डोटी- विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) ले महामारी लिइरहेका बेला नेपाल समेत अछुतो रहेको छैन । कोरोना भाईरस फैलने डरले बिश्वनै लकडाउनको स्थितिमा रहेको छ ।
नेपालमा समेत लकडाउन भएको पाँच हप्ता भन्दा भढी भईसकेको छ । लकडाउनले आजसम्म आइपुग्दा नेपालमा बिपन्न तथा मजदुरी गरेर खाने बर्गहरुलाई जीवन धान्नै गाह्रो भईरहेको देखिन्छ ।
अहिले जिल्ला जिल्लामा बिपन्न तथा मजदुरी गरेर खाने बर्गहरुलाई नेपाल सरकार तथा केहि संघ संस्थाहरुले राहत सामग्री बितरण गरिरहेको छ । तर डोटीमा भने लकडाउनको समयमा एक जना व्यक्तिको एकल प्रयासबाट राहत तथा अन्य सामाजिक कार्य भईरहेको छ ।
उनको एकल प्रयासमा ठुलो मात्रामा राहत सामग्री संकलन भईरहेको छ । डोटी सायल गाउँपालिका वडा नम्बर २ घर भएका नेबिसंघका नेता समेत रहेका दिपेन्द्रबहादुर सिंह अहिले यस्तो सामाजिक कार्यमा अग्रसर भएका छन् । लकडाउनको अवस्थामा अधिकांश व्यक्तिहरु घरमै भसिरहेका बेला सिंह भने राहत संकलनको लागि दौडधुपमै रहेका पाइन्छन् ।
औषधीको अभावमा र भोको पेट कसैले बस्न नपरोस् भन्ने उद्देश्यका साथ आफुले अभियान संचालन गरेको सिंहले बताए । ‘अहिलेसम्म करिब तीन सय पचास बोरा चामल, दुई सय किलोग्राम दाल तथा एक सय पोका नुन समेत संकलन भईसकेको छ’, सिंहले भने, ‘तीन हजार वटा मास्क समेत ल्याएका छौं, अझै दाताहरुबाट राहत सामग्री सहयोग भईरहेको छ ।’
हामी जिल्ला प्रशासन तथा सम्पूर्ण स्थानीय तहहरुको समन्वयमानै अभियान अगाडि बढाईरहेकाले स्थानीय तहहरुको माग अनुसार तथा आवश्यकता अनुसार जिल्लाभरी राहत सामग्री बितरण गर्ने छौं ।
उनको कार्यमा अहिले स्थानीय सरकारहरु समेत खुसि भएका छन र सहयोगको अपेक्षा पनि लिईरहेका छन् । ‘सामाजिक कार्य गर्ने जो सुकै पनि हाम्रा सहयोगी हुन सक्छन्’ केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, ‘दिपेन्द्रले क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरुका लागि समेत पुस्तकहरु बितरण गरेको छ, राहत सामग्रीका लागि समेत हामीले उहाँसंग कुरा गरेका छौं ।’
क्वारेन्टाइनमा बसेकालाई पुस्तक बितरण
भरखरै सिंहले लकडाउनको अवस्थामा क्वारेन्टाइनमा बसेका युवाहरुलाई साहित्यिक तथा ज्ञानवद्र्धक पुस्तक वितरण गरेका छन् । क्वारेन्टाइनमा बस्दा मानसिक तथा अन्य कुनै समस्या नआओस् भन्नका लागि पुस्तकहरु बितरण गरिएको सिंहले बताए ।
काठमाण्डौं तथा धनगढीबाट घर फर्केका जिल्लाको केआइसिंह गाउँपालिका र पूर्वीचौकी गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका ६५ जनालाई बिभिन्न साहित्यिक तथा ज्ञानवद्र्धक पुस्तक वितरण गरिएको सिंहले बताए । उनले क्वारेन्टाइनको समय ज्ञान प्राप्तीमा सहयोगी होस् भन्ने उद्देश्यले बिभिन्न पुस्तक पसलहरुको सहयोगमा आफूहरुले पुस्तक वितरण गरेको बताए ।
दिर्घरोगीका लागि निःशुल्क औषधी
सामाजिक अभियन्ता एवं नेबिसंघका नेता दिपेन्द्रबहादुर सिंहले लकडाउनको समयमा जिल्लामा रहेका दम, प्रेसर, सुगर लगायत दिर्घरोगीहरुका लागि निःशुल्क औषधीको समेत व्यवस्था गर्ने भएका छन् । बिभिन्न औषधालयहरुको सहकार्यमा उक्त अभियान अघि बढीरहेको सिंहले जनाएका छन् ।
‘बितरणको काम सुरु भएको छैन’, सिंहले भने, ‘औषधी संकलन हुने कार्य सुरु भएको छ, शनिबारदेखिनै हामी दिर्घरोगीहरुको घरमै गएर निःशुल्क रुपमा औषधी बितरणको काम सुरु गर्छौ ।’
कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...