२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

सुदूरपश्चिम : संक्रमण तीब्र, परीक्षण सुस्त

कैलाली । सुदूरपश्चिम प्रदेशमा चैत मसान्तसम्म तीव्र गतिमा कोरोना संक्रमण बढेको थियो । चैत २२ गतेसम्म नेपालमा ९ जना संक्रमित भेटिएका थिए । तीमध्ये ४ जना संक्रमित सुदूरपश्चिमकै थिए । बैशाख १ गते कैलालीमा थप एक जनामा संक्रमण देखियो ।

चैत मसान्तसम्म तीव्र रुपमा बढेको संक्रमण त्यसपछि एक महिना बढी समय शून्य जस्तै भयो । फेरि पछिल्लो एक महिनामा भने सुदूरपश्चिममा कोरोना संक्रमणको दर तीव्र बनेको छ ।

शनिबारसम्म प्रदेशका ९४८ जना कोरोना संक्रमण पुष्टि भइसकेको छ । कैलालीमा २२९, डडेल्धुरामा १७१, बैतडीमा १४०, डोटीमा १३३, कंचनपुरमा ९६, अछाममा ७६, बाजुरामा ७०, बझाङमा २१ र दार्चुलामा १२ जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रदेशमा मृत्यु भएका ५ जनामा समेत कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये बाजुराकी ३ वर्षीया बलिका र कैलाली गोदावरीका ४६ वर्षीय पुरुषको कोरोना संक्रमण बाटै मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मृत्यु पछि संक्रमण पुष्टि भएका धनगढीकी ५५ वर्षीया महिलामा मिर्गौलासम्बन्धी समस्या र लम्कीचुहाकी ४३ वर्षीया महिलामा टाउकोको समस्या रहेको स्वास्थ निर्देशक गुणराज अवस्थीले बताए ।

एक साता पहिलो बाजुरामा आत्महत्या गरेका ५५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको थियो ।

परीक्षण सुस्त

बिगतमा एक जना मात्रै संक्रमित देखिएको कैलालीको घोडाघोडी नगरपालिकामा शक्रबार एकैदिन २० जना संक्रमित फेला परे । उनीहरु सबै १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए ।

पीसीआर रिपोर्ट आउनुभन्दा पहिले नै घर पुगेकाहरुबाट समुदायमा पनि त्रास फैलिएको छ । ती २० जनाले कैलालीको घोडाघोडीमा १० दिन पहिले क्वारिन्टन व्यवस्थापन नभएको भन्दै आन्दोलन गरेका थिए । त्यो बेला उनीहरु थप केहीको सम्पर्कमा आएको बुझिएको छ ।

यो त एउटा उदाहरण मात्रै हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा पीसीआर परीक्षणमा ढिलाइ हुँदा थुप्रै व्यक्तिहरु घर फर्किएका छन् । तीमध्ये केहीमा संक्रमण पुष्टि भइसकेको छ ।

सुदूरपश्चिममा शनिबार मात्रै एक सय ६३ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको एक मात्र पीसीआर ल्याबमा परीक्षण सम्भव नभएपछि स्वाबका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ती नमुनामध्ये ९२ जनामा संक्रमण पुष्टि भयो । शनिबार नै धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ६९ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको थियो ।

शनिबार एकै दिन कैलालीमा २७ जना, डडेल्धुरामा ३९ जना, बैतडीमा २० जना र सबैभन्दा धेरै डोटीमा ७२ जना संक्रमित थपिएका छन् । सुदूरपश्चिमका जिल्लामा तीव्र गतिमा संक्रमित बढिरहे पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन ।

कुनै ट्राभल हिष्ट्री नभएकाहरुमा समेत संक्रमण देखिन थालेको छ । त्यसमा पनि संक्रमित वा मृतकसँग सम्पर्कमा आएकाहरु सबैको परीक्षण हुन सकेको छैन ।

शनिबारसम्म सुदूरपश्चिम प्रदेशमा १५ हजार ९६८ जनाको स्वाब संकलन गरिए पनि १० हजार ४७३ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । तीमध्ये ९४८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले ५ हजार ४९५ जनाको थ्रोट स्वाव परीक्षण गर्न बाँकी रहेको बताए ।

सुदूरपश्चिम प्रदेशमा पीसीआर परीक्षणको दायरा साँघुरो हुँदा पनि अझै कति संक्रमित छन् भन्नेबारे एकिन विवरण आउन नसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘यहाँ एउटा मात्रै उकरण छ । जहाँ दैनिक २५० जनाको मात्रै परीक्षण हुन्छ,’ स्वास्थ्य निर्देशक डा। गुणराज अवस्थीले भने, ‘त्यति थोरैको स्वाब परीक्षण गरेर प्रदेश भरिका संक्रमित पत्ता लगाउन कठिन छ ।’

कतै सिल ,कतै बन्दाबन्दी

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासन र स्थानीय तहहरुले कतै जिल्ला नै सिल गर्ने र कतै लकडाउनलाई थप कडाइ गर्न थालेका छन् ।कैलालीपछि सबैभन्दा धेरै संक्रमित भेटिएको डडेल्धुरामा जिल्ला नै सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी संक्रमण फैलन सक्ने गतिविधि हुन नदिन जिल्ला नै सिल गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लाभरि हिँड्डुल गर्न सवारी साधन चलाउन बन्द गरेका छौँ ।’

डडेल्धुरामा शुक्रबार एकै दिन ८३ जना र शनिबार ३९ जनामा संक्रमण देखिएको थियो । ‘ठूलो संख्यामा संक्रमण देखिएपछि यसले ठूलो संकट सृजना गर्न सक्छ भनेर सुरक्षा समितिले जिल्ला सिल गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘अर्को सूचना नआउँदासम्म अब यो निर्णय लागू हुन्छ ।’

यता कैलालीमा पनि गोदावरी नगरपालिकाभित्रका बजार पनि पूर्ण रुपले बन्द गरिएको छ । गोदावरी नगरपालिकास्थित अत्तरियाकै ४६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएपछि उक्त क्षेत्र जोखिममा परेको हो ।

कोरोना संक्रमणबाटै मृत्यु भएका पुरुषकी ४१ वर्षीया श्रीमती, १६ र २१ वर्षका छोराहरुमा पनि कोरोना संक्रमण पृष्टि भएको छ । एउटै परिवारका ४ जनामा संक्रमण भएको र एक जनाको मृत्यु भइसकेको अवस्थामा गोदावरी नगरपालिकाले पूर्णरुपमा लकडाउन पालना गर्न भन्दै सूचना जारी गरेको छ ।

शनिबार बिहानैदेखि नगरक्षेत्रमा अतिआवश्यक सेवाबाहेक अन्य सबै बन्द छन् । हाल नगरपालिकामा १ जनाको मृत्यु भइसकेको छ भने १ जना जनप्रतिनिधि सहित ८ जना संक्रमित फेला परेका छन् ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले नगर क्षेत्रमा संक्रमण बढ्दै गएका कारण केही दिनका लागि बजार व्यवसाय बन्द गर्ने समझदारी भएको बताए ।‘यहाँ संक्रमण फैलन सक्ने देखिएपछि व्यापारीहरु पनि बजार बन्द गर्न सहमत भएका हुन्,’ उनले भने, ‘अवस्था सामान्य नहुँदासम्म र नगरपालिकाले अर्को सूचना जारी नगर्दासम्म अब बजार, व्यवसाय खुल्दैन ।’sudurpatra

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ असार ७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP