२०८१ बैशाख २०, बिहीबार
May 2, 2024, Thursday

एकहप्ते नेचर गाइड आधारभूत तालिम सुरु

जमुना निउरे, दिपायल – डोटीमा एकहप्ते नेचर गाइड आधारभूत तालिम सुरु भएको छ । खप्तडको प्रवेशद्वार झिंग्रानामा सुदूरपश्चिम प्रदेश स्तरीय आधारभूत तालिमको बुधबार उद्घाटन गरिएको हो ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीको आयोजना तथा डोटीको पूर्वीचौकि गाउँपालिका, सायल गाउँपालिका, बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कञ्चनपुर र खप्तड राष्ट्रिय निकुञ्जको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।

तालिममा सुदूपश्चिम प्रदेशका ३० जना नेचर गाइड हरुको सहभागिता रहेको छ । तालिम एक साता सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

तालिमले यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष योगेन्द्र ठकुल्लाले बताए । उनले तालिमपश्चात स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना हुनुका साथै स्थानीय उत्पादनले बजार  पाउने , पर्यापर्यटनको  विकास टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पर्यापर्यटनको विकास र प्रवर्द्धन गर्ने तालिमको मुख्य लक्ष रहेको छ। नेचर गाइडको तालिम प्राप्त व्यक्तिहरूले यो पेशामार्फत् सयौं स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिनेछन् भने स्वरोजगारको बाटो पनि खुल्ने छ । तालिमप्राप्त गाइडले पर्यटकहरुलाई नेपालको वन र यहाँ पाइने वन्यजन्तुको विषयमा पर्याप्त जानकारी दिन सक्ने छन् ।

तालिममा  पर्यटन स्थलहरुमा पर्यटकहरुलाई सहज र  सरल तरिकाले घुमाउने तरिका,  पर्यटकीय स्थलको पूर्णरुपमा जानकारी दिने अभ्यास , पर्यटकीय स्थलको विशेषता, वन्यजन्तु र चराचुरुंगीको बासस्थान, पर्यटन स्थलको धार्मिक तथा पर्यटकीय  इतिहास, पर्यटकहरूको चाहना र नेचर गाइडको भुमिका विषयमा तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
तालिमको सहजीकरण खप्तड राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत राजेश लम्साल, डिभिजन वन कार्यलय डोटीका प्रमुख गोकुल रिजाल , सुदूरपश्चिम प्रदेश पर्यटन इकाइ धनगढीका प्रमुख डबल बहादुर बोहराले गर्ने छन् ।

तालिमकोे अवधिमा पर्यटकको स्वाथीलाई मध्यनजर गर्दै नेचर गाइडलाई आधारभूत स्वास्थ्य तालिम पनि दिइने छ। आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि सुदूरपश्चिमलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरेको सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका इकाई प्रमुख डबल बहादुर बोहराले बताएका छन् ।

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०८० चैत्र २१

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP