२०७८ जेष्ठ ५, बुधबार
May 19, 2021, Wednesday

कोरोनाबारे प्रधानमन्त्रीको विश्लेषण : साउनमा उच्‍च, फागुनमा नियन्त्रण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण साउन अन्त्यतिर पिक (उच्चविन्दु)मा पुग्ने विश्लेषण सुनाएका छन् ।

त्यसपछि बिस्तारै कोरोना संक्रमणको ग्राफ ओरालो लाग्ने भन्दै उनले भने, ‘दशैं तिहार र छठजस्ता चाडहरू आउँदैछन् । यो चाड सधैं रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उँधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ ।’

मंसिर अन्त्यबाट ओरालो लाग्ने भन्दै उनले भने, ‘फागुनको महिना सम्भवतः नियन्त्रणको महिना हुन्छ ।’ तर संक्रमितहरूलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेहरूलाई क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति कार्यालयको विनियोजन बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिन राष्ट्रिय सभामा पुगेका प्रधानमन्त्री ओलीले सम्बोधनको अधिकांश समय कोरोना भाइरसबारे बोलेका थिए । उनले अमेरिकी मिलेमियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे समेत धारणा राखेका छन् ।

मृत्युको संख्यामा फरक दाबी

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका कारण भएको मुत्युको संख्यामाथि फेरि प्रश्न उठाएका छन् । बुधबारसम्म मृतकको संख्या २० पुगेको भए पनि उनीहरूमध्ये २/३ जनाको मात्र ज्यान कोरोनाका कारण गएको उनले बताए ।

अरू कारणले मृत्यु भए पनि कोरोना संक्रमणको पुष्टि भएपछि कोरोनाबाट भएको मृत्युमा राख्नुपर्ने डब्ल्यूएचओको प्रोटोकलका कारण यस्तो भएको उनको दाबी छ । उनले भने, ‘कोभिड–१९ ले यति मृत्यु भएको होइन, भन्नु परेको मात्र हो ।’

२० जना पनि अरू धेरै देशको तुलनामा निकै कम भएको प्रधानमन्त्री ओलीले बताए । प्रतिदश लाख ०.७ प्रतिशत मात्र भएको भन्दै उनले भने, ‘हाम्रो उपचार विधि र प्रतिरोधी क्षमताका कारण मृत्युदर ज्यादै न्यून भएको हो ।’

सरकारले राम्रो तयारी गरेकै कारण संक्रमितको संख्या नियन्त्रित अवस्था रहेको र अहिले भारतबाट संक्रमित भएर आएकै कारण संक्रमितको संख्या बढेको उनले बताए । उनका अनुसार चैतमा १२ हजार ६५७, वैशाखमा ११ हजार ७४९ नागरिक भारतबाट आएका थिए । तर जेठमा २ लाख ४१ हजार ८६२ जना आए । भारतबाट आउनेहरूको फ्लो एकै पटक बढेकै कारण क्वारेन्टिन, स्वाब संकलन र परीक्षणमा केही समस्या देखिएको उनले बताए ।

यति ठूलो संख्यामा आएका मानिसहरूको विश्वको कुनै पनि देशले मापदण्डअनुसार क्वारेन्टिन गर्न नसक्ने उनको दाबी छ । व्यवस्थित क्वारेन्टिन स्थलहरू बनाउन मात्र पनि एक वर्ष लाग्न सक्ने भन्दै उनले भने, ‘भारतबाट थाम्न नसक्ने गरी मानिसहरू आए, तैपनि हामीले थाम्यौं ।’ समयमै लकडाउन गर्नुका साथै मास्क लगाउन, साबुन पानीले हात धुन नागरिकहरूलाई सिकाएको र अरू देशको तुलनामा नेपालमा राम्रो प्रवन्ध गरेको उनले बताए ।

हामीलाई अलमल्याइयो

प्रधानमन्त्री ओलीले विदेशमा भएका नागरिकको उद्धार भने जस्तो सजिलो नभएको बताए । यसरी ल्याउनेहरूमा कोरोना संक्रमण छ छैन परीक्षण गर्नुपर्ने भए पनि ओमनबाट ल्याउने क्रममा आफूहरूलाई अल्मल्याउने काम भएको उनले बताए । ‘डब्ल्यूएचओको मापदण्डअनुसार टेस्ट नगरी पठाउन पाइँदैन । तर टेस्ट नगरी ल्याइयो’ उनले भने, ‘यसमा अल्मल्याइयो वा अल्मल्लियौं ।’

जापान, बंगलादेश, अफगानिस्तानलगायतका देशबाट भने टेस्ट गरेर ल्याएको र यस्तो संख्या एक हजार ११७ पुगेको उनले सुनाए । ‘भन्न सजिलो छ तर यही एक हजार ११७ जनालाई क्वारेन्टिन गर्न पनि सजिलो छैन’ प्रधानमन्त्रीले भने ।

१० अर्ब खोइ ? तल पठाइयो

प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा खर्च भएको १० अर्बको हिसाब खोजेकोमा असन्तुष्टि जनाएका छन् । ‘उछाल्न सजिलो छ १० अर्ब कहाँ गयो भनेर’ उनले भने, ‘१० अर्ब तल पठाइयो । क्वारेन्टिन बनाएका छन्, यतिका मान्छेलाई खाना खुवाएका छन् । उनीहरूले पनि खानुपर्छ ।’

उनले अघि भनेका छन्, ‘जनप्रतिनिधिले पैसा खायो भन्न सजिलो छ । तर उनीहरूले लगाएको गुनको कदर गर्नुको साटो अपमान गर्नु वा यस्तो सन्देश पैदा गर्नु उपयुक्त हुन्न ।’

आन्तरिक लेखा परीक्षणका साथै महालेखा पनि हेर्ने भन्दै उनले एकएक हिसाब आउने बताए । तर ‘मबाहेक सबै भ्रष्ट छन्’, ‘सरकारमा बसेकाहरूलाई जसरी पनि बद्नाम गर्नुपर्छ’ भन्ने सोच नराख्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

इनफ इनफ भन्दै सडकमा भइरहेको प्रदर्शनबारे पनि आफू जानकार रहेको बताए । ‘कोभिड–१९ मोर देन इनफ । आउनै नहुने थियो, आयो । रोक्न पनि खोजेका हौं । तर हदभन्दा बढी भयो  । तर सरकारले त ल्याएको होइन नि’ उनले भने ।onlinekhabar

Related News

भारतलाई तहसनहस बनाएको कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएको पुष्टि
भारतलाई तहसनहस बनाएको कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएको पुष्टि
  • २०७७ असार ५

काठमाडौं- नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु...

८,२०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु
८,२०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु
  • २०७७ असार ५

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...

मंगलबार डोटीका थप ६८ जनामा कोरोना पुष्टि
मंगलबार डोटीका थप ६८ जनामा कोरोना पुष्टि
  • २०७७ असार ५

डोटी- मंगलबारको परीक्षणमा डोटीका थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा आरटिपिसिआर परीक्षण गर्दा ५१...

TOP