२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट डोटीले पाउने छ प्रतिभावान “आइडल”

दिपायल – सामान्यतया महोत्सवले व्यापार, मेला, प्रदर्शनी र सांगीतिक कार्यक्रमलाई इङ्गित गर्दछ । त्यो सँगै पछिल्लो समय महोत्सवमा विचार विमर्श, विकास बहस जस्ता रचनात्मक क्रियाकलापहरु पनि हुने गर्दछन् ।

डोटीमा फागुन १ देखि १० गतेसम्म सञ्चालन हुने “डोटी महोत्सव”ले भने “डोटी आइडल” छनोट गर्ने भएको छ । डोटी उद्योग वाणिज्य संघले आयोजना गर्ने उक्त महोत्सवमा डोटीका १२ देखि ४० वर्ष उमेरका गायक/ गायिकाहरुको प्रतिस्पर्धाबाट एक जना आइडल छनोट गर्ने छ ।

विभिन्न कारणले अवसरबाट वञ्चित, गाउँठाउँमा थन्किएका प्रतिभाहरुलाई आइडल मार्फत उजागर गर्ने र सो खेत्रमा स्थापित गराउने उद्येश्यसहित महोत्सवको विशेष आकर्षणका रूपमा “डोटी आइडल” सञ्चालन गरिएको उद्योग वाणिज्य संघले जनाएको छ ।

आईतबार दिपयालमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव बारे जानकारी गराइएको थियो । दिपायलस्थित प्रस्तावित बसपार्क सेती बगरमा १० दिनसम्म महोत्सव संचालन हुने डोटी उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रम साउँदले बताए ।

डोटीको पहिचान, संस्कृति र सम्भावनालाई एउटै थलोमा उजागर गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिन लागिएको हो । महोत्सवका लागि संघका अध्यक्ष विक्रम साउँदको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। महोत्सवले डोटीको आर्थिक, सांस्कृतिक र पर्यटकीय सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

महोत्सव अवधिभर स्थानीय मौलिक नाच, गीत, वेशभूषा र संस्कृतिको प्रस्तुतिसँगै हस्तकला, जडीबुटी, खाद्य परिकार, स्थानीय उत्पादन, औद्योगिक तथा व्यापारिक प्रविधियुक्त सामग्रीको प्रदर्शनी समेत रहने जनाइएकाे छ।

महोत्सवमा प्रस्तुत गरिने धार्मिक तथा सांस्कृतिक झाँकी, खेलाडी र विद्यार्थीका खेल कौशल प्रदर्शन, मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, खेलकुद गतिविधि र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने आयोजकले जनाएको छ

महोत्सव सञ्चालनका लागि करिब ८५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। महोत्सवलाई एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०८२ माघ ५

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP