२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday
कोरोना अनुभव

सोचेझैं कोरोना रैन’छ

रोयल आचार्य- ‘ए कोरोना त केही होइन, त्यही रुघाखोकी जस्तै त हो नि ! लागिहाल्यो भने बेसारपानी खाने, ठीक भइहाल्छ, कोरोनाबारे अनावश्यक हल्ला फैलाइँदैछ, यो सबै नेताहरुको खेल हो । कमिशन खाने बाटो बनाएका हुन् नेताहरुले !’

पछिल्लो समय चिया पसलदेखि सडक र गल्ली–गल्लीमा यस्ता भनाइहरु सुनिन्छन् । म आफैँले रिपोर्टिङका क्रमका सुनेका शब्दहरु हुन् यी ।

कुरो करिब एक महिनाअघिको हो । न्यूरोडमा दसैंको भीडभाड शुरु हुँदै थियो । न्यूरोडदेखि इन्द्रचोकसम्मै सडक किनारा रंगीबिरंगी कपडाहरुले ढपक्कै ढाकेका थिए । अझ विशाल बजारबाट इन्द्रचोक हुँदै भेडासिङतर्फ जाने बाटोमा त बटुवाहरुलाई सहजै हिँड्न पनि गाह्रो थियो । बटुवा हिँड्ने फुटपाथमा फिँजारिएका पसलले बाटो छेकेका थिए । पसलमा सामान हेर्न उभिएका ग्राहकहरुले फुटपाथ पूरै बन्दै गरिदिन्थे । कोरोना संक्रमण फैलन नदिन सरकारले कम्तिमा २ मिटर दूरी कायम गरौं भनेर प्रचार गरिरहेकै छ । तर, सडकमा कसैलाई मतलव थिएन ।

‘के कोरोना केही होइन त ?’ हातमा बोकेको बुम एक महिलातर्फ तेस्र्याएँ । सहकर्मी फोटो पत्रकार आर्यन धिमालजीले क्यामेरा सोझ्याउनुभयो । ती महिलाले कोरोनाको परिभाषा दिइन् ‘यो सबै वाहियात हो, कोरोना सोरोना केही पनि होइन ।’

ती महिला हामीसँग जंगिइन् । उनले आफूलाई लागेका अनेकन शब्दहरु प्रहार गरिन् । उनले हाम्रा लागि खर्चिएका धेरै शब्दहरु सरकारविरोधी थिए । उनले कोरोनालाई सरकारको गरीखाने नाटकसम्म भन्न भ्याइन् ।

जनताका गुनासा सुन्ने क्रम जारी नै थियो । त्यसदिन भेटिएका अधिकांशले कोरोनालाई हलुका रुपमै लिए । यसैक्रममा साझा बसमा यात्रा गरिरहेकी एकजना महिलाले त कसैको हिम्मत भए आफूलाई कोरोना सारिदिन च्यालेञ्ज नै गरिन् ।

११ चैतदेखि देशमा लकडाउन भयो । ११ चैत अघिदेखि नै शुरु भएको थियो कोरोनाबारे रिपोर्टिङ गर्ने काम  । चीनको वुहानबाट विद्यार्थीहरु ल्याएर राख्नका लागि बनाइएको खरिपाटी क्वारेन्टाइनमा निकै डराउँदै डराउँदै धेरैपटक भक्तपुरे धुलो खाँदै रिपोर्टिङ गरियो । ११ चैत पछि पनि फिल्डमा कोरोनासँग सम्बन्धित रिपोर्टिङहरु प्रशस्तै भए ।

भर्खरै तयार गरिएको पाटनको कोभिड अस्पताल होस् या लकडाउनमा थलिएको किसानको गोठ । रिपोर्टिङका दौरान खरिपाटी, अस्पतालहरु, किसानका गोठ र खेतबारीदेखि ६ दिनसम्म पैदल हिँडेर काठमाडौं छाड्ने आम नागरिकसम्मका रिपोर्टिङ गर्दै जाँदा धेरै फरकहरु देखिए । जति खरिपाटीमा विद्यार्थी राख्दा त्रास थियो, अहिले त्यसको १० प्रतिशत त्रास पनि छैन । त्यतिबेला मान्छे त डराउँथे नै, निकै सतर्क पनि थिए ।

तर, अवस्था अहिले फरक छ । धेरै मान्छेलाई कोरोना सामान्य लागेको छ । कोरोनालाई हलुका रुपमा लिन थालिइसकिएको छ, जति हलुका होइन भन्ने मेरो आफ्नै अनुभवले देखाएको छ ।

जब आफैंलाई कोरोना लाग्यो

कोरोनाबारे सचेतनामूलक रिपोर्टिङका क्रममा धेरै ठाउँमा दौडिएँ । तर, त्यसबेला आफू भने निकै सावधानीका साथ खटें । तर, अरुलाई सावधान हुनुपर्छ भन्दाभन्दै कोरोनाले आफंैलाई समात्यो ।

नेपाल पत्रकार महासंघले गरेको पीसीआर परीक्षणदेखि गत २८ गते काठमाडौं महानगरपालिका वडा नम्बर १० को कन्ट्रयाक्ट ट्रेसिङमा परेर गरिएको परीक्षणसम्म आइपुग्दा चौथो पटक परीक्षणका लागि स्वाब दिएको थियो । नजिकका साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि गरिएका यी परीक्षणहरु थिए ।

तीन पटकसम्म पीसीआर जाँच गर्दा लगातार नेगेटिभ रिपोर्ट आयो । तर, चौथोपटक २८ असोजमा  परीक्षण गर्दा भने पोजिटिभ आयो । अब कस्तो होला ? अब के गर्ने होला ? यी कुराहरु सोच्नुभन्दा पहिला नै म थलिएँ ।

कोरोना केही होइन भनेर जनताको आवाज भिडियोसहित जनतासम्मै पु¥याएको अनुभव बोकेको मान्छेलाई जतिबेला निकै गाह्रो भयो, तब सोचेँ ‘सोचेझंै कोरोना रैन’छ ।’

पुरा समाचार पढ्नुहोस्

Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०७७ कार्तिक १२

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP