२०७८ आश्विन ८, शुक्रबार
September 24, 2021, Friday

सुदूरपश्चिममा पाँच हजार नमुना पीसीआर नतिजाको पर्खाइमा

धनगढी– गत जेठ २१ गते कैलालीको गौरीगंगा नगरपालिकास्थित पशुपति माविमा बनाइएको क्वारेन्टिनमा रहेका ५० जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरियो। उक्त परीक्षणको नतिजा गत बुधबार अर्थात् १४ दिनपछि मात्रै आयो।

त्यसअघिका नमुना थन्किएकाले परीक्षण नतिजा आउन ढिलाइ भएको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले जनाएको छ।

गत जेठ २४ गते सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले पाँच दिन स्वाब संकलन बन्द गर्याे। कारण थियो– प्रयोगशालामा स्वाब थन्किनु।

सुदूरपश्चिमको कैलालीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्वाब थन्किएपछि पाँच दिन नमुना संकलन बन्द गर्नुपरेको गर्नुपरेको निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले जनाए।

सुदूरपश्चिममा स्वाब नमुना थन्किएको यी दुई उदाहरणले स्पष्ट पार्छ। पर्याप्त पीसीआर मेसिन नहुँदा सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका स्वाबको परीक्षण हुन सकेको छैन।

निर्देशनालयका अनुसार त्यहाँ अहिलेसम्म पाँच हजार ४९५ नमुना प्रयोगशालामै थन्किएका छन्।

पीसीआर मेसिन थप गर्न राज्यले चासो नदेखाएको यहाँका स्थानीयको आरोप छ। “यो क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा छ। तर, यहाँ कोरोना भाइरस संक्रमण परीक्षण गर्ने एउटामात्रै पीसीआर मेसिन छ,” कैलालीको धनगढी उपमहानगरपालिका–१३ का दुर्गा जोशीले भने।

निर्देशनालयका प्रमुख डा. अवस्थीले पर्याप्त पीसीआर मेसिन नहुँदा प्रयोगशालामै थन्किएको बताए। “यहाँ कोरोना परीक्षण गर्ने एउटामात्रै उपकरण छ, जहाँ दैनिक २५० जनाको मात्रै परीक्षण हुन्छ,” डा. अवस्थीले भने, “यसबाट प्रदेशभरको पीसीआर परीक्षण गर्न कठिन छ।”

सुदूरपश्चिममा कोरोना संक्रमण परीक्षण गर्ने कैलालीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा मात्रै पीसीआर परीक्षण हुने गरेको छ।

पीसीआर मेसिन थप्न पहल भइरहेको डा. अवस्थीले बताए। “यहाँका विभिन्न निकायले पीसीआर मेसिन थप गर्न पहल गरिरहेका छन्,” उनले भने। मेसिन आवश्यक रहे पनि राज्यले चासो नदेखाएको उनको आरोप छ।

सुदूरपश्चिममा ९४८ संक्रमित

सुदूरपश्चिममा शनिबारसम्म प्रदेशका ९४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा बढी कैलालीमा २२९ जना संक्रमित छन्।

यस्तै, डडेलधुरामा १७१, बैतडीमा १४०, डोटीमा १३३, कञ्चनपुरमा ९६, अछाममा ७६, बाजुरामा ७०, बझाङमा २१ र दार्चुलामा १२ जना कोरोना संक्रमित फेला परेका छन्।nepalsamaya

Related News

डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
  • २०७७ असार ७

डडेल्धुरा– नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन...

साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
  • २०७७ असार ७

डोटी – मानवीय सेवामा अनेकौं प्रयास (SHIN, Nepal) धनगढीले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाद्वारा संचालित कोभिड – १९...

एमाले नेता रावत बेपत्ता
एमाले नेता रावत बेपत्ता
  • २०७७ असार ७

धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा...

TOP