२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

गृहजिल्लामै गठबन्धन गरेर चुनाव जित्नेमा देउवा ढुक्क, खगराजलाई मुख्यमन्त्रीको आश्वासन

डडेल्धुरा- गृह जिल्ला डडेल्धुरामा पार्टीभित्रको विभाजनका कारण जितका लागि सशंकित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा होमिने तयारी थालेका छन् ।

प्रधानमन्त्री देउवाकै कारण डडेल्धुरामा सत्तारुढ राजनीतिक दलहरुबीच चुनावी गठबन्धन हुने पक्कापक्की भएको नेकपा माओवादी केन्द्रका नेताहरु बताउँछन् । २०४८ सालदेखि हालसम्म छ पटक डडेल्धुराबाट निर्वाचित प्रधानमन्त्री देउवाविरुद्ध यसपटक माओवादीले उम्मेदवारी नदिने सहमति भइसकेको माओवादी केन्द्र डडेल्धुराका नेताहरुले बताए ।

देउवासँग तीन पटक (०६४, ०७० र ०७४) मा लगातार पराजित भएका माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट यसपटक देउवासँगै गठबन्धन गरेर प्रदेश सभा सदस्यका लागि निर्वाचनमा होमिने सहमति भएको माओवादीका एक केन्द्रीय सदस्यले बताए ।

यसअघि ०६४ मा झिनो मतान्तरले प्रधानमन्त्री देउवासँग पराजित भएका भट्ट त्यसपछिका चुनावमा भने फराकिलो मतान्तरले पराजित भएका थिए । शहीद परिवारका सदस्यसमेत रहेका नेता भट्ट यसपटक प्रदेशको मुख्यमन्त्री बन्ने तयारीमा लागेका हुन् ।

शुरुमा प्रतिनिधि सभा सदस्यको तयारी गरेर निर्वाचनमा होमिने बनाउँदै आएका भट्ट संघीय सांसद बने पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर मन्त्री बन्ने अवस्था देखिएकाले प्रदेशमा झरेको भट्ट निकटस्थ माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा हाल माओवादी केन्द्रभित्र मगर र भट्टले नेतृत्व गरिरहेका अलग अलग गुट सक्रिय रहेका छन् । जनयुद्धको शुरुआती चरणदेखि तत्कालीन माओवादीको नेतृत्व गरेका भट्ट माओवादी केन्द्रमा लेखराज भट्टपछि वरियतामा दोस्रो नम्बरमा थिए । हाल लेखराज एमाले केन्द्रीय सचिव रहेकाले भट्टलाई माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाएको हो ।

नेता भट्टले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धन हुँदा पनि देउवासँग छ हजार नौ सय ४८ मतले हारेका थिए । ०७४ को चुनावमा देउवाले २८ हजार चार सय ४६ र भट्टले २१ हजार चार सय ९८ मत ल्याएका थिए ।

माओवादी केन्द्रको समर्थनमा यसपटक देउवा प्रधानमन्त्री बन्ने र मुख्यमन्त्रीमा भट्टलाई सघाउने सहमति भइसकेको माओवादी केन्द्रका नेताहरुको दाबी छ । प्रधानमन्त्री देउवाले भट्टलाई सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने बचन दिइसकेकाले भट्टले डडेल्धुराको प्रदेश ‘क’ बाट प्रदेश सभा सदस्यमा प्रतिष्पर्धा गर्ने माओवादी केन्द्र डडेल्धुराले जनाएको छ ।

हाल लामो समयदेखि राजधानीमा रहेका माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज भट्टले आफू डडेल्धुराको प्रदेश ‘क’ बाट निर्वाचनमा उम्मेदवार बन्ने बताए । उनले त्यसका लागि प्रधानमन्त्रीसँग छलफल भइसकेको जानकारी दिए ।

भट्टसँगै गठबन्धन गरेर डडेल्धुराको प्रदेश ‘क’ बाट निर्वाचित नेकपा एमालेका पठानसिंह बोहरा हाल प्रदेश सभा सदस्य छन् । एमाले डडेल्धुराको इन्चार्ज रहेका बोहरा यसअघि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए ।

यसअघि सम्पन्न प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार बोहराले १३ हजार पाँच सय ६३ र नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्टले ११ हजार तीन सय ९४ मत प्राप्त गरेका थिए ।

जिल्लास्तरमा चुनावी गठबन्धन हुने भएपछि नेपाली कांग्रेसका तर्फबाट प्रदेश ‘क’ बाट चुनावी प्रतिष्पर्धा गर्ने तीव्र तयारीमा रहेका नेपाली कांग्रेस डडेल्धुराका सभापति भिमबहादुर साउँद चुनावी प्रतिष्पर्धाबाट बाहिरिने पक्का भएको छ ।

जिल्लाकै भोट बैंक मानिने भित्री मधेस क्षेत्रको परशुराम नगरपालिकाका निवर्तमान नगरप्रमुख रहेका साउँद गठबन्धनका कारण चुनावी प्रतिष्पर्धाबाट आउट हुने अवस्था आएमा हाल बलियो बन्दै गरेको नेपाली कांग्रेसको संगठनमा क्षति पुग्ने स्थानीय नेता कार्यकर्ताहरुको गुनासो छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा नेपाली कांग्रेसले उम्मेदवारीमा दाबी गरिरहेको छ ।

यसअघिको निर्वाचनमा सो क्षेत्रबाट प्रदेश सभा सदस्यमा झिनो मतले पराजित डा. तारा जोशीलाई नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनाउन सत्ताधारी पाँच दलीय गठबन्धनभित्र तीव्र लबिङ भइरहेको नेकपा एस डडेल्धुराले जनाएको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा नेपाली कांग्रेस पहिलो र माओवादी केन्द्र दोस्रो स्थानमा छ । दुई नगरपालिका र पाँच गाउँपालिका गरी कूल सात स्थानीय तह रहेको डडेल्धुरामा कांग्रेस एक्लैले पाँच र दुई स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।

नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनका क्रममा प्रधानमन्त्री देउवाले विधान विपरीत सदस्यता वितरण गरेर साउँदलाई सभापति बनाउन भूमिका खेलेका थिए । पार्टी सभापति देउवाले विधान विपरीत क्रियाशील सदस्यता वितरणमा मनोमानी गरेको भन्दै नेपाली कांग्रेस डडेल्धुराका तत्कालीन सभापति कर्णबहादुर मल्लले विद्रोह गर्दै नेपाली कांग्रेस (वीपी) मा समाहित भएका छन् ।

मल्लको नेतृत्वमा हजारौं नेता कार्यकर्ताहरु नेपाली कांग्रेस (वीपी) मा समाहित भएकाले जिल्लामा पार्टी कमजोर भएको हुँदा चुनौती महसुस गर्दै प्रधानमन्त्री देउवाले गृह जिलामा सत्तारुढ राजनीतिक दलहरुसँग गठबन्धन गरेर चुनाव जित्ने रणनीति बनाएको निकटस्थहरु बताउछन ।
हाल नेपाली कांग्रेस (वीपी) केन्द्रीय समितिका वरिष्ठ उपसभापति रहेका मल्लले प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्री देउवासँग प्रतिष्पर्धा गर्ने घोषणा गरिसकेका छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा एमालेसँग चुनावी गठबन्धन गरेर प्रतिष्पर्धा गरेको नेपाली कांग्रेस (वीपी) ले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समेत एमालेसँगै गठबन्धन गर्ने तयारी भइरहेको डडेल्धुराबाट राम धामीले हाम्रा कुरामा समाचार लेखेका छन् ।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७९ भाद्र ३

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP