२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित सीमावर्ती गाउँका बासिन्दाले स्थानीय नालामा कल्भर्ट निर्माण पूरा नहुँदा सास्ती खेप्दै आएका छन्।

पुरैनी तालको पानी निकास हुने नालामा पाँच वर्षदेखि थालिइको कल्भर्ट निर्माण पूरा हुनसकेको छैन। कल्भर्ट निर्माणका लागि पिलर गाडेको धेरै वर्ष बिते पनि निर्माण हुन नसकेको स्थानीय खड्क चन्दले बताए।

‘भुराकोट, खैरानी, बोर्डर र सत्ताइस नम्बर गाउँका बासिन्दाको जग्गा नालापारि छ,’ उनले भने, ‘कल्भर्ट निर्माण नहुँदा कृषिजन्य वस्तु ल्याउन समस्या झेल्दै आएका छौँ।’ नालामा पानीको बहाव बढी हुने भएकाले कृषिजन्य वस्तु ढुवानीमा समेत अप्ठ्यारो हुने गरेको छ।

‘वर्षात्मा रोपाइँ गर्न जानै समस्या छ,’ लक्ष्मण खत्रीले भने, ‘नाला तर्न समस्या छ, जेनतेन धान रोपे पनि वर्षाका कारण पुरैनी तालको पानी खेतमा पसेर काटेको धान बगाएर लैजाने गरेको छ, दुई वर्षदेखि धानबाली भित्र्याउन पाएका छैनौँ।’

गहुँ र उखुखेतीमात्रै सहजरूपमा लगाउन पाइने उनले बताए । नालापारि एक सय ५० बढी परिवारको जग्गा छ । वडा कार्यालयबाट नगरपालिका कार्यालयसम्म कल्भर्ट निर्माण पूरा गरिदिन अनुरोध गर्दै आए पनि सुनवाइ नभएको स्थानीय लोकबहादुर वडुवालले बताए।

नगर उपप्रमुख जोगराम चौधरीले चालु आर्थिक वर्षभित्रै अधुरो कल्भर्ट निर्माण पूरा हुने बताए। ‘जगेडा कोषबाट रकम खर्चेर कल्र्भट निर्माण गछौँ,’ उनले भने, ‘स्थानीय किसानले खेतबारी डुबानको समस्या राखेका छन्, त्यसलाई समाधान गर्नका लागि काम अगाडि बढाउँछौँ।’

रासस

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ फाल्गुन १८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP