२०७९ आश्विन १४, शुक्रबार
September 30, 2022, Friday

चर्चामा डोटीका गीतकार साउदको गीत : “के माया लाग्छ र ?”

प्रभाकर गौतम / सेतोपाटी

गीतकार हर्क साउद।

धेरैको रोजाइमा परेको गीतले भन्छ-

के माया लाग्छ र?

उख्खुमै लाग्छ नि।

मेरो याद आउँछ र?

हुरहुरी आउँछ नि… 

गायक निशान भट्टराई र एलिना चौहानको स्वरमा रहेको यो गीतले सार्वजनिक भएको दुई सातामै बीस लाख युट्युब भ्युज काटिसकेको छ। अंकितबाबु अधिकारीको संगीत र नवीन चौहानको निर्देशनमा बनेको भिडिओमा कलाकार मुकुन भुसाल र सुरबिना कार्कीको अभिनय देख्न पाइन्छ।

गीतको सबभन्दा रूचाइएको पाटो हो ‘उख्खुमै’ र ‘हुरहुरी’ जस्ता शब्द। यसका सर्जक हुन् गीतकार हर्क साउद। ‘सुन साइँली’ जस्तो गम्भीर र मर्मस्पर्शी गीतबाट स्थापित हर्कको यो गीत भने रमाइलो छ। 

गीतको सबभन्दा रूचाइएको पाटो हो ‘उख्खुमै’ र ‘हुरहुरी’ जस्ता शब्द। यसका सर्जक हुन् गीतकार हर्क साउद। ‘सुन साइँली’ जस्तो गम्भीर र मर्मस्पर्शी गीतबाट स्थापित हर्कको यो गीत भने रमाइलो छ। 

उनको मेसेन्जरमा अचेल यही गीतमा आधारित नयाँनयाँ टिकटक भिडिओ लिंक आइरहेका छन्। दिनमा दर्जनौं पटक ती भिडिओ पालैपालो आफ्नो फेसबुक ‘स्टोरिज’ मा सेयर गरिरहेका छन् उनी। यो उनको नयाँ दैनिकी बनेको छ।

‘सुन साइँली’ को सफलतापछि ठूला ब्यानरका फिल्ममा समेत गीत रेकर्ड गराउन सफल हर्क संख्यात्मक रूपमा कम गीत रेकर्ड गराउने गीतकार हुन्। तीन वर्षमा उनका करिब एक दर्जन गीत रेकर्ड भएका छन्।

उनका हालसम्म ‘प्रेमगीत-३’ को हात्ती ढुंगामा, ‘क्याप्टेन’को कर्ली कर्ली कपाल, ‘साइँली’ को नाच माया र प्याटप्याटे चप्पल, ‘कबड्डी कबड्डी कबड्डी’ को दुबो फुल्योबटौली लगायत गीत चर्चित छन्। तर ‘के माया लाग्छ र?’ को चर्चाले उनलाई विशेष खुसी दिएको छ।

‘पहिला पनि गीत हिट भएकै हुन्। रमाइलो लागेकै हो। तर यो गीत लकडाउनको एकोहोरो न्यास्रो मेट्ने गरी आयो,’ उनले सेतोपाटीसँग भने।

महामारीको संकट र अवरोधका कारण स्रोताले रमाइलो नयाँ नेपाली गीत सुन्न नपाएको धेरै भइसकेको थियो। ‘के माया लाग्छ र’ ले त्यो अभाव मेटेको उनले अनुभव गरेका छन्। निराशाजनक माहोलमा दर्शकस्रोताले गीत मन पराइदिँदा हर्क मनोवैज्ञानिक रूपमै सकारात्मक ऊर्जा पाएको बताउँछन्।

‘के माया लाग्छ र’ नवीन चौहाद्वारा निर्देशित यसअघिको चर्चित गीत ‘लुकी छिपी किन मायामा’ को ‘प्रिक्वेल’ हो। ‘लुकिछिपी’ को कथा जहाँबाट सुरू हुन्छ, त्योभन्दा अगाडिको कथा यसमा देखाइएको छ।

‘प्रिक्वेल भएकाले यो गीत लेख्दा अलि अगाडिको कथा बुन्नु पर्ने थियो। त्यसैले पुरानो समयलाई ख्याल राखेर शब्द लेखेको हुँ,’ हर्कले भने।

गीत लेख्ने उनको आफ्नै विधि छ, ‘सुरूमा कथा कल्पना गर्छु। सकेसम्म लोकबोलीमा भिजेका र प्रयोगमा नआएका नयाँनयाँ शब्द प्रयोग गर्न मन पर्छ।’

उनी गीत लेखेर दुई-चार दिनपछि फेरि हेर्छन्। चित्त नबुझे केही ठाउँ सम्पादन र पुनर्लेखन हुन्छ। केही गीतको कथा उनी आफैं कल्पिन्छन्, केहीको ‘कन्सेप्ट’ले उनलाई कल्पिन बाध्य बनाउँछ। ‘के माया लाग्छ’लाई उनी गीतले मागेको कन्सेप्ट भन्छन्। यसका लागि लोक सामाजिक चालचलन र रीतितिथिबारे नियमित अध्ययन पनि गर्ने उनले बताए।

आफ्नो रेस्टुरेन्टमा हर्क साउद। तस्बिरः प्रभाकर गौतम/सेतोपाटी

‘गीतका पात्रले बाँच्ने परिवेश र संस्कृति सुहाउँदो र जातविशेषमा प्रयोग हुने शब्दमा ध्यान दिन्छु,’ उनले भने।

हर्क ‘क्लिष्ट’ भन्दा लोकबोलीमा भिजेका शब्दप्रति आकर्षित हुनुमा उनको हुर्काइको भूमिका छ। ठेट र झर्रा शब्द प्रयोग गर्न मन पराउने हर्क लोकसंस्कृतिको खानी भन्न मिल्ने सुदूरपश्चिममा हुर्के-बढेका हुन्। उनको परिवार अछामबाट बसाइँ सरेर डोटी  आएका थिए। यसैले आफ्नो हुर्काइमा अछाम र डोटीको संस्कृति मिसिएको उनी बताउँछन्।

बाल्यकालमा सुनेका गीतका शब्द र भाका उनको मनमा गढेर बसेका थिए। ‘सुन साइँली’को बेलादेखि नै उनको शब्द शिल्पमा त्यसको छाप भेटिन्छ।

‘सानो छँदा गाउँमा सुनेका लय र शब्दमा अझै पनि गीत रेकर्ड भएका छैनन्। मलाई ती कुरा बाहिर आउनुपर्छ भन्ने थियो,’ उनले भने।

बाल्यकालमा रणपुतला, देउडा आदिमा रमाउने उनी संगीतभन्दा नाटकमा बढी सक्रिय थिए। गाउँघरका विद्यालय नाटक र सांस्कृतिक गतिविधिका केन्द्र हुन्थे। स्तरीय प्रतियोगिता होस् वा दसैं, उनी नाटकमा नछुट्ने पात्र। उनले निर्वाह गर्ने भूमिका हाँस्य कलाकारको हुन्थ्यो रे!

उनी सम्झिन्छन्, ‘घाँस-दाउरा गर्न जाँदा वा स्कुलमा नाटकको पात्रकै नामले बोलाउँथे। त्यति बेला लाज लाग्थ्यो। अहिले रमाइलो लाग्छ।’

उसो त उनलाई हर्क नाम पनि मनपर्थेन। 

‘हर्कमा एकार राखेर हर्के भन्ने भएकाले रिस उठ्थ्यो,’ हाँस्दै भन्छन्, ‘त्यसरी बोलाउनेलाई ढुंगाले हान्दिम् जस्तो लाग्थ्यो।’

त्यसैले ‘सुन साइँली’ को गीतकारमा कालीप्रसादसँगै जोडिएको हिमाल साउद र हर्क साउद एउटै व्यक्ति हुन्। तर यो नाममा झुक्किनेहरू आज पनि भेटिन्छन्। 

चाहेर पनि हर्कबाट हिमाल बन्न नपाएका उनी अचेल हर्क नामले चिढिन छोडिसकेका छन्।

सानैदेखि दर्शक हँसाउने उनको खुबी आज पनि ज्यूँकात्यूँ छ। साथीसंगीसँगका अनौपचारिक कुराकानीमा उनको यो व्यक्तित्व मुखर हुन्छ। तर जति नै रसिक भए पनि परिस्थितिले मान्छेलाई गम्भीर बनाउने उनको अनुभव छ।

‘अप्ठ्यारो परिस्थितिमा जति नै कुल हुन खोजे पनि गाह्रो हुने रहेछ। लकडाउनको पहिलो साता निकै गाह्रो भयो,’ उनले भने, ‘किताब पढेँ, फिल्म र ध्यान गरेर मन बहलाएँ।’

यसअघि भुइँचालो बेला पनि मानसिक र आर्थिक तनाव झेलेका थिए उनले। बालाजु बस्ने हर्कको बागबजारमा ‘आराधना रेस्टुरेन्ट’ छ। भुइँचालोका कारण झन्डै दुई महिना रेस्टुरेन्ट बन्द गर्नु परेको क्षण सम्झँदै उनी यो दुःख पनि टरेर जानेमा आशावादी छन्।

आफ्नो रेस्टुरेन्टमा हर्क साउद। तस्बिरः प्रभाकर गौतम/सेतोपाटी

‘आराधना रेस्टुरेन्ट’ विगत दस वर्षदेखि दैनिक १५ घन्टाभन्दा बढी समय बिताउने थलो हो उनको। शनिबार पनि यहीँ बिताउने उनका लागि यो व्यवसाय ‘प्यासन’ बनिसकेको छ। गीत रेकर्डिङको उनको यात्रा पनि आराधना रेस्टुरेन्टबाटै सुरू भएको हो।   

यसको आफ्नै पृष्ठभूमि छ।

२०५५ सालतिर उनी आफ्नो हठमा डोटीबाट काठमाडौं आएका थिए। क्याम्पस पढ्ने र लोकसेवामा नाम निकाल्ने दुई बुँदे एजेन्डा बोकेर।

पढ्दै काम गर्ने सिलसिलामा उनले केही रेस्टुरेन्टमा काम गरे, ‘सुरूमा भाँडा सफा गर्ने, सहयोगी हुँदै कुकको काम सिकेँ।’

सरस्वती क्याम्पसबाट प्रमाणपत्र तह र त्यसपछि त्रिचन्द्र क्याम्पस पढेका उनी दिउँसो डेढ बजेतिर कक्षा चलिरहेका बेला निस्केर कमलादीस्थित पान्डा रेस्टुरेन्ट पुग्थे।

त्यो चाइनिज रेस्टुरेन्टको अनुभव सुनाउँछन्, ‘गीत लेख्नुजस्तै भाँडा माझ्नु पनि कला रहेछ। त्यहाँ अनेक कलात्मक भाँडा थिए। हाँस, माछा, कछुवा आकारका भाँडा माझ्न सिक्न केही साता लागेको थियो।’

कुक तालिम लिएपछि उनी बिस्तारै यही काममा रत्तिन थाले र सँगै काम गर्ने साथीसँग मिलेर रेस्टुरेन्ट खोले। रेस्टुरेन्ट थाले पनि लोकसेवामा नाम निकाल्ने रहर बाँकी थियो। चार-पाँच पटक फेल भएपछि भने रहर त्यागेको उनी बताउँछन्।

लोकसेवाको रहर मेटिए पनि संगीतको रहर यही रेस्टेरेन्टबाट ब्युँतियो। बागबजारमा संगीत स्टुडियो भएका कालीप्रसाद बाँस्कोटा उनको रेस्टुरेन्ट आउँथे। हर्कका अनुसार एकअर्काको रूचि मिलेपछि कालीप्रसादले ‘सुन साइँली’को धुन सुनाएर शब्द लेख्न आग्रह गरे। हेमन्त रानाले स्वर दिएको ‘सुन साइँली’ ले खुबै चर्चा पाएपछि हर्कसँग गीत ‘माग्न’ यो रेस्टुरेन्टमा धाउने पनि धेरै भए।

आफ्ना छोरासँग गीतकार हर्क साउद। तस्बिर सौजन्यः हर्क साउद

तर पहिलेको तुलनामा उनको रेस्टुरेन्टमा ग्राहकको चाप कम भएको छ।

काठमाडौंमा सफलता पाउन कोही न कोही चाहिन्छ भन्ने सोच राख्ने हर्क आज पनि जीविकोपार्जनका लागि संघर्षरत छन्। यसका बावजुद संघर्षमय दुई दशकमा स्रोताको मन र जिब्रोमा झुन्डिने राम्रा गीत सिर्जना गरेर धेरै प्रशंसक कमाइसके।

घरभन्दा रेस्टुरेन्टमा धेरै समय बिताउने हर्क लकडाउनपछि नियमित रेस्टुरेन्ट आउन थालेको एक महिना हुन लाग्यो। तर मनले जा भने पनि, शरीरले नजा भनेजस्तो छ।

‘छोरा सात वर्ष पुग्न लाग्दा पनि यति लामो समय सँगै बिताउन पाएको थिइनँ। अचेल काममा आउँदा पनि छोरा मिस हुन्छ,’ उनी भन्छन्।

बिहान छोरा नउठ्दै घरबाट हिँड्ने, राति घर पुग्दा छोरा सुत्ने बेला भइसक्थ्यो। लकडाउनमा भने बाबुछोराले चाहेजति फुर्सद पाएका थिए।

अब फेरि बाबुछोराको भेट पातलिएको छ। तर जबजब भेट हुन्छ, सँगै गाउन थालिहाल्छन् रे–

के माया लाग्छ र?

उख्खुमै लाग्छ नि

मेरो याद आउँछ र?

हुरहुरी आउँछ नि…।

https://www.youtube.com/watch?v=3Miwh9gQgvE

Related News

शिखर नगरपालिकाले ११ वटै वडाहरूमा तीज विशेष कार्यक्रम सञ्चालन गर्ने
शिखर नगरपालिकाले ११ वटै वडाहरूमा तीज विशेष कार्यक्रम सञ्चालन गर्ने
  • २०७७ असार २६

दिपायल – शिखर नगरपालिकाका सबै वडाहरुमा तीज विशेष कार्यक्रम सञ्चालन...

TOP