएका छन् । म आग्रह गर्न चाहान्छु, असमझदारी छन् भने एकआपसमा खुला खुलस्त आम्ने साम्ने छलफल गर्नुस् । कहाँनिर आपसी विश्वास र व्यवहारमा समस्या छन्, छलफल गरौं । तर, सहमतिमा फर्किने र आन्दोलनलाई एकतावद्ध ढंगले अघि बढाउनुको कुनै विकल्प छैन ।

फेरि पनि परिस्थितिले हामीलाई फेरि सहमतिका आधारमा निर्णय गर्ने र समझदारीका आधारमा अगाडि बढ्न निर्देशन गरिरहेको छ । अध्यक्षद्वयका बीचमा उत्पन्न भएका असमझदारीलाई पनि छलफलका माध्यमबाट समझदारी र सहमतिमा बदल्नुको विकल्प छैन ।

मुख्य नेताहरु विशेष गरी अध्यक्षद्वयका बीचमा उत्पन्न असमझदारीको अर्थ सरकार वा पार्टीको नेतृत्व परिवर्तन भन्ने हुनुहुदैन ।

केपी ओलीले दुवै पद नछाड्ने हो भने, पछिल्लोपटक बामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव रणनीतिक मात्र हो त ?

म के बुझ्छु भने प्रधानमन्त्रीज्यूले सचिवालय बैठकमा राख्नुभएको प्रस्तावमा उहाँ दृढ हुनुहुन्छ । उहाँले बैठकमा के राख्नुभयो भन्ने कुरा त मिडियामा आ–आफ्ना अनुमानले फरक–फरक आएका छन् । तर, प्रधानमन्त्रीज्यूले बैठकसमक्ष जे कुरा राखनुभएको छ, मैले बुझ्दा उहाँ आफ्नो प्रस्तावप्रति उहाँ प्रतिवद्ध हुनुहुन्छ ।

बामदेवलाई छाड्ने प्रक्रिया अगाडि जान सक्छ त ?

सम्माननीय प्रधानमन्त्री, आफूले बैठकसमक्ष राख्नुभएका आफ्ना प्रस्तावमा उहाँ प्रतिवद्ध रहेको मैले पाएको छु ।

समस्या माधव नेपालको व्यवस्थापनमा छ, बामदेवलाई दिएर समाधान हुन्छ ?

प्रधानमन्त्री आफ्नो प्रस्तावमा दृढ हुनुहुन्छ । अहिलेको आवश्यकता नेतृत्व परिवर्तन होइन । सबै नेताहरुको व्यवस्थापन पनि गर्नुपर्छ । कतै ध्यान पुगेको छैन भने ध्यान पुग्नुपर्छ । तर, नेताहरुको व्यवस्थापन भन्दा आन्दोलनको एकता मुख्य विषय हो ।

केपी ओली र प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेको देखियो, अहिलेको समस्या दुई अध्यक्षको इगो व्यवस्थापनले टुंगिन्छ त ?

मलाई के लाग्छ भने लामो समयसम्म दुई पार्टी र दुई नेताबीचको सम्बन्ध कटुतापूर्ण रह्यो । यदाकदा शत्रुतापूर्ण पनि थियो । एकले अर्कोलाई परास्त गर्ने तहसम्मका प्रयास भएकै हुन् । राजनीतिक यात्राका क्रममा एउटा यस्तो बिन्दूमा हामी हामी पुग्यौं, जहाँ हामी साझा घोषणापत्र र साझा उम्मेदवारका साथ चुनावमा गयौं ।

हामीले पार्टी एकता पनि सम्पन्न गर्‍यौं । त्यसमा अरु नेताहरुको पनि योगदान छ । तर, उहाँहरुले (दुई अध्यक्ष) ले एकता प्रक्रियाको नेतृत्व गर्नुभयो । यो एकता कुनै भुलेर, भड्केर गरिएको एकता होइन । यो एकतालाई जोगाएर अघि बढाउने मुख्य जिम्मेवारी एकता प्रक्रियाको नेतृत्व गर्ने अध्यक्षद्वयमा छ । उहाँहरु दुईजनाका बीचमा असमझदारी उत्पन्न भयो भने बसेर छलफल गर्ने र निष्कर्षमा पुग्ने अभ्यासमा फर्किनुपर्छ ।

अहिले केही समस्या देखिएका छन्, तर उहाँहरु फेरि पनि आपसमा समझदारी गर्ने अभ्यासमा फर्किनै पर्छ ।

सचिवालय बैठकको पुर्वसन्ध्यामा तपाईले भनेजस्तै नेताहरुबीच समझदारीको प्रयास भइरहेको छ कि छैन ? तपाई आफैं कुन भूमिकामा हुनुहुन्छ ?

मैले नेकपाको महासचिवको नाताले आफ्नो भूमिका निर्वाह गरेको छु । स्वभाविकरुपमा म बिग्रह होइन, एकताको पक्षमा छु । म नेताहरुबीच अन्तरविरोध सिर्जना गर्ने होइन, समाधान गर्ने पक्षमा छु । एकता खोज्ने सिलसिलामा सबै सम्भाव्य प्रयासहरु गरिन्छ र गर्नुपर्छ भन्ने पक्षमा छु ।

हामीले पार्टी एकता कायम राख्न, नेकपाप्रति जनताको भरोसा र विश्वास सुरक्षित राख्न र नेकपालाई जनताले सुम्पिएको अभिभारा पूरा गर्न आफ्नो सम्पूर्ण सामथ्र्य परिचालित गर्नुपर्छ ।

अहिले हामीले समस्याको समाधान खोजिरहँदा सरकार र पार्टी नेतृत्वको विकल्प खोजेर होइन, पार्टी एकता, राजनीतिक स्थायित्व, सुशासन, विकास, सम्वृद्धि र सामाजिक न्यायको उद्देश्यद्वारा निर्देशित हुनुपर्छ ।

मलाई विश्वास छ, यतिबेला पार्टीको आन्तरिक जीवनमा प्रकट भएका समस्या यसरी समाधान हुनेछन् । असमझदारी समझदारीमा बदलिनेछ । अविश्वास विश्वासमा बदलिने छ । अनेकता एकतामा बदलिनेछ र नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रका जनताका आवश्यकता पूरा गर्दै अघि बढ्नेछ ।


Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७७ बैशाख २०

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP