२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

हत्या गरी फरार दुईजना १६ वर्षपछि पक्राउ

बझाङ – हत्या अभियोगमा अदालतबाट कैद सजाय पाएका दुईजना घटना भएको १६ वर्षपछि पक्राउ परेका छन्। जयपृथ्वी नगरपालिका-७ ज्याडाका मीनबहादुर भण्डारीको हत्या गरी फरार भएका ४० वर्षीय वीरेन्द्र राना र ३३ वर्षीया रामदेवी रानालाई जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको हो।

नेपाल भारतको सीमानाका गड्डाचौकी हुँदै नेपाल आउँदै गरेको सूचनाका आधारमा उनीहरूलाई कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बझाङको समन्वय तथा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो र स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई शनिवार पक्राउ गरिएको विष्टले बताए।

पुनरावेदन अदालत डोटीले २०६६ असार ८ गते रामदेवी रानालाई तीन वर्ष र सर्वोच्च अदालतको २०६९ वैशाख २२ गते वीरेन्द्र रानालाई २० वर्ष कैद सजाय सुनाएको थियो। फैसलापछि उनीहरु दुवैजना फरार रहेका थिए।

वीरेन्द्र राना, प्रकाश राना, मंगल राना, रामदेवी राना र हिरादेवी रानाले घरेलु हतियार बञ्चरो र हँसिया प्रयोग गरी भण्डारीको हत्या गरेका थिए। हत्यामा संलग्न प्रकाश यसअघि नै धनगढीबाट पक्राउ परिसकेका छन्। शनिवार पक्राउ परेका दुवैजनालाई अदालतको अनुमति लिई कारागार पठाइएको छ। वीरेन्द्रलाई बझाङ कारागारमा राखिएको छ। त्यहाँ महिला बन्दी राख्ने व्यवस्था नभएका कारण रामदेवीलाई डडेल्धुरा कारागारमा पठाइएको डिएसपी विष्टले बताएका छन् । ।

Related News

नयाँ सरकार गठनको बाटो खुल्यो, राष्ट्रपति कानुनी परामर्शमा
नयाँ सरकार गठनको बाटो खुल्यो, राष्ट्रपति कानुनी परामर्शमा
  • २०७८ फाल्गुन १६

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको...

TOP