२०८१ बैशाख २०, बिहीबार
May 2, 2024, Thursday

वामपन्थी प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम

धर्मेन्द्र झा

जबजब राजनतिकरुपमा अन्तर्राष्ट्रिय परिवेशमा ऐतिहासिक दृष्टान्त दिने कुरा आउँछ, तबतब भन्ने गरिन्छ, रोम जलिरहँदा त्यहाँका राजा नीरो बाँसुरी बजाइरहेका थिए । यो कति सत्य हो वा होइन त्यसका लागि प्रमाणसहित थप छलफल गर्नु आवश्क हुन्छ तर राजनीतिमा गैरजिम्मेबारीपनको प्रवृत्तिको उदाहरण दिनुपर्दा र चर्चा गर्दा यो उदाहरण दिने गरिन्छ । नेपालको राजनीति पनि यदाकदा यस्तै प्रवृत्तिका कारण चर्चामा आउने गर्दछ । पछिल्लोपटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष र नेपालका सरकार प्रमुख केपी शर्मा ओली यस्तै एक प्रवृत्तिका पात्र बन्न पुगेका छन् ।

देशमात्र होइन सम्पूर्ण विश्व नै कोभिड– १९ (कोरोना भाइरस) को महामारीबाट आक्रान्त छ । नेपालमा पनि यसको दूष्प्रभाव परेको कसैबाट लुकेको छैन । आर्थिक अवस्था धरमरमा परेको छ । रोजगारीको समस्या उत्कर्षमा पुगेको छ । विदेशमा भएका नेपाली स्वदेश फिर्ता हुन सकेका छैनन् । कहाँसम्म भने काठमाडौमा विभिन्नथरि रोजगारी र मजदूरीका क्रममा रहेका थुप्रै भुई मानिसहरु आफ्नो गामठाम फर्कन सकेका छैनन् । भुई मानिसहरु पैदलै यात्रामा अग्रसर हुँदा पनि सरकारलाई त्यसको कुनै वास्ता छैन र प्रधानमन्त्री नीरोको शैलीमा आफ्नै धुनमा मस्त रहेको देखिन्छ । आमजनता अनेक समस्याबाट पीडित बन्न थालेका छन् । अब दैनन्दिनको समस्या निम्न वर्गका लागिमात्र दुरुह रहेन मध्यम वर्ग पनि समस्याग्रस्त बन्न थालेका छन् । कोरोनाको उपचारका नाममा अन्य रोगका विरामीहरु स्वास्थ्य उपचारको अधिकारबाट वञ्चित हुन पुगेका छन् । सरकारप्रमुख भने यस्ता तमाम समस्याको समाधान गर्नमा रुची राख्दैनन् र सम्पूर्ण देशको ध्यान कोरोनातर्फ आकृष्ट भएको वेला आफू कसरी थप शक्तिशाली बन्ने ध्याउन्नमा छन् । सरकारले सोमबार विद्यमान कानुनमा संशोधन गर्दै दुर्ई अध्यादेश ल्याएको छ । प्रश्न उठ्छ, के अध्यादश ल्याउने सर्वाधिक उपयुक्त समय यही नै हो त ?

राष्ट्रपतिबाट सोमबार नै दुवै अध्यादेश जारी भएको छ । राजनीतिक विश्लेषकहरुले यसलाई वेमौसमको वाजाको संज्ञा दिएका छन् । अध्यादेशमार्फत् दुईवटा विद्यमान कानुनी प्रावधानमा संशोधन गरिएको छ । राष्ट्रपतिले जारी गरेको अध्यादेशमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ रहको छ ।

दोस्रो अध्यादेशअनुसार अब संवैधानिक परिषदको वैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको अनिवार्य उपस्थित आवश्यक हुने छैन । संवैधानिक परिषदबाट विपक्षी दललाई हटाउनुको अर्थ हो अब सरकारले निर्वाधरुपमा संवैधानिक अंगहरुमा नियुक्ति गर्न सक्ने छूट पाउनु । अबोपरान्त संवैधानिक आयोग र सर्वोच्च अदालतमा समेत सरकारकै प्रतिनिधित्व अर्थात सरकारले जे गर्यो वा जे भन्यो त्यही गर्न सक्ने खुला छूट प्राप्त हुनु हो । शक्ति सन्तुलनको सिद्धान्तविपरित यो मान्यता समग्रमा लोकतन्त्रविरोधी छ ।

अब थोरै चर्चा पहिलो अध्यादेशका बारेमा । २०७३ को यस कानुनमा विद्यमान दलबाट अलग भई अर्को दल बनाउन ‘केन्द्रिय समिति र संसदीय दलमा ४० प्रतिशत’ मत सहमति जुटाउनुपर्ने उल्लेख छ । अहिलेको संशोधनमा सरकारले ‘केन्द्रिय समिति र संसदीय दलमा ४० प्रतिशत’ वाक्यांशमा ‘र’ लाई संशोधन गरी ‘वा’ थपेको छ । यसको सोझो अर्थ हो, कानुनमा विद्यमान दल निर्माणसम्बन्धी विगतको कडा प्रावधानलाई अहिलेको संशोधनमार्फत् खुकुलो बनाउन खोजिएको छ । पहिला दल निर्माण गर्न केन्द्रीय समिति र संसदीय दल दुवैको अनिवार्यतः ४० प्रतिशत सहमति जुटाउनु आवश्यक थियो भने अब यो अध्यादेशको उपस्थितिमा दुईमध्ये एक प्रक्रियामात्र अपनाए नयाँ दलको निर्माण गर्न सकिनेछ । यो संशोधनले नेपालका अन्य दल हाललाई कति प्रभावित हुन्छन् भन्ने कुरा प्रतीक्षाकै विषय हो तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भने तत्काल प्रभावित हुन सक्ने सम्भावना देखिएको छ ।

नेकपाभित्र हाल शक्तिको तीव्र संघर्ष विद्यमान रहेको पृष्ठभूमिमा विश्लेषकहरुका अनुसार कानुनमा खुकुलोपनाको उद्देश्य ओलीको स्वार्थपूर्तिसँग सम्बन्धित छ । ओलीले संशोधनमार्फत् आफ्नो दलका नेता तथा कार्यकर्तालाई आकर्षित, प्रभावित गर्ने उद्देश्यका साथै आफ्ना दलभित्रका ती सबैलाई घुर्काउने तथा थर्काउने उद्देश्य राखेका छन् जो ओलीसँग असहमत छन् र दलभित्र ओलीको विकल्पको खोजी गरिरहेका छन् । यो संशोधनको स्पष्ट आशय हो, कसैले ओलविरुद्ध मोर्चावन्दी गरे, दलभित्र उनलाई कमजोर बनाउन खोजे र कसैले उनको विकल्प खोजे उनले पनि हदैसम्मको कदम उठाउन सक्नेछन् । यस संशोधनमार्फत् ओलीले भविष्यमा अप्ठ्यारो पर्दा पार्टी ‘फोडने’ स्पष्ट संकेत दिएका छन् । यसको अर्थ हो, ओली तत्काल सत्ता छोडने पक्षमा छैनन् र थप शक्ति आर्जन गर्न चाहन्छन् ।

पछिल्लो अवस्थामा खास गरी प्रधानमन्त्री मिर्गौलाको दोस्रोपटक प्रत्यारोपण गरेर अस्पतालबाट फिर्ता भइसकेपछिका दिनमा अस्वस्थ्य ओलीविरुद्ध पार्टीभित्रको मोर्चावन्दी तीव्र भएको अनुभव गरिएको छ । नेकपाभित्रकै केही नेताका अनुसार अहिले पार्टीका अर्का अध्यक्ष प्रचण्ड र पार्टी नेता माधवकुमार नेपालबीचको सम्बन्ध ‘निकै’ मधुर भएको छ । यो अवस्था साँच्चै सत्य हो भने पार्टीभित्र ओलीको विकल्पको खोजीले गति प्राप्त गर्न सक्छ । एक अपूष्ट जानकारीका अनुसार कोरोनाकालको समाप्ति सँगै ओलीको विकल्प खोज्ने प्रक्रियालाई थप गतिशील बनाउने योजनामा प्रचण्ड– माधव समीकरण सक्रीय हुने अनुमान गरिएको थियो । त्यही जानकारीका आधारमा ओलीले आफ्ना सल्लाहकारहरुको सल्लाहमा कानुन संशोधनको यो कार्ड खेलेको कुरा उनकै पार्टीका नेताहरुले बताएका छन् । यो संशोधनमार्फत् ओलीले प्रचण्ड र माधवलाई एकैपटक थर्काएर आफूले सजिलो उपाय अपनाएर दल विभाजन गरी अर्को पार्टी बनाउन सक्ने संकेत दिएका छन् । र, यो उनको थप शक्तिशाली बनिरहने चाहनाको उत्कट प्रकटीकरण हो भन्दा फरक पर्दैन ।

झट्ट हेर्दा दल विभाजनसम्बन्धी अध्यादेशले तत्काललाई नेकपालाई प्रभावित बनाउने होला । यसले अन्य दलका लाई खासै प्रभावित नबनाउला । तर अहिले सबैले मिलेर कोरोना संकटबाट पार पाउनुर्ने बेलामा अचानक आएको अध्यादेशहरुका कारण सरकारले दलभित्र र बाहिर दुवैतिर विश्वास गुमाउनुपर्ने अवस्थाको सिर्जना भएको छ । एउटा अध्यादेशबाट प्रमुख प्रतिपक्ष चिढिनुपर्ने अवस्थाको निर्माण भएको छ भने अर्को अध्यादेशबाट सत्तारुढ दलकै नेता तथा कार्यकर्ता सरकारबाट रुष्ट हुनुपर्ने अवस्थाको सिर्जना भएको छ । यस्तोमा निश्चय पनि प्रश्न उठ्छ, कोरोनाविरुद्धको युद्धमा सरकार संगठितरुपमा कसरी होमिन्छ ? निष्कर्ष सहजै निकाल्न सकिन्छ, जसले लोकतन्त्रमा विश्वास गर्दैन उसले ‘लोक’को कुरा सुन्दैन र आफ्नो कुरामा मात्र अडिरहन्छ । यो अध्यादेशहरुले एकपटक पुनः प्रमाणित भएको छ, वामपन्थी प्रधानमन्त्री ओली साँच्चै लोकतन्त्रमा विश्वास गर्देनन् ।

नेकपा स्रोतले सरकारले ल्याएको पहिलो अध्यादेश समाजवादी पार्टी र राजपालाई विभाजन गर्नका लागि भएको दाबि प्रधानमन्त्रीले गरेपनि यी दुवै पार्टीको अध्यादेशको विरोध गरिसकेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि यो अध्यादेशको विरोध गरिसकेको छ ।

Related News

नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिकाः प्रदेश प्रमुख भट्ट
नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिकाः प्रदेश प्रमुख भट्ट
  • २०७७ बैशाख ९

पोखरा- गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले नागरिकलाई सुसूचित...

TOP