२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

पछिल्लो समय लक्षण भएका कोरोना संक्रमित बढ्दै


काठमाडाैं-
 पछिल्लो समय कोरोना पोजिटिभ भेटिएका धेरैमा विभिन्न लक्षण देखिन थालेको छ। विगतका दिनमा नेपालमा भेटिने अधिकांश संक्रमित लक्षण विहीन हुने गर्थे। तर, पछिल्लो समय भेटिएका नयाँ संक्रमितहरुमा कुनै न कुनै लक्षण देखिन थालेको छ। 

लकडाउनको अन्त्यसँगै मानिसको भीडभाड बाक्लिदै गएको छ। सार्वजनिक सवारी साधन होस् या निजी, कुनै पनि सामाजिक दूरी कायम गरेको कमै मात्र देखिन्छ। यस्तो अवस्थामा लक्षण भएका संक्रमित फेला पर्नु झन् खतरा भएको विज्ञहरु बताउँछन्। विज्ञहरुका अनुसार लक्षण भएका संक्रमितबाट अन्य व्यक्तिमा कोरोना सर्ने जोखिम पनि बढी हुन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार अहिले भेटिने गरेका संक्रमितहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिन थालेको छ। ‘पछिल्लो समय नेपालमा भेटिएका नयाँ संक्रमितहरुमा लक्षण देखिन थालेको छ,’ उनले भने, ‘पर्सामा भेटिएका केही संक्रमितमा पनि ज्वरो आउने, खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखियो।’ 

डा पाण्डे संक्रमितमा लक्षण देखिनु भनेको थप समस्या र भोलिको दिनमा संक्रमित बढेर जाने संकेत गर्छन्। उनी भन्छन्, ‘संक्रमितमा लक्षण देखिनु भनेको समस्या र संक्रमितको संख्या बढेर जाने संकेत पनि हो। आगामी दिनमा अस्पताल र शय्याको संख्या थप्नुपर्ने र व्यवस्थित गर्नुपर्ने अवस्था आएको छ।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारी संक्रमितमा लक्षण देखिनु चिन्ताको विषय भएको बताउँछन्। लकडाउन खुलिसकेको अवस्थामा अझ बढी सावधानी अपनाउनुपर्ने उनले बताए। हाल समुदायस्तरमा कोरोला फैलिनसकेको उनले जानकारी दिए। यद्यपि लापरबाही बढ्दै गए समुदायस्तरमा कोरोना फैलिने जोखिम रहेको उनी बताउँछन्। 

‘संक्रमितमा लक्षण देखिनु भनेको चिन्ताको विषय हो,’ उनले भने, ‘त्यसकारण अब थप सचेत हुनुपर्छ। अहिलेसम्म समुदायस्तरमा कोरोना फैलिसक्यो भनेर मन्त्रालयले भनेको छैन। तर जोखिम बढ्दो छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले टेकु अस्पतालमा भर्ना भएका करीब ३० प्रतिशत संक्रमितमा लक्षण देखिएको बताउँछन्। लकडाउन खुलेपछि कोरोना संक्रमणको जोखिम बढेको बताउँदै उनले अब झन् सर्तक हुनुपर्ने बताए। 

‘मानिसहरु अहिले हेल्चेक्र्याई गरेर बाहिर निस्किरहेका छन्। तर अहिले नै निस्फिक्री हुने बेला भइसकेको छैन। अब त झन् सावधानी अपनाउनुपर्छ,’ उनले भने। उनका अनुसार मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने, भीडभाड गर्ने, सार्वजनिक यातायातको निगरानी नगर्ने हो भने कोरोना समुदाय स्तरमा फैलन सक्छ। 

दीर्घरोगी र वृद्धवृद्धामा जोखिम बढी हुने भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन डा बाँस्तोलाको सुझाव छ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७७ श्रावण १७

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP