२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

तिमीलाई पाँच प्रश्न…..

हिक्मत शाही

हिक्मत शाही

प्रश्नै प्रश्नको पुलिन्दा बोकेर
आफैसंग अनुत्तरित एउटा प्रश्न झैं
घरि आश्चर्यचकित हुँदै
घरि थकित हुँदै
मलाई तिमीसंग प्रश्न गर्न मन लाग्छ-
सुस्ता उत्तर तिर सरे झैं
सगरमाथा नाम्चेमा झर्‍यो भने ,
तिम्रो राष्ट्रियताको
के अर्थ हुन्छ हँ ?

कुनै समय थियो-
पश्चिमको काँगडा तिम्रै
पूर्वको टिष्टा तिम्रै
अचेल हेर त ?
पूर्वमा काँकडभिट्टा अनि
पश्चिममा टिङ्करभञ्याङ् सुरक्षित छैनन् ।
पशुपतिनगर पश्चिममा सरे झैं
यारीभन्ज्याङ् तिब्बतमा सर्यो भने-
तिम्रो सार्वभौमिकताको
के अर्थ हुन्छ हँ ??

कोसी – गण्डकीको बाँध देख्दा
शारदा ब्यारेजमा फेरिएको नयाँ साँध देख्दा
तिम्रो मन किन दुख्दैन हँ ?
लिम्पियाधुरा खोसियो
लिपुलेक रहेन ,
हिजो नालापानी खोसियो
आज कालापानी रहेन ,
कुनै दिन –
दशगजा खुम्चिंदै गएर
जङ्गेपिलर संधैका लागि ढल्यो भने
तिम्रो स्वाभिमानको
के अर्थ हुन्छ हँ ???

हरेक दिन :
सिमाना मेटिँदैछ
साँध मेटिँदैछ
तिम्रो आत्मगौरवको साख मेटिँदैछ ,
कुनै दिन
राष्ट्र विहीन राष्ट्रियता बोकेर
इतिहासको एउटा कालो कुनामा
अनागरिक भएर बाँच्नुपर्यो भने
तिम्रो आत्मसम्मानक‍ो
के अर्थ हुन्छ हँ ????

गर्जने डमरुको सन्तान
रक्षान चाट्ने कुकुर भयौ
झम्टने चिलको सन्तान
लाचार ढुकुर भयौ ,
कैजरको कलेजो कँपाउने
वीर पूर्खाका सन्तान तिमी
आफ्नै छाँया देख्दा तर्सने
डरपोक कायर भयौ ।
इतिहासको बहादुरलाई
वर्तमानले काएर भन्यो भने
तिम्रो विरताको
के अर्थ हुन्छ हँ ????

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ बैशाख २७

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP