२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

कोरोना फैलाउने भन्दै कुटिएका अहेबको टाउकोको हड्डी फुटेको छ :-ट्रमा सेन्टर

डोटी- गाउँको बाटो हिड्दा कोरोना संक्रमण फ‍ैलाएकाे भन्दै डोटीमा कुटिएका स्वास्थ्यकर्मीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। शिखर नगरपालिका-९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँरमाथि तीन जनाको समूहले आइतबार आक्रमण गरेकाे थियाे।

कुटिएका स्वास्थ्यकर्मी रमेश कुवँर

टाउकोमा गहिरो चोट लागेकाले डडेलधुरा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको थियो। ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालका अनुसार उनलाई आज बिहान अस्पतालमा पुर्याइएको थियो। अहिले उनको उपचार भइरहेको छ।

फ्रन्टल बोन डिप्रेस्ड फ्याक्चर भएको प्रवक्ता भेटवालले बताए। अहिले न्युरो स्पाइनको पाँचौं तलामा रहेको ५१८ नम्बर बेडमा उनको उपचार भइरहेको छ।

टाउकाको चोट भएकाले अस्पतालले एक लाखबराबरको सहुलियत कार्ड बनाइदिने प्रवक्ता भेटवालले बताए। उक्त रकम बेड शुल्क, औषधी र अप्रेसन नै गर्न परे त्यसमा खर्च गर्न सकिने उनले जानकारी दिए।

अप्रेसन गर्न पर्ने नपर्ने बारे सबै जाँच सकिएपछि भोलि मात्रै थाहा हुने उनले बताए। उनका अनुसार टाउकोको अगाडिपट्टिको हड्डी फुटेको छ।

शिखर नगरपालिका- ७ लाटामाडौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्यचौकी जाँदै गरेको अवस्थामा उनीमाथि आक्रमण भएको थियो।

आइतबार साँझ ७ बजे शिखर नगरपालिका-७ को बोगटा गाउँको बाटो हुँदै स्वास्थ्यचौकी जाँदै गरेको अवस्थामा स्वास्थ्यकर्मी हिँड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन जनाले गाली गर्दै एक्कासि ढुंगामुढा प्रहार गरेको खबर प्राप्त भएको डोटीका पत्रकार पवन महराले हेल्थपोस्टलाई जानकारी दिए।

आक्रमण गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा शिखर नगरपालिका-७ बोगटाका नवीन खत्री, रोशन खत्री र तेज लाेहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।#healthpostnepal.com

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २०

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP