२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

नेकपा नेता पुरीका नाममा भेटियो थप १४ बिगाहा सरकारी जग्गा

खिलानाथ ढकाल– झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ले थप १४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ। 

मंसिर ९ गते पुरी पक्राउ परेपछि थप १४ बिगाहा सरकारी जग्गा उनले आफ्नो नाममा राखेको देखिएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जनाएको छ। 

पुरीले १० बिगाहा आठ कठ्ठा सरकारी जग्गा कीर्तेपछि आफ्नो नाममा ल्याएर बिक्री वितरण गरेको पाइएपछि विभागले सम्पत्ति शुद्धिकरण प्रयोजनार्थ अनुसन्धान थालेको थियो। यही सिलसिलामा विभागमा बयान दिन आउँदा पुरी ९ गते पक्राउ परेका थिए। 

‘उनी पक्राउ परेको भोलिपल्टै मालपोत कार्यालयबाट थप १४ बिगाहा सरकारी जग्गा पुरीको नाममा गैरकानुनी रूपमा गएको विवरण प्राप्त भएको छ,’ विभागका एक अधिकारीले भने। 

पुरी दमक नगरपालिका-६ का हुन्। उनी नेकपा एक नम्बर प्रदेश कमिटीका सदस्य हुन्। उनी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेदवार थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पुरी चुनावमा पराजित भएका थिए। 

पहिले र अहिले अनुसन्धानमा आएको समेत गरेर पुरीले २४ बिगाहा ८ कठ्ठा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको पाइएको ती अधिकारीले बताए।

‘अझै केही जग्गा बाँकी छ भन्ने कुरा छ, हामी अनुसन्धान गरिरहेका छौं,’ ती अधिकारीले भने। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा ३३ बिगाहा सरकारी जग्गा पुरीको नाममा पुगेको देखिएको थियो। अझै केही जग्गा पुरीको नाममा देखिन सक्ने आँकलन रहेकाले अनुसन्धान जारी रहेको ती अधिकारीले बताए।

दमक नगरपालिका-८ (साबिक १३ र १४) मा ‘बालुवाटार’ फाँट छ। चार दसकअघि रतुवा खोलाले पुरिरहने भएकाले ‘बालुवाटार’ नामाकरण गरिएको त्यही फाँटमा सुकुम्बासीका निम्ति कित्ताकाट भएको सरकारी जग्गा पुरीले आफ्नो नाममा ल्याएको भेटिएको हो। 

पुरीले सरकारी जग्गा बिक्रीबाट आएको सम्पत्ति निजी घर निर्माण, जग्गा खरिद र क्रसर उद्योगमा लगानी गरेको देखिएको विभागले जनाएको छ।

पुरा समाचार पढ्नुहोस्

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ मंसिर १५

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP