काठमाडौं : नेपाली कांग्रेसले सोमबार सरकारले जारी गरेका दुई वटै अध्यादेश फिर्ता लिन माग गरेको छ ।
संवैधानिक परिषद बैठक सञ्चालन र राजनैतिक दल सम्बन्धी सरकारले सोमबार जारी गरेका अध्यादेश आपत्तिजनक रहेको भन्दै कांग्रेसले संविधान विपरीतका अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको हो ।
कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको बेलामा सरकारले संविधानको मर्म विपरीत हुनेगरी ल्याएका दुबै विधेयकप्रति पार्टीको गम्भीर असहमति रहेको जनाएको छ ।
कांग्रेसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको निष्कर्श निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ विज्ञप्तिमार्फत अध्यादेशप्रति आपत्ति जनाएका हुन् ।
विज्ञप्ति
आपत्तिजनक कदम, गैह्र जिम्मेवार प्रवृत्ति
कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ । दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ ।
कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।
आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको छ ।
नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति
नेपाली कांग्रेस

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...