२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

मनोकामना पूरा गर्ने सालमुनिमा दलित पुजारी

डोटी- दलित समुदायलाई २०६२ सालमा शैलेश्वरी मन्दिरमा प्रवेश निषेध गरेको घटना अधिकारवादीले बिर्सिएका छैनन् । मानव अधिकार र दलितमाथिको थिचोमिचोबारे बहस चलाउँदा उनीहरू शैलेश्वरीको घटना दोहोर्‍याइरहन्छन् ।

डोटीमै एउटा यस्तो मन्दिर छ, जहाँ शैलेश्वरीको भन्दा भिन्नै दृश्य देख्न पाइन्छ । शिखर नगरपालिका ३, मुडेगाउँमा रहेको सालमुनी मन्दिरमा पुजारी नै दलित छन् । यहाँ दैनिक सयौं भक्तजन आउँछन् । पुजारीबाट टीका, प्रसाद र आशीर्वाद थापेर फर्किन्छन् । मनोकामना पूरा भएका भक्तजन सालमुनी देवतालाई बलि चढाएर खुसी पार्न तँछाडमछाड गर्छन् ।

स्थानीय दास (बादी) परिवारका पुरुषहरूले यहाँ वर्षौंदेखि पुजारीको काम गर्दै आएका छन् । अलाड भन्ने क्षेत्रबाट सेती नदीमा सालमुनी देवता बग्दै आइरहेका बेला छोपेर मुडेगाउँको कालागाढमा प्रतिस्थापन गरेकाले मन्दिरमा आफूहरूको हकभोग रहेको पुजारी भीम दासले बताए । पुर्खौंदेखि दास परिवारले मन्दिरमा धूप–आराधना गर्दै महिमा जोगाएको उनले बताए ।

बिहानै आएर मन्दिरको सरसफाइ, धूप, पूजा तथा भक्तजनलाई टीका, प्रसाद दिन दास जातिका पुजारी खटिन्छन् । पुजारी कम्तीमा ५ जनाभन्दा माथि हुन्छन् । अन्य मन्दिर जस्तो मुख्य पुजारी हुँदैनन् । जसको हातमा जे काम आउँछ, समझदारीमा गर्ने गरिएको तेज दासले बताए । दिनभरि चढाइएका भेटी, नगद र बलि दिइएका बोकाका टाउका उनीहरू बेलुकी बाँडेर घर लैजान्छन् ।

दलितमाथि अन्यत्र गरिने दुर्व्यवहार सालमुनीमा छैन । ‘दलित/गैरदलित भन्ने रुढिवादी सोच मात्र रहेछ,’ बोगटानबाट सालमुनीमा बलि दिन आएका टेकबहादुर चन्दले भने ।



Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ असार २२

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP