२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

सहिद भीमदत्त पन्त र कृषि क्रान्ति 

 

नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रेणी व्यक्तित्व , कृषि क्रान्तिका महानायक एवम अमरवीर सहिद भीमदत्त पन्तको योगदानलाई हामीले कदापि विर्सनु हुदैन । डडेल्धुरा जिल्लाको कारीगाउँमा वि . सं . १९८२ मंसिर १० गते आमा सरस्वती पन्त र बुबा तारानाथ पन्तका सुपुत्र पन्तले २००७ सालको क्रान्तिमा महत्वपूर्ण योगदान दिए । नेपालमा प्रजातन्त्रको पादुर्भाव पछि किसान र कृषि क्षेत्रको परिवर्तनका खाँतिर उहाँको संघर्ष निरन्तर अगाडि बढी नै रह्यो ।

आफू पनि गरिव भएका कारण गरिव र गरिबीप्रति उहाँ संवेदनशील हुनुहुन्थ्यो । सामाजिक असमानता , छुवाछुत , आर्थिक तथा सामाजिक असमानता नहटाई नेपालको विकास सम्भव छैन भन्ने कुरामा उहाँ सचेत हुनुहुन्थ्यो ।

भारतको उत्तर प्रदेश स्थित सिंहाईबाट संस्कृत विषयबाट हाइस्कुल पास गरेका पन्तमा श्रीमद्भागवत गीताको ठूलो प्रभाव रहेको पाइन्छ । निष्काम कर्मले जीवन अगाडि नबढ्ने कुरामा उहाँ दृढ हुनुहुन्थ्यो ।

समाजिक रुपान्तरणको महायज्ञमा होमिएका कारण घरको अवस्था बिग्रन थाल्यो । उहाँकी धर्मपत्नी पारवती पन्तको काँधमा पारिवारिक जिम्मेवारी र दुइटा छोराको भरण पोषणको जिम्मा पनि थियो ।

” हुने हार दैव नटार ” भने झै दुवै छोराहरुको कलिलै उमेरमा उपचार नपाएका कारण मृत्युु हुन पुग्यो । तर यी र यस्तै असंख्य पारिवारिक समस्यालाई तिलान्जली दिदै उहाँले नेपालको किसान क्रान्तिलाई विश्राम भने दिनु भएन ।

” कि त जोत हलो , कि त जोत थलो

यदि हैन भने अब छैन भलो ”

समाजका ठालु सामन्तहरुले जमिन कब्जा गरि गरिव र दलितहरुलाई दास बनाई राखेको कुरा उहाँलाई पटक्कै मन परेन । उहाँहरुका तमसुकहरु च्यात्ने , रिण मोचन गर्ने उब्जनी हुने जमिन उपलब्ध गराउने , नुनतेल , लत्ताकपडा निशुल्क उपलब्ध गराउने जस्ता क्रान्तिकारी कदमबाट शासक , प्रशासक र ठालु सामन्तहरु अत्तालिएर उहाँलाई झुट्टा मुद्दा लगाउने जस्ता षडयन्त्रका तुनाबुना रच्न थाले । यस्ता महान नेता पन्तलाई वि . सं . २०१० साउन १७ गते डोटी स्थित बुडरको गैलेक भन्ने ठाउँमा मगरको घरमा खाना खाँदै गर्दा गोली हानी हत्या गरियो । यसरी नेपाली आमाका महान सपूत पन्तको हत्याबाट उहाँले चलाएको सामाजिक क्रान्ती पूरा हुन सकेन । उहाँका जागरण गीत अहिले पनि ग्रामीण भेगका जनताको जिब्रोमा झुण्डिएको पाइन्छ ।

 

“उठ जागरे

नेपाली नवजवान जागरे ”

“बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो

गरिवका दिन आया , ठालुको काल आयो ।”

उहाँको वीरगति सँगै नेपालको कृषि क्रान्ति र किसान क्रान्ति सफलतामा पुग्न सकिराखेको छैन यसप्रती आम किसान दाजुभाई सचेत हुन जरुरी छ ।

के किसानी दुखीहरुको पेशा नै हो ? आज यो एउटा विचारणीय कुरा छ । कृषिप्रधान देशमा यो सम्मानित पेशा बन्न नसक्नु र नेतृत्वमा बसेकाहरुले यो पेसा गर्ने माथिको दृष्टिकोण नबदलेसम्म कृषि क्षेत्र सुरक्षित बन्न सक्दैन ।

हाम्रो धार्मिक ग्रन्थमा उल्लेख कि ” कृषि मूलश्च जीवनम ” अर्थात जीवनको मूल आधार कृषि हो । यो क्षेत्र सुरक्षित हुनु पर्दछ र बनाइनु पर्दछ । के धनि के गरिव खाना त सबैलाई चाहिने कुरा हो । नेपालमा करिव तीन करोड जनसंख्या हुँदै गर्दा हाम्रो खाद्य सुरक्षाको अवस्था कस्तो छ ? जनसंख्या बढ्दै गर्दा खाद्यान्नको क्षेत्रमा हामी के कति संवेदनशील र जिम्मेवार छौँ भन्ने कुराको गहन अध्ययन हुनु पर्दछ ।

भूमिको न्यायोचित वितरण , भूमी सुधार , जग्गा हतबन्दी , उब्जाउ जमिनको सुरक्षा तथा बाँझो जमिनको बारे समयमा नै सचेत नहुने हो भने अफ्रिकन मुलुकहरुले भोग्दै गरेको भोकमरी हामी कहाँ नहोला भन्न सकिदैन । नेपालको कृषि क्षेत्रमा रातो बत्ती बलिरहेको कुराप्रती सम्बन्धित क्षेत्रको गम्भित ध्यान आक्रषण हुन पर्दछ ।

जय कृषि !

 

देवेन्द्र दत्त भट्ट 

मेलौली -७ काँणा , बैतडी

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८२ श्रावण १७

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP