२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कोरोना नियन्त्रण कोषमा राष्ट्रपति, प्रधानमन्त्रीले नै रकम जम्मा गरेनन्

सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति र संस्थाहरुबाट सहयोग दिनेक्रम बढिरहेको छ ।

तर, कोष खडा गरेकै दिन सहयोगका लागि प्रतिबद्धता जनाएका राष्ट्रप्रमुखदेखि सांसदहरुसम्मले भने कोषमा रकम जम्मा गरेका छैनन् ।

सरकारले यही चैत ९ गते कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक उपचार र उपकरण व्यवस्था गर्न कोष स्थापना गरेको थियो ।

उक्त कोषमा चैत १९ गतेसम्म २४ करोड ७३ लाख ७२ हजार ४६१ रुपैयाँ रकम जम्मा भएको छ ।

कोषमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ लाख २० हजार ४७४, नेपाली कांग्रेस केन्द्रीय कार्यालयले ५० लाख सहयोग गरेको छ भने नेपाल स्वास्थ्य व्यवसायी महासंघले पाँच लाख १० हजार सहयोग गरेको छ ।

यस्तै, एनसेलले १० करोड, भाटभटेनी सुपरमार्केटले एक करोड सहयोग गरेका छन् भने निर्माण व्यवसायी महासंघले एक करोड सहयोग गरेको छ ।

यसैगरी, ग्लोबल आइएमई बैंकले एक करोड १५ लाख, हिमालयन बैंकले एक करोड २५ लाख, कृषि विकास बैंकले एक करोड २५ लाख र राष्ट्रिय वाणिज्य बैंकले एक करोड ५० लाख सहयोग गरेका छन् भने नेपाल राष्ट्र बैंकका कर्मचरीले एक करोड चार लाख ८२ हजार २७० रुपैयाँ रकम जम्मा गरेका छन् ।

यस्तै, नेपाल राष्ट्रिय कासले दुई लाख एक हजार, ब्रिटिसि प्राइभेट लिमिटेडले पाँच लाख, एनइविएलले एक करोड रुपैयाँ कोषमा जम्मा गरेका छन् ।

यस्तै, शैक्षिक संस्थाहरुले पनि सहयोग गरेका छन् । एलआरआई स्कुलले एक लाख र हेटौंडा स्कुल अफ म्यानेजमेन्टले १० लाख सहयोग गरेका छन् ।

नर्भिक हस्पिटलले ५० लाख र राधा माधव समितिले नेपालले एक लाख सहयोग गरेका छन् ।

यस्तै, कोषमा कर्मचारी सञ्जय कोषले दुई करोड, नेपाल अद्योगिक महासंघले ५० लाख रकम जम्मा गरेको छ भने नागरिक उड्डयन प्राधिकरणले ५१ लाख सात हजार ११६ र भीमदत्त नगरपालिका, कञ्चनपुरले छ लाख ६५ हजार ७८ रुपैयाँ रकम जम्मा गरेको छ ।

यसैगरी, नारायणी स्ट्रीप्स प्रालि वीरगन्ज, पर्सा, श्रीकृष्ण स्टील इन्डष्ट्रीज प्रालि नारायणी रोलिङ मील पर्साले दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

छिमेक लघुवित्त संस्थाबाट पनि २५ लाख रुपैया सहयोग प्राप्त भएको छ ।

कोषमा व्यक्तिगत सहयोग ९ लाख रुपैयाँ जम्मा भएको छ भने नाम नखुलेका संस्था र एक लाखभन्दा कम रकम जम्मा गर्नेहरुबाट तीन करोड ६ लाख ६६ हजार ६१४ रुपैयाँ जम्मा भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब र उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब सहयोग गर्ने प्रतिबद्धता गरेपनि उनीहरुले रकम जम्मा गरेका छैनन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै सदस्यको पनि एक महिनाको तलब सहयोग गर्ने बताइएको थियो भने सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब र सांसदहरुलेसमेत १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका थिए । तर, उनीहरु कसैले पनि रकम जम्मा गरेका छैनन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सहयोग गर्ने भनेको पाँच लाख पनि जम्मा भइसकेको छैन ।

पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबारमात्रै हिमानी कोषमार्फत् दुई करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

कलाकारिता, खेलकुद र विभिन्न क्षेत्र तथा थुप्रै व्यक्तिहरुबाट पनि कोषमा सहयोग गर्ने घोषणा गरिएको छ । तर, रकम जम्मा भने हुन सकेको छैन । घोषणा गरिएका सहयोग रकम कहिलेसम्म प्राप्त हुन्छ भन्ने अन्योल नै छ ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७६ चैत्र १९

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP