२०८१ आश्विन २४, बिहीबार
October 10, 2024, Thursday

किन सरकारी जागिर छोड्दै छन् छोरीहरू ?

विमला राई पौड्याल – केही हप्ताअघि काठमाडौंको एउटा होटलमा कृषिसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशालामा भाग लिँदै गर्दा ३०–३२ वर्षकी सरकारी कर्मचारी महिलाको दह्रो उपस्थितिले गौरवान्वित भएँ । बाटो मिल्ने भएपछि उनकै गाडीमा सँगै घर फर्किने मौका पनि मिल्यो । त्यसक्रममा मैले उनको अब्बलताको प्रशंसा गरें । काम र भविष्यको योजनाबारे जानकारी लिएँ ।

जब मैले ‘अब कृषि सचिव बन्नुपर्छ’ भनें, उनले मलिन अनुहारमा भनिन्, ‘म त जागिर छोड्ने विचारमा छु, दुई वर्षदेखि नै सरुवा थमाउन कोसिस गरेको, सकिनँ । अब नछोडी उपाय छैन ।’ जागिर छोड्ने कारण थियो, उनको दुई वर्षको बच्चा । कार्यालयले उनको सरुवा गरेका कारण उनले बच्चा लिएरै नयाँ ठाउँमा जानुपर्ने वा बच्चा हुर्काउनकै लागि जागिर छोड्नुपर्ने भयो । कम्तीमा बच्चा पाँच वर्षको हुञ्जेल उपत्यकाबाहिर सरुवा नगरिदिन उनले हाकिमलाई अनुरोध गरेकी पनि हुन्, तर मिलेन । बच्चा घरमै छाडेर जानसमेत तयार भएकी हुन् । तर, परिवारमा वृद्ध सासूससुराले बच्चा हुर्काउन नसक्ने र श्रीमान्को पनि जागिरका कारण नमिल्ने । अन्ततः उनी स्वयं नै जागिर छोड्ने मनस्थितिमा पुगेकी रहिछन् ।

अर्को उदाहरण, काठमाडौंमै जन्मिएर यतै हुर्किएकी र पढाइमा पनि निकै अब्बल एउटी छोरीले नेपालमै डाक्टरी पढ्ने र नेपालीको सेवा गर्ने निर्णय गरिन् । अध्ययन पूरा गरेर सरकारी डाक्टर पनि बनिन् । विवाहअगाडि र डाक्टरसँगै विवाह गरेपश्चात् पनि आमा नबनुन्जेल दुर्गम र कम सुविधा भएका जिल्ला अस्पतालहरूमा काम गरिन् । नेपालको स्वास्थ्य सेवाका चुनौती र सुधारका उपायबारे उनका कुरा सुन्दा लाग्छ, सानै उमेरमा यिनले लिएको ठूलो अनुभव नेपालको स्वास्थ्य सेवा रूपान्तरणका लागि महत्त्वपूर्ण छ ।

तर पहिलो बच्चा जन्मिएपछि ‘बुबाआमा दुवै सरकारी डाक्टर भएकाले बच्चाको लालनपालनका लागि पहिलो ४–५ वर्ष सँगै बसेर काम गर्न पाए सहज हुने थियो, सरुवा हुनै परे एउटै जिल्लामा भए ड्युटी मिलाउँदै बच्चा हुर्काउँदै काम गर्न पाउँथें’ भन्ने उनको र उनका श्रीमान्को हारगुहार स्वास्थ्य मन्त्रालयले सुनेन । श्रीमान् सरकारी छात्रवृत्तिमा पढेकाले दुई वर्ष जहाँ खटायो, त्यहीँ जानुपर्ने हुन्थ्यो । उनी मधेश जानुपर्‍यो । भर्खर जन्मिएको नानी हुर्काउने पूर्ण जिम्मेवारी र उपत्यकाको व्यस्त सरकारी अस्पतालमा बिरामीको सेवा उनै डाक्टर छोरीको काँधमा पर्‍यो । पहिलोपल्ट आमा बनेकी ती छोरीले श्रीमान्सँग जिम्मेवारी बाँड्न पाइनन् ।

अस्पतालको चर्को ड्युटीका बीच उनका बुबाआमाले बच्चाको जिम्मेवारीमा भरथेग गरिदिए । जसकारण उनले काठमाडौंको जागिर छोड्नुपरेन । चार वर्षपछि, उनी दोस्रो पटक गर्भवती भइन् । सातौं महिनामा स्वास्थ्य अवस्थाको कारण ड्युटीको समय केही मिलान गराइदिन उनले गरेको प्रस्तावलाई पुरुष हाकिमले खिसीमात्रै गरेनन्, ड्युटी झन् कडा बनाइदिए । बच्चा जन्मिनुअगाडि नै रक्तश्राव भएर झन्डैझन्डै दुर्घटना भयो । पछि बेडरेस्टमा २ महिना रहेर बच्चा जन्मियो । अब उनी भन्छिन्, ‘पुग्यो, म अब नेपालमा जागिर खान्नँ । यहाँ काम गर्ने ठाउँमा न मानव संवेदना छ, न सिकेको र बुझेको कुरा सुनाउन अनि स्वास्थ्य सेवामा सुधार गर्न हामीलाई कुनै मौका छ ।’

केही महिनाअगाडि एउटा अन्तर्राष्ट्रिय संस्थाले नेपाली संस्थासँगको सहकार्यमा युवा प्रोफेसनल महिलाहरूको लिडरसिप विकास गर्ने भनेर मेन्टरिङको कार्यक्रम राखेछ । मैले पनि सरकारी कर्मचारी र कलेजमा अध्यापन गरिरहेकी उपप्राध्यापक गरी दुई युवा महिलाहरूलाई छ महिनाको मेन्टरिङ (अन्तरक्रिया गरेर विषयगत ज्ञान, सीप र नेटवर्कको हस्तान्तरण) गर्ने जिम्मेवारी लिएँ । अन्तरक्रियाबाट थाहा भयो, महिलाको नेतृत्व विकासका सीपभन्दा जरुरी त उनीहरूलाई काम र जीवन व्यवस्थापन (वर्क लाइफ ब्यालेन्स) गर्ने वातावरण, आँट, हिम्मत र सीपको जरुरी रहेछ । घरमा बच्चा हुर्काउने आमाको जिम्मेवारी, पढेलेखेकी छोरी र बुहारीको जिम्मेवारी, अनि कार्यालयको जिम्मेवारीसँगै व्यक्तिगत र प्रोफेसनल विकास कसरी सम्भव बनाउने ?

कहिले हाकिमहरूको ‘यी महिलाहरू यस्तै हुन्, महिला समानताको कुरा गर्ने, जिम्मेवारी लिन पन्छिने’ जस्ता कर्कस ध्वनि, पुरुष सहकर्मीको होच्याउने नजर अनि कहिले घरमा ‘जागिरे आमाको बच्चा त अभागी हुन् है, यिनले आमाको माया नै पाउँदैनन्’ भनेर परिवार र आफन्तजनको मन छेड्ने बचन, बच्चा हुर्काइ र घरको काममा पतिको शून्य साझेदारी, यस्तो अवस्था कसरी व्यवस्थापन गर्ने ? जर्नलमा लेख्न, नयाँ कुराहरू पढ्न, सिक्न मन लाग्छ, तर कार्यालय र घर, कतै मौका नै पाइँदैन, कसो गर्ने ? यिनै र यस्तै कुरा, आँसु र रुन्चे हाँसोको आदानप्रदानमा ६ महिनाको मेन्टरिङ बित्यो ।

उनीहरूसँगको मेरो अनुभव साटासाट, कहिले र कसरी आत्मग्लानिबाट टाढा रहने, आफूले आफैंमाथि अन्याय नगर्ने, अरूले गरेको अन्याय नसहने र असजिलो अवस्थामा घर र कार्यालय दुवैमा आफ्नो अप्ठेरो खुलस्त राख्ने, खिसी र नकारात्मक टिप्पणीको खुलेर प्रतिकार गर्ने जस्ता टिप्सहरू कति काम लागे, लागेनन्, थाहा छैन । तर प्रस्ट थियो, महिलालाई लैंगिक भूमिका र लैंगिक भूमिकाप्रति असंवेदनशील परिवार र कार्यस्थलले काम र जीवनबीचको सन्तुलन मिलाउन निकै गाह्रो पर्छ । यो कठिन समय पार गर्ने महिलाहरू प्रोफेसनल रूपमा परसम्मको उच्च तहको यात्रा पार गर्छन्, केहीले गरेका पनि छन्, तर कठिन समय पार गर्न नसक्नेहरू कि हार मानेर क्यारियर छोड्छन, कि उमेर छँदै मानसिक तनाव र जीवनशैलीसँग सम्बन्धित थाइराइड, मधुमेह, मुटुरोग, ब्लड प्रेसरलगायतको सिकार बन्छन् ।

संविधान बनेपछिको यो एकदशकमा विभिन्न सेवा क्षेत्रबाट सरकारी जागिर (निजामती सेवा) मा प्रवेश गर्ने महिलाहरूको उपस्थिति बढेको छ । निजामती क्षेत्रमा महिलाहरूको बढ्दो र दरिलो उपस्थिति कृषि, वन, वातावरण, शिक्षकदेखि डाक्टर, इन्जिनियर्स, कानुनविद्, लेखापरीक्षक, प्रशासक, कूटनीतिज्ञ, सञ्चार, सुरक्षा, वायुसेवालगायत सबै क्षेत्रमा देख्न सकिन्छ । उपस्थिति मात्रै हैन, अब्बल काम गरेर निजामतीको सबैभन्दा माथिल्लो पद मुख्यसचिव र मन्त्रालयमा सबैभन्दा माथिल्लो तह सचिव, सहसचिवमा महिलाहरू पुगेका छन् ।

केही समय परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मैले कूटनीति क्षेत्र (जहाँ केही समयअघिसम्म पुरुषको मात्रै वर्चस्व थियो) का महिला कर्मचारीसँग नजिकबाट काम गर्ने मौका पाएँ । त्यो छोटो अवधिमा पनि मैले कामप्रतिको लगाव, समयको पालना, जिम्मेवारी र जवाफदेहिताको कसीमा महिला कर्मचारी निकै अगाडि रहेको कुरा नजिकबाट महसुस गरेकी हुँ । सेवाग्राही वा प्रोफेसनल दुवै रूपमा विभिन्न क्षेत्र र तहका महिला कर्मचारीसँगको अन्तरक्रियाले पनि मलाई यही सुखद पाटो इंगित गरेको हो ।

तर माथिका सन्दर्भहरूले ‘दाँतमा ढुंगा लागेको’ जस्तो अनुभूति हुन्छ । उल्लेखित छोरीहरू त प्रतिनिधि पात्र मात्रै हुन् । भर्खर आमा बनेका कैयौं छोरीहरूलाई सरकारी जागिर ‘खानु न छोड्नु’ भएको छ । एकातर्फ लैंगिक भूमिका र बालबालिका जन्माउने, हुर्काउने र असल नागरिक बनाउने जिम्मेवारी, अर्कोतर्फ कामप्रतिको लगाव, जिम्मेवारी र जवाफदेहिता, राष्ट्र विकासमा योगदान पुर्‍याउने हुटहुटी । समग्रमा काम र जीवनको सन्तुलन मिलाउन कामकाजी महिलाहरूलाई निकै गाह्रो भएको छ । तीन महिनाको सुत्केरी बिदाले आमा र बच्चा दुवैको स्याहार पुग्दैन । त्यसपछिका दिनमा सन्तुलन मिलाउन नसक्दा उनीहरूमा निराशा र तनावबाट सिर्जित रोगहरूको प्रकोप पनि बढ्दै गएको छ ।

बच्चा जन्माउने तथा स्तनपान गराउने भनेर प्रकृतिले महिलालाई दिएको भूमिका निभाएका पनि छन् । तर जन्मिएको बच्चालाई स्याहार सम्भार गर्न बाबु र परिवारका अन्य सदस्यको पनि साझेदारी चाहिन्छ । त्यस्तै कामकाजी आमाका बच्चा आमाबाबु दुवैको छत्रछायामा हुर्कन पाउने वातावरण बनाइदिने र पछि एक अब्बल, सभ्य र सुसंस्कृत नागरिक बनाउन लगानी गर्ने जिम्मेवारी राज्यको हो । महिलाले जन्माएका तिनै सन्तानमाथि त परिवार र राज्यको भविष्य जोडिएको हुन्छ । अझ आफू कार्यालयमा रहँदा वा फिल्डमा जाँदा आउँदा आफ्नो बच्चा सुरक्षित छ, बाबुको वा परिवारको काखमा छ भन्ने सोचले मात्रै पनि महिलाको कार्यक्षमता र प्रभावकारिता बढ्छ भन्ने तथ्य अनुसन्धान र अनुभवले नै देखाएको छ ।

लैंगिक भूमिकाप्रति संवेदनशीलताको कमीका कारण निजामती मात्रै हैन, अन्य औपचारिक, अनौपचारिक, निजी, गैरसरकारी सबै क्षेत्रमा काम गर्ने महिलाहरूले पीडा भोगेका छन् । शिक्षा र सीपमा पहुँच बढेसँगै महिलाहरूको उपस्थिति नभएको क्षेत्र अब कुनै रहेन । तर लैंगिक भूमिका, विशेषतः प्रजनन भूमिका र घरायसी कामको जिम्मेवारीमा परिवारभित्र साझेदारी नहुँदा र कार्यक्षेत्रमा महिलाको विशेष आवश्यकताप्रति संवेदनशीलता नहुँदा कति महिलाहरूलाई आर्थिक स्वतन्त्रता र आत्मसम्मानको विषय हुँदाहुँदै पनि बीचैमा ‘क्यारियर’ छोड्नुपर्ने वा मानसिक उत्पीडन सहनुपर्ने बाध्यता देखिन्छ । यो अवस्था सुधार गर्ने पहिलो जिम्मेवारी राज्यकै हो । त्यसैले कामकाजी महिलाको प्रजनन भूमिका र बालबालिका हुर्काउने जिम्मेवारीसम्बन्धी राज्यका कानुन र कार्यशैली परिवर्तन गर्नैपर्छ । कार्यस्थलको संरचना, नेतृत्व र समकक्षीहरूको सोच र व्यवहार आफैं लैंगिक भूमिकाप्रति उत्तरदायी बन्दा मात्रै राज्यका अन्य निकायलाई नियमन गर्न सकिन्छ ।

सुधार गर्नुपर्ने थुप्रै तह छन् । तर सुरुवातचाहिँ कानुनबाटै गर्नुपर्छ । महिला र बालबालिकाको मानव सुरक्षाको प्रत्याभ्तूि, आमाबाबुको संरक्षणमा हुर्कन पाउने बालबालिकाको मौलिक हक अनि महिलाको रोजगारीको हक जस्ता संविधानका प्रावधानहरू कार्यान्वयन गर्न पनि यो सुधार जरुरी छ । म सम्झन्छु, कर्मचारी समायोजनको नाममा एउटै कार्यालयमा काम गर्ने पति–पत्नीमध्ये पतिलाई सुदूरपश्चिम र तीन महिनाकी सुत्केरी पत्नीलाई कोशी प्रदेशको पहाडी जिल्लामा खटाइदिएपछि र जति हारगुहार गरे पनि सँगै जागिर मिलाउन नसकेपछि ‘जागिर खानु न छोडनु’ भएको विवरण एक महिलाले म सांसद रहँदा लामो चिट्ठीमार्फत जानकारी दिएकी थिइन् । उनको अनुरोध थियो, निजामती सेवासम्बन्धी विधेयकमा यस्ता कुराको कानुनी रूपमै समाधान खोजियोस् । सरकारले लैजाँदै र ल्याउँदै गरेको यो विधेयक अहिले पनि

संसद्मा विचाराधीन छ । विधेयकमा भर्ना प्रक्रिया र बढुवा आदिमा संवैधानिक प्रावधानअनुसार महिलाका लागि आरक्षण प्रावधानबाहेक कहींकतै लैंगिक भूमिका, प्रजनन भूमिका र दायित्वप्रतिको संवेदनशीलता देखिँदैन । लाग्छ, महिला र पुरुषका आवश्यकता, जिम्मेवारी सबै समान छन्, समान काम गर्छन्, समान सेवा पाउँछन् । समानता, समावेशिता र सामाजिक न्यायका आधारमा बनेको संविधान कार्यान्वयन भएको झन्डै दशक बितिसक्दा पनि निजामती कर्मचारीसम्बन्धी कानुनले लैंगिक भूमिकाबाट सिर्जित महिलाका विशेष आवश्यकता नचिन्ने, अनि कहींकतै पनि महिलाको प्रजनन र लैंगिक भूमिकाप्रतिको संवेदनशीलता नदेखिने अवस्थाले राम्रो संकेत गर्दैन ।

दृष्टिकोण र सोचका साथसाथै कानुनको पनि सुरुवात गर्नुपर्छ । नियुक्ति, सरुवा, बिदा, कामकाजी आमाहरूलाई कार्यालयमा आउने, जाने समयमा लचकता (फ्लेक्जिबल वर्किङ आवर) अपनाउने, प्रजनन स्वास्थ्यलगायतका महिलाका विशेष आवश्यकता पूरा गर्ने, कार्यस्थल, कार्यशैली, व्यवहारमा सुधार गर्ने र कार्यस्थलमा हुने हिंसा सम्बोधन गर्ने, कार्यादेश र कार्यसम्पादन भूमिकालाई लैंगिक संवेदनशील बनाउनेलगायत लैंगिक न्याय सुनिश्चित गर्न विधेयकमा छुट्टै परिच्छेद आवश्यक देखिन्छ । हुन त लैंगिक संवेदनशील र उत्तरदायी नेतृत्व भएमा यी व्यावहारिक कुराहरू निर्णय गर्ने तहको कर्मचारीले आफैं निर्णय लिन सक्ने विषय हुन् । तर महिला वा पुरुष जो हाकिम भए पनि कानुनले निश्चित प्रावधान नबनाएसम्म हाम्रो नेतृत्व लैंगिक भूमिका र सम्बन्धप्रति संवेदनशील हुने रहेनछ । कानुन बनाउने जिम्मेवार निकाय, विधायकहरू यो विषयमा संवेदनशील हुनैपर्छ, नत्र छोरीहरू निजामती सेवामा टिकिरहन सक्दैनन् । जसोतसो टिकिरहे पनि कामको प्रभावकारिता हुँदैन ।

अर्को विडम्बना पनि छ । संसद् वा बाहिर, महिलामैत्री र संरक्षणमुखी कानुनी प्रावधानको कुरा गर्‍यो कि ‘कतै कानुनको दुरुपयोग हुने हो कि ?’ भन्ने प्रश्न तेर्साइन्छ । जब गर्भवती महिला कर्मचारीले स्वयं मेरो स्वास्थ्यावस्थाका कारण कठिनाइ भएको छ भन्छन्, त्यतिबेला उल्टै सजाय दिने नेतृत्वले बुझ्नुपर्छ– गर्भावस्था र सुत्केरी अवस्थामा सबै महिलाहरूको शारीरिक, मानसिक अवस्था र जटिलता समान हुँदैन । आफ्नो अवस्थाबारे जानकार स्वयं महिला नै हुन्, अरू हुन सक्दैनन् ।

अनि युवा पुरुष कर्मचारीले पनि गर्भावस्था वा सुत्केरी अवस्थाकी श्रीमती वा बच्चालाई सहयोग गर्छु भन्दा प्रोत्साहित गर्नुको सट्टा हप्काउनेहरूले पनि बुझ्नुपर्छ– युवा पुरुषहरू परिवर्तनका संवाहक हुन्, लैंगिक भूमिकाप्रतिको चासो र साझेदारीले समानता स्थापित गर्न मद्दत पुग्छ । यिनलाई पुरस्कृत गर्ने हो, लखेट्ने हैन । अहिलेका पुस्ता आफ्नो काम र पेसाप्रति जिम्मेवार छन्, लगाव राख्छन्, ढाँट्दैनन् । तर, जुन दिन लगाव घट्छ, विश्वास घट्छ र हेपिएको महसुस हुन्छ, चुपचाप बस्दैनन् । सके प्रतिकार गर्छन्, नसके बाहिरिन्छन् र विकल्प खोज्छन् । मैले सुरुवातमा उल्लेख गरेका सन्दर्भमध्ये एकले देश नै छोड्ने र अर्कोले सरकारी जागिर छोड्ने निर्णय गरे । अरूले यस्तो निर्णय लिनु नपरोस् । यति धेरै युवाहरू देशभित्रै पढाइ र रोजगारीको अवसर भएर पनि बिदेसिँदै गएको देख्दा हाम्रो चेत खुलेको देखिँदैन । नयाँ जोस, जाँगर, इमान र विश्वास लिएर निजामती सेवा प्रवेश गरेका महिला कर्मचारीलाई चिन्ता, आत्मग्लानि, विभेदरहित निर्भीक वातावरणमा काम गर्ने अवसर दिऔं । अनि पो यिनको अपनत्व बढ्छ र निजामती सेवा पनि प्रभावकारी हुन्छ ।

– पौड्याल राष्ट्रिय सभाकी पूर्वसदस्य हुन् ।

सांभारः कान्तिपुर दैनिक

Related News

कैलाश मानसरोवर : परिक्रमा कष्टपूर्ण, एजेन्सी गैरजिम्मेवार
कैलाश मानसरोवर : परिक्रमा कष्टपूर्ण, एजेन्सी गैरजिम्मेवार
  • २०८१ आश्विन ८

– मधु लम्साल हिन्दु धार्मिक ग्रन्थ अर्थात् चर्चित पुराण ‘श्रीस्वस्थानी’...

TOP