२०८१ बैशाख २५, मंगलवार
May 7, 2024, Tuesday

डोटीका १७ वर्षीय सुनिल अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुन बंगलादेश जाँदै


दिपायल – डोटीका सुनिल बोहरा अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुन बंगलादेश जाने भएका छन् । जिल्लाको शिखर नगरपालिका – ११ तल्लीसातका १७ वर्षीय सुनिल बंगलादेशमा आयोजना हुने अन्तराष्ट्रिय अन्डर – १९ भलिबल प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन बंगलादेश जाने भएका हुन् ।

बोहरालाई शिखर नगरपालिकाले सम्मान र शुभकामनासहित विदाई गरेको छ । नगर प्रमुख दीर्घ बहादुर बलायरले शुक्रबार नगरपालिकामा एक कार्यक्रमका बीच शुभकामना प्रकट गर्दै सम्मान गरेका हुन् । खेलाडी बोहरा नेपालका तर्फबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन बंगलादेश जाँदै गर्दा उनको आत्मसम्मान र उच्च मनोबल बढाउन सम्मान सहित विदाई गरिएको नगर प्रमुख बलायरले बताए । खेलाडी बोहराको खेलले नेपाल र नगरलाई चिनाउन मदत गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख बलायरले शिखर सरकार क्षमतावान खेलाडीहरूलाई सधैं सहयोग गर्न तयार रहेको बताए ।

नगरपालिकाले खेलाडी बोहरालाई पकेट खर्च वाफत आर्थिक सहयोग पनि गरेको छ भने अन्य बेला आवश्यक थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बोहरासँगै सुदूरपश्चिमबाट बझाङका सुरेश मल्ल पनि सो प्रतियोगितामा भाग लिन बंगलादेश जाने छन् ।
बंगलादेशमा अप्रिल २४ देखि ३० सम्म १९ वर्ष मुनिका खेलाडीहरूको अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुन लागेको छ । सो प्रतियोगितामा सहभागी हुन सुदूरपश्चिमका बोहरा र मल्लसँगै नेपालका १२ जना खेलाडीको टीम बंगलादेश जाने तयारीमा रहेको भलिबल कोच जनक खड्काले बताए ।  खड्का पनि कोचका रूपमा खेलाडीसँग बंगलादेश जानेछन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको सहयोगमा नेपालको टीम सो प्रतियोगितामा सहभागी हुने छ। प्रतियोगिताका लागि कोचहरुले देशभरबाट १९ वर्ष मुनिका उत्कृस्ट खेलाडीहरू छनोट गरेको हो । जसमा नेपाल पुलिस क्लबको पनि सहयोग रहेको छ ।

नगरपालिकाले गरेको सहयोग, सम्मानले आत्मबल बढेको बताउँदै खेलाडी बोहराले प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्ने अठोट लिएको बताए ।


Related News

बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भिमदत्त राजमार्ग अवरुद्ध
बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भिमदत्त राजमार्ग अवरुद्ध
  • २०८० चैत्र ३०

दिपायल – भिमदत्त पन्त राजमार्ग अन्तर्गत गैरा सडक खण्ड अवरुद्ध...

TOP