२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

रिपोर्ट नेगेटिभ आएपछि डोटीमा २ हजार जनालाई घर पठाइयो

डोटी: भारतबाट रोजगारी गरी जिल्ला फर्किएर यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेका कम्तीमा पनि १० हजार ४०० जनामध्ये दुई हजार जनामा गरिएको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ। आज आइतबारसम्म क्वारेन्टिनबाट घर पठाइएकामध्ये एक हजार ८०० पुरुष तथा २०० महिला रहेका छन्। उनीहरु सबैको आरडिटी तथा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए।

रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएकाहरु भारतबाट रोजगारी गरी आएका जिल्लाका दिपायल सिलगढी नगरपालिका तथा शिखर नगरपालिका र केआई सिंह, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी र आदर्श गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

उनले भने– ‘कोरोना रिपोर्ट नेगेटिभ आएपछि हामीले क्वारेन्टिन बसेका मान्छे घर पठाउन थालेका छौँ, पहिलो चरणमा दुई हजारभन्दा बढी गएका छन्, बाँकी अन्यको रिपोर्ट आएपछि पठाइनेछ।’ कोरोना रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टिन बसेका नागरिकलाई घर पठाउन थालिएसँगै जिल्लामा निर्माण गरिएका क्वारेन्टिन खाली हुन थालेका छन्। 

भारतबाट जिल्लामा आएका १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने एकजना कोरोना जितेर घर गएका छन्। जिल्लाका नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेका तर आरडिटी रिपोर्ट पोजेटिभ आएका २०५ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी कैलालीस्थित धनगढी प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले बताए।

उनले भने– ‘हामीले आरडिटी परीक्षण गर्ने क्रममा पोजेटिभ देखिएका व्यक्तिको पिसिआर परीक्षणका लागि धनगढी ल्याबमा पठाएका छौँ, रिपोर्ट आउन बाँकी रहेको छ।’ जिल्लामा पिसिआर परीक्षणको रिपोर्टमा पोजेटिभभन्दा नेगेटिभ आउनेको सङ्ख्या बढी भएको उनले जानकारी दिए। रासस

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ ३२

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP