हिक्मत शाही

देश किन बनेन ? देशको बिकास र समुन्नतीले किन गति लिन सकेन ? गरिबी निवारण किन हुन सकेन ? बेरोजगारी समस्या किन समाधान हुन सकेन ? राजनीतिक स्थिरता किन कायम हुन सकेन ? भ्रष्टाचार , ढिलासुस्ति , नीतिगत भ्रष्टाचार , सामाजिक अकर्मण्यता अनि अराजकता किन राष्ट्रिय संस्कार बन्दै गैरहेको
यी अनि यस्तै तमाम प्रश्नहरूको उत्तरको खोजी गर्दै जाँदा यसको जरो समाज ( जनताहरु ) सङ्ग गाँसिएको छ । समाजको मूल चरित्रको प्रतिबिम्ब त्यसका हरेक उप-ब्यवस्थाहरू मा स्पष्ट रूपमा देखिने गर्छ । नेपालको उत्तरो-उत्तर अवन्नति र पतनको जर पनि नेपाली समाजको मूल चरित्र नै हो । समाज नेपाली हुनुपर्ने अनि नेता नेदरल्यान्डको जस्तो , न्यायाधीश नर्वेको जस्तो , पुलिस पोल्याण्डको जस्तो , ईन्जिनियर अमेरिकाको जस्तो , डाक्टर इटालीको जस्तो , शिक्षक स्वीजरल्याण्डको जस्तो अनि पत्रकार बेलायतको जस्तो भैदिनुपर्ने । यो कस्तो बौलठ्ठीपूर्ण चाहना हो ? यस्तो चाहना राख्ने नैतिक आधार नेपाली समाजसँग छँदैछैन । समाज जस्तो हुन्छ त्यसका सह व्यवस्थाहरु पनि त्यस्तै हुन्छन् ।
नेपाली समाजको मनोविज्ञान यति निरिह रूढ अनि जडसुत्रवादी छ कि – यो न परिवर्तित छ अनि न त स्वनिर्देशित नै । विवेकलाई बन्धक बनाएर जता हावाचल्यो त्यतै पात हल्लियो शैलीको चरित्र बोक्ने नेपाली समाजको मनोविज्ञानले समाज परिवर्तन हुनै सक्दैन । सभ्य समाजमा बसोबास गर्ने विवेकी मानिसहरु न अावेगमा बहकिन्छ न त उत्तेजनामा नै । तर हामी नेपाली अझै पनि मध्ययुगिन गुलाम अनि दास मनोविज्ञान लिएर बाँचिरहेका छौं । फलस्वरूप , हामी विवेकलाई बन्धक बनाएर भावनामा बहकिरहेका छौँ। कान नछामिकनैं कागका पछि दौडने हाम्रो मूल प्रवृत्तिले समाजलाई उत्तरो उत्तर प्रगति तर्फ होइन कि अवनतिको गहिरो खाडल तर्फ धकेलिरहेको छ । यसैको प्रतिफल हो : देशमा जतिसुकै शासनशत्ता फेरिए पनि शासकको कार्यशैलीमा सिन्को फरक नअाएको । शासक जतिसुकै नालायक भएपनि हामी आफ्नो निहित स्वार्थका लागि त्यसको देवत्वकरण गरेर त्यसलाई झनै पतित बनाउन पुग्छौ । अनावश्यक रुपमा जनताबाट पुलपुलिएको गलत नेतृत्व सुध्रिनुको सट्टा झनै पथभ्रष्ट बन्नपुग्छ ।
बिश्वब्यापिकरणको प्रभाबलाई झिकेर कसैले नेपालले गरेको प्रगतिलाई औलामा गनेर देखाअोस् अनि मेरो चित्त बुझिने छ । अझै पनि समुन्नति र विकास हाम्रालागि मृगतृष्णा बन्नपुगेको छ । कृषि , उद्योग , व्यापार , पर्यटन लगायत सबै किसिमका आर्थिक क्रियाकलापको अवस्था अत्यन्त नाजुक मात्र हैन दर्दनाक छ । हामी आत्मनिर्भरताको मार्गतर्फ बढिरहेको होइन कि झनझन परनिर्भर बनिरहेका छौँ । छिमेकीहरुले थोरै असजिलो गर्ने बित्तिकै हाम्रो चुलो बल्न बन्द हुन्छ । व्यापारघाटाले सीमा नाघेको छ । निर्यात नगण्य छ भने आयातले हाम्रो समग्र गर्जो धानिरहेको छ । देशभित्र रहेका सबै किसिमका सम्भावनाहरुलाई कुन्ठित पारेर हामी दैनिक हजारौं वेरोजगार युवाहरुलाई निकृष्ट श्रमकालागि बिदेशमा निर्यात गरिरहेका छौँ । तिनैले पठाएको रेमिट्यान्सको भरमा देशले धेरैथोरै गर्जो टारिरहेको छ । देशको समग्र अवस्था लथालिङ्ग घरको भताभुङ्ग चाला भनेजस्तो भा छ । आधा शताब्दि नपुग्दै आधा दर्जन भन्दा धेरै संबिधानहरु बन्नु र वर्ष दिन भित्रै अर्को सरकार फेरिइसक्नुलाई कसैले समाज परिवर्तन अनि रूपान्तरणको प्रमाण सम्झिन्छ भने मेरो भन्नु केहि छैन ।
नेपाली समाज असंख्ङय अराजकताहरू को सिंगो पहाड जस्तो लाग्छ मलाई । जता हेर्यो उतै अराजकता अनि बेथिति मात्र देखिन्छ । सडक देखि सदनसम्म अराजकताको चाङ लागेको छ । राज्यका सबै अङ्गहरु सर्वाङ्ग अनि छताछुल्ल भएका छन् । यहाँ प्रश्न गर्ने अधिकार सबैलाई छ तर जवाफ कसैले नदिए पनि हुन्छ । अधिकारका लागि जीवनभर लेघ्रो तान्नेहरु कर्तव्यको नाममा सिन्को सम्म भाँच्दैनन् यहाँ । राज्यका सबै अङ्गहरु जिम्मेवार बन्न सर्वप्रथम नागरिक जिम्मेवार बन्न सक्नुपर्छ । अराजक सामाजिक सङरचना भित्र रामराज्यको खोजी गर्नु पागल पन मात्र हो ।
हाम्रो समाजको मनोविज्ञान यति काल्पनिक र भ्रमपूर्ण छ कि यसले अमुर्त र अवास्तिक कुरालाई पनि धूर्वसत्य ठान्ठ । सर्प र डोरीलाई एउटै ठान्ने दृष्टिभ्रम नहटे सम्म नेपाली समाजको रुपान्तरण सम्भव नै छैन । निधारमा सिर्केचानन लगाएर शरीरमा खरानी घस्नेहरु जति सबै साधु हुन्छन् भन्ने हाम्रो जुन आम मनोविज्ञान छ त्यो नै त्रुटिपूर्ण छ । साधुको भेष धारण गरेका पाखण्डीलाई हामीले न हिजो चिन्न सक्यौ न त आज नै । हामीहरुले आँखा चिम्म गरेर हरेक किसिमका पाखण्डको भक्तिभाव मात्र गरिरह्यौ । साधु र चोरलाई एउटै तुलोमा जोख्दा त्यसको परिणाम के निस्कन्छ ? जता हेर्यो त्यतै अराजकता अनि ब्रम्हलुट छ । शत्ता अनि शक्तिको अाडमा जसले जस्तो सुकै अपराध गरेपनि कसैले प्रश्न गर्ने हिम्मत गर्न सक्दैन । स्वयम अाफै अराजकताको दलदलमा फसेका अदालत , अक्तियार , पुलिस अनि आम सञ्चार समेत अपराधका फट्के साछि बन्नपुगेका छन् । बिग्रिएको सिस्टमलाई ट्र्याकमा ल्याउने अन्तिम तागत अनि ल्यागत जनतासँग मात्रै हुन्छ । तर नेपालमा त्यो पनि सम्भव छैन किनभने नेपालमा जनता नै छैनन् भन्दा पनि हुन्छ । कुनै न कुनै रुपमा सम्पूर्ण नेपाली जनताहरु राजनीतिक दलका अघोषित स्थायी कार्यकर्ता जस्ता बनेका छन् ।
राजनीतिक प्रदुषणले दीर्घरोगी बनेको नेपाली समाजको प्रतिरोधात्मक क्षेमता लगभग समाप्त भैसक्यो भन्दा पनि हुन्छ ।
राजनीति देशको मूल नीति हो ! त्यसलाई चाहेर पनि नकार्न सकिदैन तर प्रदूषित राजनीतिलाई फिल्टर गर्ने ल्यागत नराख्ने जनताहरु भएमा राजनीति यति हाबि भैदिन्छ कि जहाँ राजनीतिज्ञ मालिक जस्तो र जनताहरू दास जस्ता लाग्छन् । नेपाली समाजको सबैभन्दा ठूलो बिडम्बना पनि यहि नै हो ।
यहाँ हरेक मानिसको आँखामा राजनीतिक आस्थाको कालो पट्टी बाँधिएको छ । आफ्नो आस्था एक मात्र सत्य र त्यसको सीमा भन्दा परका हरेक कुराहरू गलत र भ्रामक देख्न थालेको छ नेपाली समाजले । एक जना वामपन्थी दार्शनिकले धर्मलाई किन अफिम भने उनै जानुन तर म भन्छु नेपाली समाजका लागि राजनीति कोकिन अनि हिरोइन भन्दा पनि घातक बनेको छ । यसले नेपाली जनताको बिबेक र तठस्थतालाई प्यारालाइज गरिदिएको छ ।
नेपालमा स्वतन्त्र नागिक र पेसाकर्मी छैनन् भन्दा पनि हुन्छ । हरेक नागरिक र पेसाकर्मीहरू राजनीतिक दलका अघोषित कार्यकर्ता जस्ता लाग्ने गर्छन् । एक प्रकारले भन्नेहो भने राजनीति भन्दा पर तठष्थ भएर बाँच्ने जोखिम मोल्न कोहि तयार छैनन् यहाँ । नेपालमा स्वतन्त्र तथा तठस्थ भएर बाँच्नु लगभग अनागरिक भएर बाँच्नु जस्तै बनिसक्यो । आफ्नो योग्यता , दक्षता , इमानदारीता अनि लगनलाई मानिसले आफ्नो उन्नती प्रगतिको आधार मान्न छोडिसके भन्दा पनि हुन्छ । कुनै राजनीतिक आस्थाको पाइजामाको फेर नपक्रिए सम्म यहाँ न वृति सम्भव छ न त बिकास नै । त्यसैले यहाँ स्वतन्त्र नागरिक र पेसाकर्मी भएर बाच्ने रिस्क मोल्न कोहि तयार छैनन् । पछिल्लो समयमा नेपाली समाजमा राजनीति जोखिम बिनाको फाइदाको ब्यापार बन्न पुगेको छ । त्यसैले हरेक लालायीत छन् यसको अभिच्छिन्न हिस्सा बन्न ।
बिश्वबिद्यालयहरू राजनीतिक कार्यकर्ता उत्पादन गर्ने प्रशिक्षण केन्द्र जस्ता बनेका छन् । अन्य पेसाकर्मीको त के कुरा भो र राज्यको चौथो अङ्ग भनिने पत्रकार समेत तठस्ठता र निष्पक्षता जस्ता आफ्ना पेसागत धर्मसंग पाप गरेर राजनीतिक आस्था र बिचारका आधारमा कलम चलाउँछन् । विद्यार्थी भर्ना अभियानका बेला कानमा तेल हालेर सुत्ने शिक्षकहरू चुनावमा नेता भन्दा झनै उत्ताउला भएर घरदैलो गरिरहेको भेटिनु पनि यसैको परिणति हो । यहाँ राजनीतिक अतिबादको कालो छायाँ भन्दा पर बस्ने दुस्साहास कसैलै गर्नै सक्दैन ।
राजनीति आतङ्क बनेको छ ।
नेपाली समाज बिभिन्न सामाजिक अराजकताले भरिएको छ र राजनीतिबाट ठगिएको छ । तर पनि तै चुप मै चुपको अवस्थामा छन् सबै । अन्ध आस्थाले बिभाजित र स्खलित मनोदशा भएको समाजको अवस्था यस्तै हुन्छ । राजनीतिक दलको एकै आवहानमा बन्द हड्तालका लागि हजारौको संख्यामा सडकमा ओर्लने नेपाली जनता राजनीतिक अराजकता , प्रशासनिक ढिलासुस्ति , भ्रष्टाचार लगायतका बिषयमा संगठित भएर सडकमा ओर्लिएको मेरो सम्झनामा छैन ।
राजनीतिक दलका नेताहरू अमुर्त र काल्पनिक कुरा गर्छन् । जनतालाई बिश्वास लाग्छ । ब्यवस्था परिवर्त , संविधान निर्माण र शत्ता प्राप्तीलाई मात्र नेपाली राजनीतिले आफ्नो साधन , साध्य र एक मात्र लक्ष बनाएको देखिन्छ । सुशासन , पूर्वाधार निर्माण र आर्थिक बिकास चुनावताका भाषण गर्ने र ताली खाने बिषय मात्र भएको देखिन्छ । शुशासन अनि बिकास गफ र भाषणमा होइन सुचकहरू मा देखिनुपर्छ । सुचकहरू नकारात्म मात्र हैन सार्है निरासाजनक छन् ।
गलत नेतालाई नसिहत दिन नसक्ने जनता भए राजनीति बिग्रन्छ । राजनीति बिग्रिए सबै थोक बिग्रन्छ । नेपालमा भएको पनि यहि हो । अब ब्यवस्था परिवर्तन गरेका , संबिधान निर्माण गरेका अनि जनतालाई अधिकार सम्पन्न बनाएका कुराले मात्रै पुग्दैन । सामाजिक परिवर्तनको असर आर्थिक जीवनमा पनि देखिनु पर्छ । पूर्वाधार निर्माण गर्न र जनताको क्रयशक्ति बढाउन राज्यले के गरेको छ खै ? ठूला ठूला कुरा गर्ने तर देशको अर्थतन्त्रलाई रेमिटेन्सले धानिदिनु पर्ने । यो भन्दा ठूलो राष्ट्रिय लज्जा के हुनसक्छ । हाम्रो बिग्रिएको बाटो , टुटेको पुल अनि भत्किएको बिद्यालय बिदेशी दाताले आएर मर्मत गरिदिनु पर्ने तर हामी एउटा संबिधान निर्माण गरेको लगभग एकदशक सम्म त्यसकै उत्सब मा भुल्ने र फेरि अर्को दशक नलाग्दै अर्को संबिधान निर्माणको तयारी थाल्छौ । कागजको घोडा बनाउनमै हाम्रा सात दशक बिते । त्यसको प्राण प्रतिष्ठा कहिले हुने हो केहि अत्तोपत्तो छैन ।
धुर्मुस सुन्तली , अनुराधा , पुष्पा , उत्तम अनि रबीहरू ब्यक्तिगत पहलमा त्यति धेरै गर्न सक्छन् भने राज्यका गर्ने हात कसले बाँधेको छ र ? नेपालको राज्य कोष नेता नाम गरेका फुलटाइमर बेरोजगारहरुकालागि ब्रम्हलुट गर्ने निजी कोष साबित बनेको छ । नत्र भए गिरानचोक र मुसहर बस्तिहरू एउटा व्यक्तिको प्रयासमा रातारात पुनर्निर्माण हुनसक्छ भने ढलेको धरहरा र गजुर भाँचिएको कृष्ण मन्दिरको पुनर्निर्माण किन हुन सक्दैन ? सम्पदाहरू खण्डहर र बस्तिहरू बगर बनेको वर्षौ भयो । खै कहाँ छ राज्य शत्ता ?
बिबेकको स्वतन्त्र ढङ्गले प्रयोग गर्न नसक्ने र बिभिन्न खोक्रा राजनीति सिद्दान्त अनि बादहरूले अन्धो अनि बिभक्त बनेको नेपाली समाजको परिणति हो यो । यहाँ नेताबन्न देश र जनता प्रति जवाफदेहि बन्नु पर्दैन । आश्वासन दिए मात्रै पुग्छ । आश्वासन खाने , आश्वासन पचाउने र आश्वासनकै बाक्लो सिरक भित्र चीर निद्रामा निदाउने बानि परिसकैको छ नेपाली जनतालाई ।
अस्तु !!!!!
देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी नेपालका...