२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

डोटीमा भारतबाट आएका २८७९ जना क्वारेण्टाइनमा : व्यवस्थापनमा समस्या

डोटी- जिल्लाका विभिन्न स्थानीय तहहरुमा दुई हजार आठ सय ७९ जनालाई क्वारेण्टाइनमा राखिएको छ । रोजगारीको सिलसिलमा भारतका विभिन्न ठाउँहरुमा कार्यरत मजदुरहरु गृह जिल्ला फर्केपछि उनिहरुलाई क्वारेण्टाइनमा राखिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जेठ ९ गतेदेखि मंगलबार (आज) सम्म भारतबाट आएका दुई हजार आठ सय ७९ जनालाई क्वारेण्टाइनमा राखिएको छ । भारतमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण व्यरोजगार बनेका समस्यामा परेका व्यक्तिहरु अझै आउनेक्रम जारी रहेको छ । सोमबारदेखि कञ्चनपुरको गड्डाचौकी नाकासमेत खुलेका कारण अझै हजारौंको संख्यामा जिल्ला भित्रिने प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।

भारतबाट घर फर्कनेको संख्या बढ्दै गएपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या हुने स्थानीय जनप्रतिनिधि बताउँछन् । जिल्लामा क्वारेन्टाइनको संख्या बढ्दै जाँदा सुरक्षाको समेत समस्या भइरहेको प्रहरीले जनाएको छ । मंगलबारसम्म जिल्लामा करिब ७५ वटा क्वारेन्टाइनमा भारतबाट फर्केकालाई राखिएको छ । जिल्लाका सामुदायक विद्यालयका भवनलाई सबै क्वारेन्टाइन बनाइएको छ ।

सबैभन्दा बढी शिखर नगरपालिकामा ६ सय ३३ जना भारतबाट घर फर्किएका छन् भने दिपायल सिलगढी नगरपालिकामा पाँच सय ६६ जना रहेका छन् । त्यसैगरी केआइसिंह गाउँपालिकामा पाँच सय १४ जना, आदर्श गाउँपालिकामा दुई सय ८५ जना, सायल गाउँपालिकामा दुई सय ५९ जना, बोगटान फुड्सिल गाउँपालिकामा दुई सय १४ जना भारतबाट घर फर्केका छन् ।

बडीकेदार गाउँपालिकामा दुई सय ४२ जना, जोरायल गाउँपालिकामा ६३ जना तथा पूर्वीचौकी गाउँपालिकामा एक सय ३ जना घर फर्किएका छन् । उनिहरु सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा सुरक्षा व्यवस्था कमजोर देखिएको छ । क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड अनुसार क्वारेन्टाइन स्थलमा स्वास्थ्य उपकरणसहित सुरक्षाकर्मीको अलग्गै टोलीको व्यवस्था गरिनुपर्ने भएपनि जिल्लामानै सुरक्षाकर्मी अभावका कारण एउटा क्वारेन्टाइनमा हतियारबिनाका एकजना मात्र प्रहरी खटिएको छ ।

जिल्लामा प्रहरीको जम्मा दरबन्दीको आधा मात्रै प्रहरी रहेकाले सबै क्वारेन्टाइनमा पर्याप्त संख्यामा खटाउन नसकेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कर्णबहादुर बोहराले भने, ’धेरै संख्यामा मान्छे रहेको कुनै क्वारेन्टाइनमा दुईजना प्रहरी खटाइएको छ भने अधिकांशमा एकजना मात्रै छन् ।’

क्वारेन्टाइनमा सुरक्षा व्यवस्था कमजोर भएका कारण क्वारेन्टाइनमा बसेका व्यक्तिका आफन्तको आवतजावत बाक्लो देखिन्छ । आफन्त आउने र नजिकैबाट भेटघाट गर्ने हुँदा क्वारेन्टाइनमा कोरोना जोखिम बढेको छ ।

क्वारेन्टाइन व्यवस्थित नहुँदा कतिपय व्यक्ति क्वारेन्टाइनमा बस्न नमानेको जनप्रतिनिधि बताउँछन्। क्वारेन्टाइनको सुरक्षा व्यवस्था कमजोर देखिएपछि जिल्लामा रहेका स्थानीय तहले क्वारेन्टाइनको सुरक्षार्थ स्थानीय स्वायंसेवक परिचालित गर्नुपर्ने निर्णय समेत गरेको छ ।

सोमबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले प्रत्येक पालिकाले पालिकास्तरिय स्वयंसेवक समूह गठन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । प्रजिअ पौडेलका अनुसार सडक पहुँच भएका क्वारेन्टाइनमा सशस्त्र प्रहरीको मोबाइल टोलीले गस्ती गरिरहेको छ ।

एकै पटक ठूलो संख्यामा गाउँ(गाउँमा भारतबाट आएका व्यक्ति देखेपछि स्थानीय त्रसित भएका छन्।उनीहरुबाट कोरोना भाइरस संक्रमण हुने डरले स्थानीय त्रसित बनेका हुन् । बस्ती नजिकैका सामुदायिक विद्यालयमा बनाइएका क्वारेन्टाइनबाटै कोरोना भाइरस फैलिने हो की भन्ने आशंका स्थानीयमा देखिन्छ ।

सीमा नाकामा चेकजाँच बिनानै जिल्ला पसेकाले डोटी कारोना भाइरसको उच्च जोखिममा रहेको स्थानीय बताउँछन् । भारतबाट हजारौको संख्यामा जिल्ला आएकाहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने माग उठिरहेका बेला जिल्लामा भने किट अभाव छ। अहिले जिल्लामा भिटिएम नरहेको र आरडीटी एक सय ९६ वटा मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आवश्यक किट माग गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन सूर्य बिष्टले जानकारी दिए। बिष्टले भने, ’हामीले प्रदेश सरकारसँग पाँच हजार आरडीटी र तीन हजार भिटिएम माग गरेका छौं, माग गरिएअनुसारको सामग्री आइपुग्यो भने परीक्षण सुरु हुन्छ ।’

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ १३

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP